प्रचण्डको अपीलः परिवर्तन बचाउन माओवादी धारा एकतावद्ध होऔं – Janadesh Daily | ePaper

प्रचण्डको अपीलः परिवर्तन बचाउन माओवादी धारा एकतावद्ध होऔं


जनादेश वाच।
कमरेड लेनिन विश्व सर्वहारा वर्गका महान् नेता,दार्शनिक र साम्राज्यवादी युगमा माक्र्सवादलाई विकसित गर्ने एक जना प्रवद्र्धक हुनुहुन्थ्यो । उहाँले समाजवादी क्रान्ति सम्भव छ र नयाँ समाज निर्माण सम्भव छ भन्ने कुरालाई व्यवहारिक रुप दिनुभएको थियो । विश्वमै कम्युनिष्ट आन्दोलन र सर्वहारा क्रान्तिको नयाँ लहर सृष्टि गर्न उहाँको योगदान अतुलनीय र असाधारण रहेको कुरा हामी सबैलाई थाहा छ ।

कमरेड लेनिनकै जन्मदिन पारेर नेपालमा २००६ सालमा नेपाल कम्युनिष्ट पार्टीको गठन भएको हो । यसको परिवेश जसरी विश्व सर्वहारा क्रान्ति अगाडि बढ्दै थियो, दोस्रो विश्वयुद्धपछि राष्ट्रिय मुक्ति आन्दोलनहरु पनि अगाडि आउँदैथिए । त्यस्तो परिवेशमा र अझ चीनको जनवादी क्रान्ति सम्पन्न भएर विश्व शक्ति सन्तुलन नै सर्वहारा वर्गको पक्षमा जनता र क्रान्तिको पक्षमा देखा पर्न थालेको परिवेशमा र हाम्रै यस क्षेत्रमा पनि कम्युनिष्ट आन्दोलन खास गरी हिन्दुस्तानमा तेलंगना सशस्त्र विद्रोहजस्ता ऐतिहासिक विद्रोहहरु अगाडि बढ्दै गरेको निकै सकारात्मक र उत्साहवद्र्धक परिवेशमा नेपाल कम्युनिष्ट पार्टीको गठन भएको हो ।यसर्थमा एउटा असाधारण क्रान्तिकारी परिवेशमा २००६ मा कम्युनिष्ट पार्टी गठन भयो ।

पार्टी निर्माण र पुनर्निर्माणको प्रक्रिया
विकासको आफ्नो द्वन्द्वात्मक नियमअनुसारपार्टीभित्र थुप्रै वैचारिक संघर्षहरु भए, मतभेदहरु भए, अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनमा चलेको महान विवादको असर नेपालको कम्युनिष्ट आन्दोलनमा प¥यो । र, २०१९ सालमा तेस्रो महाधिवेशन सम्पन्न भएपछिपार्टी विभाजित हुन पुग्यो । विभिन्न टुक्रामा तल तल इलाकीय स्तरमा क्रियाशील हुने स्थितिबन्यो । फेरि पछि विकासकै नियम अनुसार नै अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलन र वर्गसंघर्षको राष्ट्रिय र अन्तर्राष्ट्रिय परिवेशसँगै पार्टी पुनर्गठनका विभिन्न प्रयासहरु भए ।

