तेस्रो अन्तर्राष्ट्रिय युवा उद्यमशीलता सम्मेलन काठमाडौँमा सुरु – Janadesh Daily | ePaper

तेस्रो अन्तर्राष्ट्रिय युवा उद्यमशीलता सम्मेलन काठमाडौँमा सुरु


युवा उद्यमशीलता प्रवद्र्धन गर्ने, नेपाल र भारतका ‘स्टार्टअप’को अनुभव आदानप्रदान गर्ने उद्देश्यले आयोजित तेस्रो अन्तर्राष्ट्रिय उद्यमशीलता सम्मेलन राजधानीमा शुरु भएको छ । सम्मेलनको आज सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले संयुक्तरुपमा उद्घाटन गर्नुभयो ।

सो अवसरमा सञ्चार मन्त्री कार्कीले उद्यमशीलताको विकास, स्टार्टअप व्यवसायलाई नेपाल सरकारले प्रोत्साहित गर्ने नीति लिएको बताउनुभयो । सरकारले मुलुकको आर्थिक गतिविधिलाई चलायमान बनाउन, वैदेशिक लगानी भित्रयाउन लगानीमैत्री नीति लिएको र सेवा प्रवाहलाई सरलीकृत गर्दै प्रक्रियागत झन्झटलाई हटाइएको उहाँले बताउनुभयो । सरकारले स्थापना गरेको एकल विन्दु सेवाबाट उद्योगी व्यवसायीलाई व्यवसायिक गतिविधि बढाउन सहयोग मिलेको उहाँको भनाइ थियो ।

मुलुकको आर्थिक विकासको मेरुदण्ड उद्यमी र उद्यमशीलता भएको उल्लेख गर्दै उहाँले व्यवसाय प्रवद्र्धन, उद्यमीको क्षमता अभिवृद्धि र वित्तीय सहजीकरण गर्न सरकारले सोसम्बन्धी नीति परिमार्जन गरेको बताउनुभयो । कार्यक्रममा नेपालका लागि भारतीय राजदूत क्वात्राले सम्मेलनले युवा उद्यमीलाई व्यावसायिक आधार प्रस्तुत गरेको बताउनुभयो । अन्वेषण र उद्यमशीलता भारत सरकारको प्राथमिकतामा रहेको जानकारी दिँदै उहाँले भारत र नेपालका युवा उद्यमीको क्षमता अभिवृद्धि गर्न सम्मेलनले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।

भारतीय दूतावासका प्रथम सचिव अभिषेक उपाध्यायले भारत र नेपालका युवा उद्यमीलाई एकठाउँमा ल्याएर अनुभव आदानप्रदान गर्न सम्मेलनको आयोजना गरिएको बताउनुभयो । सम्मेलनको उद्घाटन सत्रमा सफ्टवयर कम्पनी ‘एफ वान सफ्ट’का निर्देशक सुवास शर्माले जनतालाई सरलरुपमा वित्तीय सेवा पु¥याउन आफ्नो कम्पनी सफल भएको बताउनुभयो ।

क्लक वि विजनेस इनोभेसन्स् र काठमाडौँस्थित भारतीय दूतावासको सहकार्यमा ‘कनेक्ट इन’को तेस्रो संस्करणका रुपमा सम्मेलनको आयोजना गरिएको हो । ‘कनेक्ट इन’को पहिलो संस्करण सन् २०१८ र दोस्रो संस्करण सन् २०१९ मा भएको थियो ।

सम्मेलनमा ३०० भन्दा बढी नेपाली तथा भारतीय स्टार्टअप, उद्यमी, लगानीकर्ता, विज्ञ, उच्चपदस्थ नेपाली तथा भारतीय अधिकारीको सहभागिता रहेको छ । सम्मेनलअन्तर्गत आयोजना हुने तीन वटा ‘प्यानल डिस्कसन’ मा १५ बढी नेपाली र भारतीय प्रख्यात वक्ताले आ–आफ्ना अनुभव आदानप्रदान गर्ने आयोजकले जनाएको छ ।

सम्मेलनअन्तर्गत यही चैत १ गते भएको आइडिया अडिशनबाट आफ्ना स्टार्टअप व्यवसायलाई प्रस्तुत गरेका २० स्टार्टअप व्यवसायीमध्ये प्रतिस्पर्धाका आधारमा उत्कृष्ट चार उद्यमी छनोट भएका थिए । तेक्का प्रालि, बोया फ्रेस प्रालि, सारङ्ग प्रालि र वेद प्रालि उत्कृष्ट छनोट भएका थिए । सम्मेलनमा उत्कृष्ट चार उद्यमीले नेपाल र भारतका प्रख्यात उद्यमीका बीच आयोजना हुने अन्तिम प्रतिस्पर्धामा आफ्नो व्यावसायिक विचार प्रस्तुत गर्नेछन् । सम्मेलन नेपाल र भारतका युवा उद्यमीबीच आपसी छलफल, नयाँनयाँ अवधारणा विकास तथा विस्तार र अवसर खोजी गर्ने साझा मञ्च हुने आयोजकको विश्वास छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्