जनै पूर्णिमा : यज्ञकर्मप्रतिको प्रतिबद्धता – Janadesh Daily | ePaper

जनै पूर्णिमा : यज्ञकर्मप्रतिको प्रतिबद्धता


जनादेश दैनिक : 

जनै पूर्णिमा पर्वलाई ऋषितर्पणी पनि भनिन्छ । तर्पण भनेको यज्ञमा आहुती दिनु हो । ऋषि भनेको विचार र व्यवहारमा एकाग्र तथा बलिवेदीमा लिन रहेको सचेत महाज्ञानी हो ।

यस्तो पर्व हरेक वर्ष श्रावण महिनामा पर्दछ । यसलाई शिव पूर्णिमा पनि भनिन्छ । यो यज्ञ, आहुती, होम र संहारसँग पनि जोडिएको छ । लक्ष्य, उद्देश्य, मोक्ष र मुक्ति प्राप्तिका लागि यो पवित्र छ । जनै आफैमा महादेवको प्रचण्ड रुद्र संकेत पनि हो ।

जनै आफैमा यज्ञ वा होमको प्रतिक हो, त्यसैले यसलाई यज्ञोपवित पनि भनिन्छ । सुरुका अवस्थामा जनै सधैंभरि शरीरमा लगाइँदैनथ्यो । यो यज्ञ गर्दाका बखत मात्र लगाइन्थ्यो ।

यज्ञसकिएपछि त्यसलाई झिकेर विसर्जन गरिन्थ्यो । यज्ञपछि पनि जनै धारण गरिरहनु चारवेदका अनुसार अपवित्र मानिन्छ ।
पछि पुराणकालमा आएर संस्कृतिमा केही विकृति थपिदै गए । यसले जनैको महत्व घटायो ।

जनै लगाउनु भनेको महाकर्म गर्न तयार रहनु, मोक्ष र मुक्तिसँग जोडिनु, महायुद्धमा बलिदानका लागि तयार रहनु थियो । आजकल त रक्सी खाँदा पनि, अर्काकी चेली हातपात गर्दा पनि, दुर्वाच्य बोल्दा पनि, चोरी गर्दा पनि, ठगी गर्दा पनि, कमिसन खाँदा पनि, झुट बोल्दा पनि र अझ ‘माँ कसम’ खाँदाका बखत पनि हरेकको घाँटीमा जनै झुण्डिइरहेको हुन्छ । धर्मकर्मका हिसाबले यो सर्वथा महापाप हो ।

वर्णाश्रम धधर्म अनुसार जातीय प्रणालीमा हालेर तागाधारी र मतवाली बनाउन थालेपछि समाज विभाजित हुन गयो । अहिले क्रिश्चियानिटीको प्रभाव यसै विभेदका आधारमा टेको मौलाइरहेको छ ।

ऋषिमुनीहरु पनि यज्ञका बखत मात्र जनै धारण गर्दथे । जहाँसम्म छोराहरुको शरीरमा वीर्य बन्न थालेपछि र उनीहरुमा युवावयको प्रवेश हुन थालेपछि सो संकेत मिलेमा शुभउपनयन वा ब्रतबन्ध गर्ने चलन छ । यो ऋषिमुनिहरुले चलाएको चलन हो ।

शुभउपनयन वा बतबन्ध आफैमा केवल जनैधारणका नाममा धागो झुण्ड्याउने मात्र होइन, बरु छोरा तिमी यब यज्ञ अर्थात् कर्मका लागि तयार भयौ, अब कर्म सिक, मोक्ष र मुक्तिका लागि महायुद्धहरुको शास्त्र, अस्त्र, मन्त्र र तिनको व्यवहारिक अभ्यास गर, पराक्रमी बन भन्ने कर्मको संकेत हो जने धारण ।

जनै काँधमा झुण्ड्याइरहने र दिसागर्दा कानमाथि राख्ने मात्र होइन, बरु उपनयनको संस्कार कर्म सिद्धिसकेपछि झिकेर त्यसलाई उचित र पवित्र स्थानमा विसर्जन गर्ने हो ।

जनै धारण र परित्याग का आफ्नै विधान र संहिता रहेका छन् । यो पर्वको उपाकर्ममा दियो, कलश, गणेश पूजा गर्ने गरिन्छ । रुद्राभिषेक र रुद्रीपाठ गर्ने, थालीमा अरून्धतीसहित कुशनिर्मित सप्त ऋषि (कश्यप, भरद्वाज, गौतम, अत्रि, जमदाग्नि, वशिष्ट र विश्वामित्र) को पूजा गर्ने गरिन्छ । जति ढाँटे पनि र यो जात ऊ जात, ठूलो वा सानो भने पनि आखिर गोत्र खुट्याउने हो भने यिनै सप्तर्षिका गोत्रमा भेटिन्छन्, सबै नेपाली जातिहरु ।

यिनी सप्तर्षिहरु आफैमा जात र कुजात त थिएनन् । समाजमा आज व्याप्त जातजातिका कुरालाई वैज्ञानिकीकरण गर्नु र समयसापेक्ष बनाउनु जरुरी छ ।

जनै पूर्णिमाको दिन आज रक्षाबन्धन पर्वको अवसरमा पशुपतिनाथ, भक्तपुरको कुम्भेश्वर महादेव, सुनसरीको बराहक्षेत्र, रसुवाको गोसाइँकुण्ड, जनकपुरको गंगासागर, धनुषसागर, खोटाङको हलेसी, जुम्लाको दानसाधु, सोलुखुम्बुको दूधकुण्ड, महादेवस्थान, त्रिवेणीधामलगायत प्रमुख धार्मिक स्थलमा मेला भरिभराउने हुने गरेको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्