ती प्रयासहरुमध्ये पनि तीन वटा प्रयासहरु अलि दीर्घकालीन र रणनीतिक महत्वका भए । एउटा कमरेड पुष्पलालले शुरु गरेको पार्टी पुनर्निर्माणको प्रयास, एउटा केन्द्रीय न्यूक्लियसमार्फत् चौथोमहाधिवेशन हुँदै त्यो न्यूक्लियसको तर्फबाट अगाडि बढाइएको पार्टीको पुनर्निर्माणको प्रयास र अर्काे कोअर्डिनेसन केन्द्र र झापा विद्रोह हुँदै पार्टी पुनर्गठनको प्रक्रिया अगाडि आए । र त्यो प्रक्रियासँगै कम्युनिष्ट आन्दोलन फेरि उभारतिर अगाडि बढ्दै गयो । चाहे त्यो २०३६ सालको जनआन्दोलनको क्रम होस् या ०४६ सालको पञ्चायतमाथि निर्णायक आन्दोलन गर्ने ऐतिहासिक जनआन्दोलनको क्रम होस् कम्युनिष्टहरुको प्रभाव र भूमिका निकै नै प्रभावकारी हुँदै गयो । त्यसमाथि ०४६ सालको ऐतिहासिक जनआन्दोलनपछि फेरि एकचोटी पार्टी एकीकरण र पुनर्निर्माणका नयाँ प्रयास र पहलकदमीहरु अगाडि बढे । त्यसमा एउटा त माओवादी धारासँग सम्बन्धित कम्युनिष्टहरुको एकताको प्रक्रिया अगाडि बढ्यो । र, त्यो प्रक्रियाका रुपमा एकता केन्द्रको रुपमा हामी अगाडि आयौं भने अर्काेतिर माले र अन्य पार्टीहरु मिलेर एकीकृत माक्र्सवादी र लेनिनवादी भनेर अर्काे एकीकरणको प्रयासपनि भयो । त्यो प्रयाससँगै परिस्थिति जनताले चाहेजस्तो ढंगले अगाडि बढेन ।

नेपालमा क्रान्ति अधुरै छ, अपूरै छ । नेपाली क्रान्तिलाई नयाँ शिराबाट अगाडि बढाउन जरुरी छ भन्ने सोचका साथ माओवादी जनयुद्धको ऐतिहासिक प्रक्रिया अगाडि आयो ।साथसाथै संशोधनवाद, अवसरवादर प्रतिक्रियावादका विरुद्ध संघर्ष गर्दै क्रान्तिकारी जनआन्दोलन सृष्टि गर्ने प्रयासहरु पनि हुँदै गए । जनयुद्धकै प्रक्रियाभित्र फेरि निरंकुशताका विरुद्ध, सामन्तवादका विरुद्ध फेरि पनि सशस्त्र युद्धमा भएका र नभएका पार्टीहरुको बीचमा फेरि सहकार्यको परिस्थिति बन्यो र त्यो सहकार्यको परिस्थितिले नेपालको कम्युनिष्ट आन्दोलनमा एउटा असाधारण प्रक्रिया देखा प¥यो । जनयुद्ध र जनआन्दोलन शान्तिपूर्ण जनआन्दोलनका पक्षधर र सशस्त्र जनयुद्ध सञ्चालन गरिराखेका पार्टीहरुका बीचमा समझदारी भएर संयुक्त जनआन्दोलन र जनयुद्ध समायोजन गर्ने ऐतिहासिक र अभूतपूर्व प्रक्रिया पनि नेपालको कम्युनिष्ट आन्दोलनमा देखाप¥यो । र, यो असाधारण प्रक्रियाले नेपालमा केही चिज नितान्त नयाँ बन्यो ।

मैले अहिले व्याख्या गर्न सम्भव छैन । त्यो भनेको के हो भने सामन्तवादका विरुद्ध पुँजीवाद जनवादी क्रान्ति कम्युनिष्ट पार्टीको मुख्य सक्रियता र नेतृत्वमा अन्यबुर्जुवापार्टीहरुलाई पनि सहमतिमा लिएर आधारभूत रुपमा त्यो क्रान्ति सम्भव हुन गयो । यो दुनियाँमा कमै देख्न पाइन्छ ।

यो क्रान्ति न हामीले विगतमा सोचेजस्तो, सामन्तवाद र साम्राज्यवाद विरोधी नयाँ जनवादी क्रान्तिका रुपमा नै सम्पन्न हुनसक्यो, न यो फेरि पूरै पुरानो प्रकारको पुँजीपति वर्गको नेतृत्वमा भएको पुँजीवादी क्रान्ति नै भयो । यो सर्वहारा वर्गको मुख्य नेतृत्व, कम्युनिष्ट पार्टीको मुख्य नेतृत्व जनयुद्धको मुख्य भूमिकासहित सामन्तवादमाथि निर्णायक प्रहार गरिएको वुर्जुवाहरुलाई पनि एक हदसम्म अंश दिएर सम्झौता गरेर गरिएको नयाँ प्रकारको क्रान्ति भयो । मलाई लाग्छ, हाम्रा बुद्धिजीवी साथीहरुले हाम्रा कम्युनिष्ट आन्दोलनका सबै नेता–कार्यकर्ताहरुले यो पक्षलाई गम्भीर रुपले विचार गर्न जरुरी छ ।

