त्रिविमा आफैंले पढेको प्रमाणपत्र लिन पनि सकस, साताभरी धाउनुपर्ने, अनलाइन सुविधा छैन ! – Janadesh Daily | ePaper

त्रिविमा आफैंले पढेको प्रमाणपत्र लिन पनि सकस, साताभरी धाउनुपर्ने, अनलाइन सुविधा छैन !


जनादेश वाच।

‘त्रिविले साह्रै दु:ख दियो, रजिष्ट्रेशन नम्बर हाल्नलाई नै एक साता धाउनुपर्‍यो,’ बुधबार बिहान साढे १० बजे त्रिभुवन विश्वविद्यालय,परीक्षा नियन्त्रणको कार्यालय बल्खुमा पैसा बुझाउन लाइनमा बसिरहेका सुमन घिमिरे यस्तै गुनासो गर्दै थिए।

गुल्मीका घिमिरेले मानविकी शंकायबाट साउनमा तीन वर्षे स्नातक तह पार गरे। तर उनको प्रत्येक मार्कसिटमा त्रिविले रजिष्ट्रेसन नम्बर नै हालिदिएन। ‘मेरो तीन वटै वर्षको मार्कसिटमा रजिष्ट्रेशन नम्बर नै हालिएन,’ उनले भने,‘नम्बर त त्रिविले हाल्नुपर्ने हो, हाम्रो गल्ती हैन, त्रिविको गल्तीले गर्दा दु:ख पाइयाे।’

उनलाई स्नातकोत्तर भर्नाका लागि तत्कालै ट्रान्सक्रिप्ट चाहिएको छ। तर अहिले सम्म रजिष्ट्रेशन नम्बर नै मिलाउन सकेका छैनन्। ‘म लगातार सात दिन यहाँ धाएको छु, कहिले प्राविधिक त्रुटि भन्छ, यसरी नै अहिले सम्म झुलाइरहेको छ,’उनले भने। ​

उनले एक वर्षको मात्रै मार्कसिटमा रजिष्ट्रेसन नम्बर सच्याउन एक सय रुपैयाँ शुल्क त्रिविले लिने गरेको बताए। ‘मेरो तीन वर्षको त तीन सय तिर्नुपर्छ,’ घिमिरेले भने,‘यस्ता अरुको थुप्रै समस्या छ, बिगार्दा पैसा पाउँछन् कर्मचारी, त्यसैले जानी जानी गल्ती गर्छन।’

जहाँ पनि लाइन नै लाइन
हरेक सेवाग्राही पहिला बुझ्नकाे लागि सोधपुछ कक्षमा जान्छन्। त्यहाँ फर्म पनि पाइन्छ। तर, त्यहाँ धेरै भीडभाड हुन्छ। अहिले पनि कोभिड-१९ संक्रमणको जोखिम कायमै छ। तर भीडभाड व्यवस्थानमा त्रिविको कुनै चासो छैन। ठेलाठेल गरेर नै सेवा लिइरहेका छन् सेवाग्राही। सबैभन्दा बढी भौचर भर्नाका लागि बैंकको लाइनमा बस्नुपर्ने बाध्यता छ।

लाइनमा भेटिएका पाल्पाका शंकर कोइराला भन्छन्, ‘त्रिविको सेवा लिनै नसकिने, सानो कामको लागि पनि एक दिन यही खर्चिनुपर्छ, जहाँ पनि लाइनमा बस्नुपर्ने।’

उनले अनलाइन माध्यामबाट भुक्तानी दिने व्यवस्था भए धेरै सहजता हुने बताए। ‘त्रिविले अनलाइन माध्यमबाट भौचरका लागि पैसा बुझाउन लगाएर यहाँ भौचर मात्र प्रिन्ट गर्ने व्यवस्था गरेमा यसरी घण्टौं लाइनमै बस्नुपर्दैन थियो,’ उनले भने।

खाजा खाने समयमा पुरै कार्यालय शुन्य
त्रिविले कर्मचारी खाजा खाने समय दुई बजेदेखि तीन बजेसम्म एक घण्टा ताेकेको छ। उक्त समय कार्यालय सुनसान हुन्छ। त्यो समयमा सेवाग्राही एक घण्टा कुर्नुपर्ने बाध्यता छ।

‘गत बिहीबार खाजा खाने समयमा म आइपुगे छु, एक घण्टा सम्म कर्मचारी नै थिएनन्, कुरेरै बसे। कर्मचारी पालैपालो खाना खान गएमा सेवा राेकिने थिएन,’ सेवाग्राही शंकर तिवारीले भने। सबै निकायमा सेवा चुस्त र छरितो नै नहुने गरेको भनाइ छ।

 

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्