यस कारण कठिन छ ओली–प्रचण्ड वार्ता – Janadesh Daily | ePaper

यस कारण कठिन छ ओली–प्रचण्ड वार्ता


जनादेश दैनिक :

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आन्तरिक संकट समाधान गर्न पछिल्लो चरण कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले निकै मेहनत गरे पनि त्यसको निकास भने निस्किइहाल्ला भन्नेमा जब्बर आशंका छ । वार्ता थालिनु, निकास खोज्नु, एकता चाहनु र मिलापमार्फत् अघि बढ्न प्रयास गर्नु राम्रो कुरा हो । तथापि अध्यक्ष द्वय ओली र प्रचण्डबीच वारम्बार हुने गरेको भेटवार्ता बालुवामा पानी हाले झैं हुन गएको छ ।

यसका पछाडि केही ठोस कारण र कारकहरु छन् । पहिलो कुरा त नेकपामा चलेको तानातान र हानाहान आन्तरिक वा व्यक्तिगत स्वार्थका लागि मात्र होइन । यसमा अन्तर्राष्ट्रिय स्वार्थले ‘ब्याकिङ’ गरिरहेको देखिन्छ । त्यसैले पनि आन्तरिक चाहनामा हुन गएका वार्ताहरु केवल दुई अध्यक्षबीचमा वार्ताको निरन्तरता मात्रै हुन आउँछ ।

दुई अध्यक्ष बीचमा हुने वार्तामा अरु नेताहरु सहभागी भए पनि त्यो फलदायी हुने देखिदैन । कुनै पनि तहको वार्ता वा बसाइँले पनि आन्तरिक विवाद हल होला भन्ने आशा निकै टाढा देखिन्छ । यसको मुख्य कारक हो– एमसीसी ।

नेपालको राजनीति क्रमशः एमसीसी पक्षधर र एमसीसी विरोधीमा कित्ताबन्दी हुँदै गएको छ । यसले सत्तारुढ नेकपामा पहिलो र चोटिलो प्रहार गरेको छ । नेताहरुले एमसीसीको विषय पहिले टुंग्याउनु पर्छ ।

हालको नेकपा भित्रको वार्ता शान्तिपूर्ण र सहज देखिए पनि यसको जरो प्रम ओलीले दल फुटाउने र संवैधानिक आयोगमा सत्तारुढ दलको एकलौटी गर्ने अध्यादेश (फिर्ता गरिए पनि) ल्याएको कुरासँग अभिन्न जोडिएको छ । घाउ जहाँ छ, मल्हमपट्टी त्यही गर्नु जरुरी हुन्छ ।

अर्को कुरा प्रम ओलीको दल फुटाउने अध्यादेश फिर्तालिएर पछि हटेपछि एमसीसीले नेपाली कांग्रेसका नेता तथा सभापति शेरबहादुर देउवालाई केन्द्र बनाएर एमसीसी पक्षधरको ध्रुवीकरणको प्रक्रियालाई अघि बढाएको छ ।

यसले एमसीसी ध्रुवीकरणमा प्रम ओली असफल भएको सन्देश दिएको छ । यो चोट एमसीसी जसरी पनि पास गरौं भन्ने प्रम ओलीका लागि सबैभन्दा ठूलो चोट हो । यसले पनि पार्टी आन्तरिक वार्तालाई निसोन्मुख बनाउन दिइरहेको छैन ।

यसै पृष्ठभूमिमा अमेरिकी राष्ट्रिय सुरक्षा परिषदका दक्षिण र मध्य एशियाका वरिष्ठ निर्देशक लिसा कर्टिसले चीनले नेपाल र श्रीलंकाको आन्तरिक मामिलामा हस्तक्षेप बढाएको दाबी सार्वजनिक गरेकी छिन् । यसले प्रम ओलीमाथि ठूलो दबाब सिर्जना गरेको छ ।

प्रम ओलीलाई म चीन विरोधी हुँ भन्न पनि भएको छैन र अमेरिकी पक्षधर हुँ भनी स्वीकार्ने पनि वातावरण बनेको छैन । किनकि उनीबाट यी दुवै कामहरु व्यक्त रुपमा गरिएका छैनन् । व्यवहारमा हेर्दा न त एसीसी रोकिएको छ, न त एमसीसी पारित नै भएको छ । दुवै महाशक्तिको आशंकाको नजरमा पर्नु प्रम ओलीको लागि ‘एम्बुस’ जस्तै छ ।

यौ बीचमा प्रम ओलीले आफूलाई भारतले हटाउन खोजेको अभिव्यक्ति सार्वजनिक गरे पनि चीन वा अमेरिका विरुद्ध उनी यसरी बोल्नसक्ने अवस्था छैन । यो बेलामा लगभग दुई भिन्न कित्तामा बाँडिदै गएका नेकपाका नेताहरुबीच वामदेव गौतमको दुई चिरा चप्काउने ‘सुपर ग्लु’ले काम गर्ला नै भन्ने पनि देखिदैन ।

यदि यसो नै भयो भने पनि हार्डवेयर त चप्किएको देखिएला नै तर भित्री सफ्टवेयर अमेरिका, चीन र भारतको भिन्दाभिन्दै रहनेमा आशंका रहँदैन । किनकि लिसा कार्टिसले नेपाललगायतका चीनका छिमेकी मुलुकलाई उल्टै चीनबाट सचेत रहन आग्रह गरेकी छन् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्