यो हाम्रो ऐतिहासिकता, हाम्रो विशेषता, हाम्रो मौलिकता, हामीले हासिल गरेको उपलब्धिको विशेष स्थितिको बारेमा सबैले चिन्तन मनन गर्न जरुरी छ । अहिले हामी शान्ति सम्झौतापछि संघीय लोकतान्त्रिक गणतन्त्रको घोषणा भइसकेपछि प्रतिस्पर्धाको तरिकाद्वारा कम्युनिष्ट आन्दोलनलाई समाजवादी दिशातिर लाने कुरा गरेका छौं । र यही प्रक्रियाभित्र हामीले नै माओवादी केन्द्रकै तर्फबाट अब केही दशक सायद नेपालमा शान्तिपूर्ण प्रतिस्पर्धाको राजनीति नै अगाडि जान्छ । र वर्गसंघर्ष राजनीतिक संघर्षहरु नयाँ परिवेशमा अगाडि जान्छ भन्ने विश्वासका साथ हामीले अब कम्युनिष्ट आन्दोलनलाई एकतावद्ध गर्न सक्नुपर्दछ ।

एमालेसँग एकता, संघर्ष र रुपान्तरण
तमाम वामपन्थीहरुलाई एकढिक्का बनाएर समाजवादको आधार निर्माण गर्ने कुरातिर लाग्नुपर्छ भनेर हामीले नै प्रस्तावित गरेर वामगठबन्धन ग¥यौं । आम नेपाली जनताले बडो उत्साहका साथ त्यसलाई अनुमोदन गरे । हामीले नै कम्युनिष्ट एकता र पार्टी एकताकोे प्रस्ताव ग¥यौं । आम नेता कार्यकर्ताहरुले बडो उत्साहका साथ त्यसलाई स्वागत गर्ने काम भयो । निर्वाचनमार्फत् जनअनुमोदित पनि भयो । र, आम नेता कार्यकर्ताहरुले एकता आजको परिस्थितिमा समाजवादी क्रान्तिका निम्ति जरुरी छ पनि भनियो । र, एउटा ठूलो प्रयोग भनौं, क्रमभंग हामीले गरयौं। त्यो सही थियो भन्ने दावी अहिले पनि छ । हामीले त्यसो गर्नु गलत गरेको होइन । यो राष्ट्र, वर्ग र कम्युनिष्टहरुको समग्र हितमा थियो ।

तर, एकाध नेतृत्वमा देखा परेको विचलनका कारण वैचारिक विचलन, सांस्कृतिक विचलन र व्यक्तिवादी विसर्जनवादी चिन्तनका कारणले त्यो महान प्रयोग सफल हुन सकेन तर, त्यो महान प्रयोग नै थियो । देशभरिका कम्युनिष्टहरुलाई एकतावद्ध गरेर अगाडि जाने प्रयोग सही थियो । त्यसमा अत्यधिक ठूलो संख्याको जनता र कम्युनिष्टहरुकोसमर्पण नै थियो । तर दुर्भाग्य के भयो भने पार्टी नेतृत्वमा जसलाई हामीले प्रधानमन्त्रीको रुपमा अगाडि सा¥यौं, उनमा देखापरेको गैर-माक्र्सवादी, गैर–कम्युनिष्ट चरित्र र चिन्तनका कारणले प्रवृत्तिका कारणले पार्टीभित्र अस्वस्थ संघर्षको परिस्थिति बन्यो ।

