यस्ता छन् हिड्नुका फाइदा – Janadesh Daily | ePaper

यस्ता छन् हिड्नुका फाइदा


हिँड्नु फाइदाकारक छ त भनिन्छ, तर के के फाइदा छन्, किन हिँड्ने ? धेरैसँग यस्ता जिज्ञासा पनि छन् । वास्तवमा नियमित हिँडाइले शारीरिक, मानसिक र भावनात्मक स्वास्थ्यमा धेरै सुधार गर्छ ।

हिँड्न सजिलो छ र यसमा खर्च पनि कुनै लाग्दैन । शायद यसैले होला हिँडाइलाई व्यायामका सन्दर्भमा कतिपयले महत्व पनि दिँदैनन् । हिँडाइका फाइदाबारेमा राम्रो जानकारी नभएका कारणले पनि यसलाई महत्व नदिएको हुन सक्छ । वास्तवमा दैनिक ३० देखि ४५ मिनेटसम्म हिँड्नु उत्तम व्यायाम हो ।

केही महत्वपूर्ण फाइदाहरु:

१. मुटुको स्वस्थता: 

छिटो–छिटो हिँड्नु मुटुको मांसपेशीका लागि एकदमै राम्रो व्यायाम हो । छिटो–छिटो हिँड्दा मुटुको ढुकढुक गर्ने दर बढ्न जान्छ । बसिरहेको बेलाको मुटुको ढुकढुकी दरभन्दा छिटो हिँड्दा वा कुद्दा मुटुको ढुकढुक गर्ने दर निश्चय नै बढ्छ । यसरी मुटुको ढुकढुकी दर बढ्न गएपछि मुटुको रगत पम्प गर्ने दर पनि बढ्न जान्छ । यसले मुटुको मांसपेशीमा व्यायाम पुग्छ । शरीरका अन्य अंगका मांसपेशीजस्तै मुटुका मांसपेशीलाई स्वस्थ राख्नका लागि व्यायामको जरुरत हुन्छ । दैनिक व्यायामले मुटुका मांसपेशीलाई सुदृढ एवं बजबुत बनाउँछ । मजबुत मांसपेशीले अझ राम्रोसँग काम गर्छ र शरीरमा राम्रोसँग रगत एवं अक्सिजन आपूर्ति गर्न सक्षम हुन्छ ।

२. हाड–जोर्नीको लचकता बढाउँछ:

लचकता नभएका जोर्नीहरुले शरीरमा अनेक असजिलोपन ल्याउँछन् । यसले गर्दा हिँडडुल गर्नमा बिस्तारै कठिनाइ सिर्जना हुन्छ । जोर्नीहरु अररो हुने र हिँड्दा, उठबस गर्दा, कुनै शारीरिक कार्य गर्दा जोर्नीहरु दुख्न थाल्छन् । धेरै नै दुखाइ हुँदा चिकित्सकको सल्लाह नै लिनुपर्ने हुन सक्छ । केही समय औषधि सेवन गर्नुपर्ने र हिँड्ने वा अन्य व्यायाम गर्नुपर्ने हुन सक्छ । तर नियमित हिँड्ने गरेमा शरीरका जोर्नीहरुमा यस किसिमको अररोपन आउँदैन, अर्थात् जोर्नीहरुमा लचकता कायमै रहन्छ । हिँड्नु जोर्नीहरुका लागि कुद्नुभन्दा बढी लाभदायक छ ।

३. हाडहरुलाई मजबुत गराउँछ:

हाम्रो उमेर बढेसँगै हाडहरुको घनत्व पनि कम हुँदै जान्छ । वास्तवमा हाडको घनत्व ९द्ययलभ मभलकष्तथ० हाडमा उपलब्ध हुने खनिजहरुको मात्रामा निर्भर हुन्छ । हाडको घनत्व कम हुँदै गएमा उमेर बढ्दै जाँदा हाड फुसफुस भएर कमजोर हुने अस्टियोपोरोसिस रोग लाग्छ । अस्टियोपोरोसिस भएपछि हाड कमजोर हुन्छ र साधारण ठोक्काइबाट पनि भाँच्चिने, टुक्रिने हुन सक्छ । तर व्यायामले हाडहरुको घनत्व राम्रो बनाइराख्न सहयोग गर्छ । यदि तपाईं पनि कुनै व्यायाम गर्नुहुन्न भने भोलिदेखि नै हिँड्न शुरु गर्नुहोस् । हाडहरुलाई स्वस्थ राख्नको लागि हिँडाइ उत्तम व्यायाम मानिएको छ । हिँडाइले हाडलाई आवश्यक पर्ने खनिजको आपूर्तिमा सहयोग गर्छ र हाडहरुलाई मजबुत बनाइराख्न मद्दत गर्छ ।

४. ढाड दुखाइमा फाइदा गर्छ:

अधिकांश ढाड दुखाइको कारण गलत किसिमको बसाइ र ढाडको मांसपेशीहरुमा क्षति पुग्नु नै हो । लामो समय एकै किसिमको पोजिसनमा बस्नु र ढाडलाई कुनै सपोर्ट नदिई बस्नु पनि हो । ढाड दुखाइबाट मुक्ति पाउने राम्रो उपाय भनेको कुर्सी छोडेर उभिनु हो । कुर्सीमा एक घण्टा जति बसेर काम गरिसकेपछि एकछिन् कुर्सी छोडेर उभिनु, कुराकानी गर्नु, अफिसमै एकछिन् हिँड्नु ढाडका मांसपेशीलाई आराम दिने र तनावरहित बनाउने राम्रो उपाय हो । दैनिक कम्तीमा ३० मिनेटजति हिँड्दा ढाडका मांसपेशी मजबुत हुनुका साथै लचकतामा पनि वृद्धि हुन्छ । यो ढाड दुखाइबाट मुक्त हुने राम्रो उपाय हो ।

