विद्रोहको विरासत बोकेको जनयुद्धको उद्गम थवाङः यस पटक मतदानको मुडमा कि वहिस्कार ! – Janadesh Daily | ePaper

विद्रोहको विरासत बोकेको जनयुद्धको उद्गम थवाङः यस पटक मतदानको मुडमा कि वहिस्कार !


जनादेश वाच।

रोल्पाको थवाङलाई ‘कम्युनिस्ट किल्ला’ र जनयुद्धको उद्गम मानिन्छ । विद्रोहको विरासत बोकेको थवाङमा चुनावको इतिहास भने रोचक छ।

२०१२ सालमै अखिल नेपाल किसान संगठनको नाममा कम्युनिस्ट पार्टीमा आवद्ध थवाङवासीले २०१५ को पहिलो संसदीय निर्वाचनमा मतदान गरेका थिए । त्यो बेला सबै भोट कम्युनिस्ट पार्टीका उम्मेदवार खगुलाल गुरुङले पाएका थिए । २०१८ को गाउँ पंचायत निर्वाचनमा सबै भोट कम्युनिस्ट पार्टीका धर्मबहादुर रोकामगरलाई दिएर प्रधानपञ्चमा जिताएका थिए ।

२०१९ सालको राष्ट्रिय पंचायत निर्वाचन कम्युनिस्ट पार्टीले बहिष्कार गरेपछि कुनै थवाङवासीले पनि मतदान गरेनन् । २०२४ को गाउँ पंचायत निर्वाचनमा बरमन बुढालाई प्रधानपञ्चको उम्मेदवार बनाएर सबै भोट दिए । त्यसपछि लगातार दुई पटक उनी निर्विरोध प्रधानपञ्च बने । २०३७ सालको जनमत संग्रहमा थवाङको सबै मत बहुदलको पक्षमा गएको थियो । २०३८ को राष्ट्रिय पंचायत निर्वाचन बहिष्कार गरेर शून्य मतदान गरेका थवाङवासीले सोही साल सैन्य अपरेशन खेप्नु परेको थियो ।

२०३९ सालको गाउँ पंचायत निर्वाचनमा भने राज्यको दमनबाट जोगिन बरमन बुढाकी बहिनी तुलकुमारी बुढालाई निर्विरोध प्रधानपञ्च बनाए । २०४३ सालको राष्ट्रिय पंचायत निर्वाचनमा सबै मत बमकुमारी बुढालाई दिएर जिताएको थवाङले २०४४ को गाउँ पंचायत निर्वाचनमा कम्युनिस्ट पार्टीकै कमलप्रसाद झाँक्रीलाई उठाएर एकमुष्ट भोट दिए ।

२०४६ सालको राजनीतिक परिवर्तनपछि २०४८ मा भएको संसदीय निर्वाचनमा थवाङको सबै मत तत्कालीन संयुक्त जनमोर्चाका उम्मेदवार र हाल माओवादी केन्द्रका प्रवक्ता तथा प्रभावशाली नेता कृष्णबहादुर महराले पाए । त्यसबेला रोल्पा क्षेत्र नंं १ बाट जनमोर्चाकै बरमन बुढा सांसदमा विजयी भएका थिए ।

२०४९ को स्थानीय निकाय चुनावमा जनमोर्चाकै उम्मेदवार रुजबहादुर रोकामगर नेतृत्वको टिम थवाङमा निर्विरोध भएको थियो । संयुक्त जनमोर्चाले बहिष्कार गरेको २०५१ सालको संसदीय निर्वाचनमा थवाङमा कुल ४ मत खसेको थियो । २०५४ को स्थानीय निर्वाचन पनि थवाङले बहिष्कार गरेपछि गाविस अध्यक्ष र उपाध्यक्ष सदरमुकाम लिवाङमा चयन भएका थिए ।

२०५६ को संसदीय निर्वाचनमा लिवाङबाट हेलिकप्टरमा लगिएका २ जना थवाङवासीले थवाङमा शून्य मतदान हुनबाट जोगाएका थिए । २०६४ सालमा भएको पहिलो संविधानसभा निर्वाचनमा तीन जनाबाहेक सबै थवाङवासीले प्रचण्डलाई मत दिएका थिए । नेकपा (माओवादी) फुटेपछि २०६९ सालमा भएको दोस्रो संविधानसभा निर्वाचनमा पनि थवाङले शून्य मतदान गर्‍यो । त्यसपछि भने थवाङवासी विभाजित भए ।

२०७२ पछिको थवाङ
२०७२ सालमा भएको नेपाल राज्यको पुनर्संरचनामा स्वायत्तताको माग गरिरहेको थवाङलाई ५ वडा रहने गरी गाउँपालिका बनाइयो । रोल्पा जिल्लाको सबभन्दा कम मतदाता रहेको गाउँपालिका हो- थवाङ । २०७४ सालको स्थानीय तह निर्वाचनमा यहाँ ५ हजार ८५३ मतदाता थिए, जसमध्ये ३ हजार ६८२ जनाले मतदान गरे । त्यसमध्ये १ हजार ९९० मत पाएर नेकपा (माओवादी केन्द्र)का वीरबहादुर घर्तीमगर पालिका अध्यक्ष भएका थिए । अध्यक्षका स्वतन्त्र उम्मेदवार अमित घर्तीमगरले १ हजार ५७ र एमालेका हितबहादुर रोकामगरले १२० मत प्राप्त गरेका थिए ।