मैले आज पार्टी स्थापनाको दिवसको यो ऐतिहासिक दिनमा ती कुरालाई स्मरण गर्दै गर्दा के सम्झाउन चाहन्छु भने म बढो खुशी थिएँ, पार्टीको केन्द्रीय समितिकोे दोस्रो बैठक चलिराखेको थियो नेकपाको । मैले त्यसको कार्यकारी अध्यक्षता ग्रहण गर्ने र कार्यकारी अध्यक्षको हैसियतले बैठक सञ्चालन गर्ने, दस्तावेज प्रस्तुत गर्ने, निर्णय गर्ने पहल गरेको थिएँ । पाँच दिन चलेको त्यो बैठकले अब यो कम्युनिष्ट एकता सुदृढ भयो,अब नेपाली क्रान्ति नयाँ ढंगले जान्छ भन्ने विश्वास पैदा गरेको थियो । के माओवादी पृष्ठभूमिका के एमाले पृष्ठभूमिका ९० प्रतिशतभन्दा बढी नेताहरुको अनुहारमा त्यसले उज्यालो दिलाएको थियो ।

अब नेपालको कम्युनिष्ट राजनीति नयाँ शिराबाट अगाडि जान्छ । नेपालको समाजवादी आन्दोलन नयाँ शिराबाट अगाडि जान्छ भन्ने आत्मविश्वास सबैलाई पैदा भएको थियो । तर दुर्भाग्य ! त्यो सफलता, त्यो उत्साह, त्यो आत्मविश्वास देखेर दक्षिणपन्थी विसर्जनवादीहरु व्यक्तिवादी र अहंकारी प्रवृत्तिलाई त्यो सैह्य भएन । केन्द्रीय कमिटीको बैठकको त्यो सफलता साँच्चै उनीहरुका निम्ति आतंकजस्तै भयो । र, यो पार्टी साँच्चै एकतावद्ध भएर जाने भयो, यो पार्टीले क्रान्तिकारी चरित्र बोकेर जाने भयो र नेतृत्वको हैसियतले प्रचण्डकै नेतृत्व स्थापित हुने भयो भनेपछि त्यसै विन्दुबाट निकै ठूलो षडयन्त्र सुरु भयो ।

पार्टीभित्र विवाद हुनु ठूलो कुरा होइन । त्यो विवादलाई अस्वस्थता, गुटबन्दी, अराजकता र षड्यन्त्रको रुप दिइयो । र त्यो षड्यन्त्रमा कम्युनिष्ट आन्दोलनभित्रका अवसरवादी, दक्षिणपन्थी मात्रै होइन, त्यसभित्र र बाहिरका प्रतिक्रियावादीहरु पनि सामेल भए । ठूला–ठूला सेटिङहरु भए । हामीले ठूलो बहुमतद्वारा लिइएका निर्णयहरु कार्यान्वयन हुन नदिने ढंगले संवैधानिक त्यस्ता अंगहरुसँगसमेत सेटिङ भएको देखाप¥यो । त्यो दुर्भाग्यपूर्ण कुरा थियो । मैले आफ्नै अनुभवबाट भन्नुपर्दा त्यो एकता सही मात्र थिएन, त्यो एकताले विस्तारै विस्तारै सकारात्मक रुप लिँदै थियो । एकता सुदृढ हुँदै थियो । त्यो समाजवादी क्रान्तितिरै जाँदै थियो ।

नीति र नेतृत्वको सवाल
आज यो मञ्चबाट म नेकपा एमालेका ती हिजोका केन्द्रीय समितिका अत्यन्तै ठूलो संख्याका कमरेडहरुलाई स्मरण गर्न चाहन्छु । ती हजारौं कार्यकर्ता,म केन्द्रीय समितिको बैठकपछि देशव्यापी प्रशिक्षणमा गएको थिएँ । एमाले पृष्ठभूमिका नेता–कार्यकर्ताहरुले मलाई जो प्रेम विश्वास भरोसा गर्नुभएको थियो, म त्यो स्मरण गर्न चाहन्छु । एमाले भन्ने बित्तिकै सबै खतम छन् भनेर नसोच्न आग्रह गर्न चाहन्छु–त्यहाँभित्र पनि इमान्दार कम्युनिष्टहरु ठूलो संख्यामा छन् । तर हुँदो के रहेछ भने लिडरसीप भन्ने कुरा निकै ठूलो कुरा हुँदो रहेछ । लिडरसीप गलत मान्छेको हातमा गयो भने इमान्दार कम्युनिष्टहरु पनि केही समय रनभुल्लमा पर्ने या फुत्किन गाह्रो हुने हुँदो रहेछ । त्यो हामीले नेपालको कम्युनिष्ट आन्दोलनमा मात्रै होइन,विश्व कम्युनिष्ट आन्दोलनमा पनि देखेका छौं ।