५. उच्च रक्तचाप नियन्त्रणमा सहज:

विभिन्न कारणले मानिसमा रक्तचाप वृद्धि हुन्छ र रक्तचाप बढेपछि यसैका कारण हृदयघात हुने सम्भावना पनि बढ्छ । स्वस्थ एवं मजबुत मुटुले कम प्रयत्नबाट नै शरीरमा धेरै रक्तप्रवाह गर्न सक्छ । यसले रक्तनलीहरुमा कम असर पार्छ । दैनिक कम्तीमा १० मिनेटजति हिँड्दा मात्र पनि उच्च रक्तचापमा सकारात्मक असर आउँछ । त्यसैले दैनिक ३० मिनेटजति हिँड्दाचाहिँ उच्च रक्तचापमा सकारात्मक परिणाम देखिन्छ । औषधि उपचार गरेर देखिने प्रभाव नियमित हिँडाइबाट नै प्राप्त गर्न सकिन्छ । हिँडाइले उच्च रक्तचाप नियन्त्रणमा सकारात्मक प्रभाव पर्ने भए तापनि उच्च रक्तचाप नियन्त्रण गर्नुपर्ने औषधि परिवर्तन गर्नुपर्दाचाहिँ सम्बन्धित चिकित्सकसँग नै परामर्श गर्नुपर्छ ।

६. ब्लड सुगर नियन्त्रणमा सहयोग:

प्रयोग नभई बसेको ग्लुकोजको मात्रा रगतमा धेरै भएमा ब्लड सुगर उच्च हुने सम्भावना धेरै हुन्छ । जब शरीरले ग्लुकोज प्रशोधन गर्न र ब्लड सुगर लेवललाई ठीक अवस्थामा राख्न सक्तैन त्यस बेला डायबिटिज हुने सम्भावना धेरै हुन्छ अनि इन्सुलिनमार्फत उपचार गर्नुपर्ने हुन सक्छ । ब्लड सुगर लेवललाई सन्तुलित बनाइराख्नका लागि व्यायाम सबैभन्दा ठूलो उपाय हो । यसका लागि हिँड्नु उत्तम विकल्प हो । व्यायाम गर्नुअघि र व्यायाम गरेपछिको ब्लड सुगर लेवल जाँचेर हेर्दा पनि हिँडाइको प्रभावकारिता थाहा पाइन्छ ।

७. मेटाबोलिजममा सुधार;

हामीले खाने खानालाई हाम्रो शरीरले इन्धनको रुपमा प्रयोग गर्छ । जब हामीले इन्धनको ट्याङ्की भर्छौं तर कतै गएनौँ भने इन्धन प्रयोगविहीन हुन्छ । हामीले खाएर प्रयोग नगरेको चिल्लो पदार्थ र गुलियो पदार्थ भविष्यका लागि सञ्चित हुन्छ । यदि कहिल्यै पनि हामीले त्यसलाई प्रयोग गरेनौँ भने त्यसले शरीरमा ब्लड सुगर वृद्धि गर्न र तौल बढाउन मद्दत गर्छ ।

मेटाबोलिजम भनेको खानालाई ऊर्जामा परिवर्तन गर्ने दर हो । मेटाबोलिजम सुस्त भयो भने शरीरको तौल वृद्धि हुन्छ । नियमितरुपमा हिँड्ने वा अन्य व्यायाम गरेर मेटाबोलिक दर वृद्धि गर्न सकिन्छ ।

हिँड्न शुरु गरेपछि शरीरका मांसपेशीहरु काम गर्न थाल्छन् र ऊर्जा खर्च गर्न थाल्छन् । यसले हाम्रो शरीरमा जम्मा भएको तर ऊर्जामा परिवर्तन नभएको चिल्लो र गुलियो पदार्थलाई घटाउने कार्य गर्छ र तौल कम गर्न सहयोग र्छ । त्यसकारण हिँडाइ आवश्यक छ ।

८. फोक्सोको कार्य सुधार गर्छ:

फोक्सोले शरीरमा प्राणवायु उपलब्ध गराउँछ । स्वस्थ फोक्सोविना पर्याप्त प्राणवायु शरीरमा उपलब्ध हुन सक्तैन । पर्याप्त प्राणवायु प्राप्त नहुँदा शरीर स्वस्थ हुन सक्तैन । हिँड्दा शरीरका अन्य अंगसँगै फोक्सोमा पनि राम्रो व्यायाम हुन्छ । व्यायाम गरेर फोक्सोलाई सुदृढ गर्छ, जसले समग्र स्वास्थ्य राम्रो बनाउन सहयोग गर्छ । आराम गरेर बसिरहँदा भन्दा हिँड्दा शरीरमा फोक्सोले धेरै अक्सिजन उपलब्ध गराउँछ । नियमित हिँडाइले फोक्सोलगायत समग्र स्वास्थ्यमा लाभ पुग्छ ।

९. तनाव घटाउन पनि मद्दत पुग्छ:

तीव्र प्रतिस्पर्धाको वर्तमान युगमा अधिकांश मानिस तनावमा परेको पाइन्छ । तनावले समग्र शारीरिक स्वास्थ्यमा पनि गम्भीर प्रभाव पर्छ । तनावले उच्च रक्तचाप वृद्धि गर्छ, निद्राको समस्या हुन्छ र तौलमा पनि असर पार्छ । तनावलाई कम गर्ने सबैभन्दा राम्रो तरिका व्यायाम नै हो । कम्तीमा ३० मिनेटको हिँडाइले तनाव कम गर्न मद्दत गर्छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्