वडा नं. १ को अध्यक्षमा उठेका स्वतन्त्र उम्मेदवार फर्कबहादुर बुढामगर ३५९ मत पाएर विजयी भएका थिए । उनका प्रतिद्वन्द्वी (माओवादी केन्द्र)का ग्रीस पुनले २५६ र एमालेका तिरबहादुर पुनले १३ मत पाएका थिए । माओवादी केन्द्रका वसन्त रोकामगर ४१० मतका साथ वडा नं २ को अध्यक्षमा विजयी भएका थिए । त्यस्तै, स्वतन्त्र उम्मेदवार लीलाराम रोकामगरले २९५ र एमालेका जानबहादुर रोकाले ३८ मत पाएका थिए । वडा नं. ३ को अध्यक्षमा माओवादी केन्द्रका भीमबहादुर रोका ७०२ मतका साथ विजयी भएका थिए भने नेपाली कांग्रेसका खरिलाल डाँगीले १६३ मत पाएका थिए । एमालेको उम्मेदवारी नै परेको थिएन । त्यस्तै, वडा नं. ४ मा माओवादी केन्द्रकै उदिम घर्तीमगर २८० मत प्राप्त गरी अध्यक्ष बनेका थिए । उनलाई स्वतन्त्र उम्मेदवार हिक्मत घर्तीमगरले १९२ मतका साथ पछ्याएका थिए भने कांग्रेसका उम्मेदवारले ४ र एमालेका उम्मेदवारले शून्य मत पाएका थिए । वडा नं. ५ को अध्यक्षमा पनि २८७ मतका साथ माओवादी केन्द्रकै गोवर्द्धन घर्तीमगर विजयी हुँदा कांग्रेसका रमेश रोकामगरले १६१, स्वतन्त्र डुकमन रोकामगरले १०६ र एमालेकी कमला पुनले २१ मत पाएका थिए ।

यस पटक के होला
निर्वाचनको मिति नजिकिएसँगै थवाङ गाउँपालिकाको नेतृत्व लिन नयाँ अनुहारहरूले आकांक्षा देखाएका छन्। यो पटकको चुनाव थप रोचक र प्रतिस्पर्धात्मक हुने देखिएको छ। दलहरु चुनावका लागि तयार भइरहँदा थवाङको मुख्य ठूलो गाउँका जनता भने निर्वाचनमा सहभागी नहुने सम्भावना धेरै देखिन्छ। किनकी उनीहरु चुनावप्रति सकारात्मक छैनन्।

०७४ सालको चुनावमा करिब १९ सय मतसहित थवाङ गाउँपालिकाको नेतृत्व हात पारेका वियोग यसपालिको चुनावमा दोहोरिने मनस्थितिमा छैनन्। उनको सम्भावना पनि नरहेको स्थानीय माओवादी नेताहरु बताउँछन्। किनकि, अघिल्लो चुनावमा उनले अर्को कार्यकाल नयाँ नेतृत्वलाई हस्तान्तरण गर्ने भनेर सहमतिमै नेतृत्व हात पारेका थिए।

थवाङ गाउँपालिकामा ५ वटा वडा छन्। वडा नम्बर १ र २ (ठूलो गाउँ) थवाङको मुख्य ठाउँ हो। वडा नम्बर १ मा रहेका करिब डेढ सय घरधुरीले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई पछ्याइरहेका छन्। यसकारण पनि यस वडामा उम्मेदवारी दिने जुन पार्टीको जो कोहीलाई जित निकाल्न कठिन नै छ। तर कोही राम्रो स्वतन्त्र उम्मेदवार उठेमा भने आफूहरुले सहयोग गरेर मत दिन सक्ने विप्लव समूहका स्थानीय नेता सन्तोष बुढाले बताए। उनले भने, ‘हामी जनमत संग्रहको पक्षमा थियौं, तर भएन। यस्तो चुनावी संस्कार हाम्रो बहिष्कार हो। हामी माओवादीकै उम्मेदवारलाई पनि भोट दिन्नौं, तर कोही राम्रो स्वतन्त्र उम्मेदवार उठेमा सोच्न सकिन्छ।’

त्यस्तै वडा नम्बर २ मा करिब दुई सय घरधुरी छन्। यहाँका आधा जनता माओवादी निकट छन् भने आधाजति विप्लवको पार्टीका। सकभर यस वडामा पनि वडा नम्बर १ कै रणनीति अपनाइने नेता बुढाले जानकारी दिए।

२०१२ सालयता विभिन्न दशकमा भएका चुनावमा फरक फरक अभ्यास गर्दै आएको थवाङ यसपालि पनि अपवाद बन्ने संकेत देखिएको छ। संघीय संरचनाले भद्रगोल बनेको थवाङले यसपालिको निर्वाचनमा पनि फरक कदम चाल्ने संकेत देखाएको हो।

 

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्