चाहे रुसमा भएको प्रतिक्रान्तिको कुरा गरौं या अन्य पूर्वी युरोपका देशमा भएका प्रतिक्रान्तिको कुरा गरौं । लिडरसीपको कारणले नै इमान्दार कम्युनिष्टहरुको बाहुल्य तल पार्टी पङ्तिमा हुँदा हुँदै पनि लिडरसीपले गलत लाइन लिइसकेपछि इमान्दार कम्युनिष्टहरु पनि कही न कही त्यसको शिकार हुने खतरा हुँदो रहेछ । त्यसकारण म आज पार्टी स्थापना दिवसको अवसरमा सम्पूर्ण एमालेभित्रका ती इमान्दार कम्युनिष्टहरु जो साँच्चै वाम गठबन्धनको पक्षमै हुनुहुन्थ्यो– अहिले पनि हुनुहुन्छ, कम्युनिष्टहरुको एकता आवश्यक छ भन्ने ठान्नु हुन्छ, भनिराख्नुभएको छ– उहाँहरुलाई गलत प्रवृत्तिका विरुद्ध संघर्ष गर्न प्रेरणा मिलोस् ।

आज पार्टी स्थापना दिवसले लेनिन जयन्तीको यो ऐतिहासिक दिनले इमान्दार कम्युनिष्टहरु सबैलाई फेरि एक चोटी कम्युनिष्ट आन्दोलनलाई एकतावद्ध गर्नुछ, फेरि हामीले नेपालको समाजवादी आन्दोलनलाई नयाँ चिराबाट अगाडि बढ्ने वातावरण बनाउनु छ भन्ने उत्प्रेरणा, ऊर्जा आजको दिनले सबैलाई दिओस् भन्ने भन्ने अपिल गर्न चाहन्छु । र, त्यसका लागि अझ म हिजो नेपालको जनवादी क्रान्तिलाई मौलिक ढंगले पूरा गर्न मुख्य योगदान गरेको माओवादी आन्दोलन र क्रान्तिकारी कम्युनिष्ट आन्दोलनका सबै विभिन्न धाराहरुलाई आजको दिनले सबभन्दा पहिला एकतावद्ध हुन प्रेरित गरोस् । म सबै माओवादी आन्दोलनका उपज सबै धाराका नेता कार्यकर्ताहरुलाई विशेष रुपले अपिल गर्न चाहन्छु ।आउनुस्, अहिले पनि देशमा जनयुद्ध र जनआन्दोलनले स्थापित गरेका मान्यता र मुद्दाहरु उल्ट्याउने षडयन्त्र भइराखेको छ ।

संघीय लोकतान्त्रिक गणतन्त्रलाई कमजोर पार्ने र जनताको घर दैलोमा पुगेको अधिकार खोस्ने षड्यन्त्र भइराखेकै छ । अहिले पनि यो देशका महिला, दलित, आदिवासी, मधेसी, थारु, मुस्लिम लगायत उत्पीडित जनताले पाएका अधिकार र पहिचानहरु खोस्ने षड्यन्त्र रोकिएको छैन । त्यसकारण हामी सबै यो परिवर्तनका पक्षधरहरु यो परिवर्तनका निम्ति त्याग र बलिदानका कीर्तिमान कायम गर्नेहरु सबै एक ठाउँमा केन्द्रित हुन जरुरी छ । माओवादी आन्दोलन र क्रान्तिकारी कम्युनिष्टलाई विभाजित गरेर मात्रै आफ्नो प्रतिक्रियावादी सत्ताको पुनः प्राप्ति हुन सक्छ, फेरि निरंकुशता लाद्न सकिन्छ भन्ने ठान्नेहरु छन् र त्यसका निम्ति कसरत भइराख्या हो । त्यसकारण म सबै परिवर्तनमा सहभागी माओवादी र सबै कम्युनिष्ट आन्दोलनका क्रान्तिकारी नेता कार्यकर्ताहरुलाई विशेष रुपले अपिल गर्न चाहन्छु ।

