तराईमा आज होली हर्षोल्लासका साथ मनाइँदै – Janadesh Daily | ePaper

तराईमा आज होली हर्षोल्लासका साथ मनाइँदै


रङको पर्व होली आज यहाँ हर्षोल्लासका साथ मनाइँदै छ । एकले अर्कालाई रङ र अबिर दलेर मनाउने यो पर्व विभिन्न उमेर समूहका मानिसले समूह बनाएर मनाउने प्रचलन छ । बालबालिकाले पिचकारी खेलेर पर्वको रौनक अझ बढाएको पाइएको छ ।

होलीले सामाजिक सद्भाव पनि बढाउने भएकाले यसमा अन्य धर्मावलम्बी सामेल हुने गरेको पाइएको छ । केही मुसलमान समुदायका युवाले होली मनाउने समूहसँग मिलेर पर्व मनाउने गरेको युवा नेता वसिम आलमले बताउनुभयो । बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषताले भरिपूर्ण सुन्दर देश नेपालमा मनाइने विभिन्न चाडपर्वले सुदृढ सामाजिक एकता कायम गर्ने विश्वास गरिन्छ ।

कला र संस्कृतिले भरिपूर्ण नेपालमा देशैभर उत्साहका साथ मनाइने फागु पूर्णिमा (होली) तराईका जिल्लामा आज धुमधामसँग मनाइँदै छ । रङहरूको पर्वका रूपमा मनाइने होली पर्वका बेला घरपरिवार, आफन्त, इष्टमित्र तथा साथीभाइ एकापसमा रङमा रङ्गिएर उल्लासपूर्वक वातावरणमा नाचगान रमाइलो गर्ने चलन छ ।

फागुपूर्णिमाको अवसरमा हिमालदेखि तराई र गाउँदेखि सहरसम्मका केटाकेटी, युवायुवती तथा प्रौढ हातमा रङ र रङ्गीन घोल पदार्थ लिएर विभिन्न भाकामा गीत गाउँदै, बाजा बजाउँदै रमाइलो गर्ने प्रचलन छ । यस पर्वका लागि बजारमा फलफूल, मासु, रङ र अबिरको बिक्री बढेको पाइएको छ । खसीको मासुको मूल्य किलो रु २०० बढेर प्रतिकिलो रु एक हजार २०० पुगको छ । ब्रोइलर कुखुराको मासु रु ३८० बाट प्रतिकिलो रु ४५० पुगेको स्थानीय मासु पसले मोहम्मद करियाले जानकारी दिनुभयो ।

होली पर्वमा कुनै पनि अप्रिय घटना हुन नदिन प्रहरी परिचालन गरिएको मोरङका प्रहरी उपरीक्षक जनार्दन जिसीले जानकारी दिनुभयो । होली पर्वका कारण बजारमा चहलपहल बढेको पाइएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्