म आज अलिकति हर्षित र खुशी छु । यो प्रक्रियामा पोहोर सालदेखि प्रतिगमन विरोधी प्रतिक्रान्ति विरोध जो आन्दोलन गर्ने र त्यसमा सहभागी हुने हामी सबैलाई अवसर भनौं एक खालको चुनौती दुईवटै थियो, हामीले त्यसलाई सदुपयोग ग¥यौं र प्रतिक्रान्ति रप्रतिगमनलाई परास्त हामीले तत्कालीन रुपमा गरेकै हो । अहिले हामी निर्वाचनको संघारमा छौं । यो निर्वाचन प्रतिगमनले जित्ने हो या अग्रगमनले । परिवर्तनका पक्षधरहरुको जीत हुने हो या परिवर्तन विरोधीहरुको । यो देशका सबै उत्पीडित वर्ग, जाति, क्षेत्र, लिङ्गका जनताको जीत हुने हो या ती जनतामाथि शासन गर्ने सामन्ती प्रवृत्ति र व्यक्तिवादी प्रवृत्तिको जीत हुने हो भन्ने कुराको फैसला हुँदैछ । त्यसकारण यतिबेला हामी परिवर्तनका मुद्दाहरुलाई स्थापित गर्न हाम्रा महान् सहिदहरु, बेपत्ता यौद्धाहरु, घाइते अपाङ्गहरु सबै जनयुद्ध, जनआन्दोलन, मधेस आन्दोलन र सबै न्यायपूर्ण आन्दोलनका सहिदहरुका सपनालाई पूरा गर्न हामी एकजुट भएर यो लडाई हामीले जित्नुछ । जित्नै पर्छ । हामीले जित्दा राष्ट्रले जित्छ, मुद्दा परिवर्तनका मुद्दाले जित्छ ।

नेपालमा सयौं वर्षदेखि उत्पीडन, शोषण, अत्याचारमा परेका जनताको जीत हुन्छ । हामीले हाम्रा प्रतिक्रियावादीले जित्ने, प्रतिगमनले जित्ने प्रतिक्रान्तिले जित्ने स्थिति बन्ने खतरा हुन्छ । त्यसकारण पनि आजको दिन प्रतिगमनविरुद्ध एउटा नयाँ संकल्प लिने दिनको रुपमा सबै सच्चा कम्युनिष्ट क्रान्तिकारी, परिवर्तन र न्यायका पक्षधर जनताको ऐतिहासिक जिम्मेवारी हो भन्ने हामी ठान्दछौं । म सबै समक्ष यही अपिल गर्न चाहन्छु । म खुशी यसर्थ पनि छु कि विभिन्न अनुभव, ठक्करको बीचबाट फेरि एक चोटी माओवादी आन्दोलनमा नयाँ र बडो उत्साहपूर्ण धु्रवीकरणको प्रक्रिया सुरु भएको छ । दिनदिनै जसो एकाध व्यक्तिको रुपमा होइन सयौं र हजारौंको संख्यामा र संख्या मात्रै होइन संस्थागत रुपले नै हिजो अलग भएका माओवादीहरु फेरि माओवादी केन्द्रमा, मूल घरमा,मूल नेतृत्वमा जोडिने निकै प्रक्रिया आज नेपालमा सुरु भएको छ । मलाई थाहा छैन, तपाई कमरेडहरुले यो कुरालाई कत्तिको गहिरो गरी हेर्नुभएको छ ?विचार गर्नुभएको छ?त्यो क्रम पूर्वदेखि पश्चिमसम्म सबैतिर अहिले निकै व्यापक रुपमा अगाडि बढेको छ ।

माओवादी धारा एकतावद्ध होऔं
सुदूरपश्चिममा हिजो मात्रै ठूलो संख्यामा विगतमा विभाजित भएका नेता, कार्यकर्ताहरु संस्थाकै रुपमा पार्टीमा एकतावद्ध हुने, ध्रुवीकृत हुने निकै उत्साहको वातावरण बन्यो । कतिपय जिल्लाहरुमा हामी २०६४ तिर फर्कियौं सम्पूर्ण माओवादी क्रान्तिकारीहरु सबै एकै ठाउँमा भयौं भनेर उहाँहरुले घोषणा पनि गर्नुभयो । यो हामी सबैका लागि खुशीको कुरा हो । आज यही हलमा पनि चाहे हिजो माओवादी आन्दोलनकै क्रममा विकास भएको र विभिन्न ढंगले विभिन्न कालखण्डमा अन्यत्र अनुभव गरेर अन्ततः माओवादी केन्द्र नै सही रहेछ भनेर भर्खरै केही कमरेडहरु यहाँ पार्टी प्रवेश गर्नुभयो र उहाँसँगै अरु पनि पार्टी प्रवेश गर्नुभयो । यसको सांकेतिक तर ठूलो अर्थ र सन्देश छ भन्ने मैले ठानेको छु ।

विगतमा विभाजित भएर गएका बाँकी कतिपय माओवादी समूहभित्र विभाजनको औचित्य पुष्टि गर्न सकिएन, हामीले माओवादी केन्द्रलाई गाली गर्नु गलत भयो, किन गरियो ? आज यही प्रक्रियामा, यही निर्वाचनमा,यही शान्तिपूर्ण राजनीतिमा जानुपर्ने बाध्यता किन भयो भनेर निकै मार्मिक ढंगले साथीहरुले बहस गर्न थालेको सुनेको छु मैले । किन माओवादी केन्द्रलाई गाली गरियो ? किन प्रचण्डलाई गाली गरियो ? हामीले पश्चाताप गर्नुपर्दछ । हामी माओवादी केन्द्रसँग जानु पर्दछ । हामी प्रचण्ड भएको ठाउँमा जानु पर्दछ र हामीले गल्ती ग¥यौं भन्नुुपर्दछ भन्ने अरु पार्टीका साथीहरुको पनि मैले कुरा सुनिराखेको छु । यो हामी सबै सच्चा माओवादीहरुका निम्ति खुशीको कुरा हो । म यो कुरा सबैलाई जानकारी गराउँदै मैले हिजो कैलालीको एउटा ऐतिहासिक भूमिबाट सबै माओवादी क्रान्तिकारीहरुलाई एकताका निम्ति अपिल गरेको छु । आज पार्टी स्थापना दिवस र लेनिन जयन्तीको अवसरमापुनः सबैलाई एकताका लागि अपिल गर्न चाहन्छु ।

हाम्रा निम्ति इतिहासमा एकपटक फेरि अवसर आएको छ, यो अवसर गुम्न दिनु हुँदैन । हामी एकढिक्का भएर निर्वाचन अभियानमा जानु छ ।परिवर्तनका निम्ति त्याग र बलिदानकाकीर्तिमान कायम गर्ने हाम्रा महान सहिदहरु, बेपत्ता योद्धाहरु, सबै क्रान्तिकारीहरुका सपना पूरा गर्ने अवसरको रुपमा हामीले यसलाई सदुपयोग गर्नुपर्दछ । म यही अपिल सबैसँग गर्दै फेरि एक पटक पार्टी स्थापना दिवस र लेनिन जयन्तीका अवसरमा देशभित्र र देशबाहिर रहनुभएका सम्पूर्ण श्रमजीवीजनसमुदाय, कम्युनिष्ट क्रान्तिकारीहरु र न्यायप्रेमी जनताप्रति हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु ।

(नेपाल कम्युनिष्ट पार्टीको ७३ औं स्थापना दिवस तथा १५२ औं लेनिन जयन्तीका अवसरमा आयोजित कार्यक्रमलाई नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले गरेको सम्बोधन)-सम्पादक।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्