संसारका सर्वाधिक धनी अर्बपति मस्कको ट्वीटरसँग एकतर्फी मायाको रहस्य के, किन आत्तिए उनी ! – Janadesh Daily | ePaper

संसारका सर्वाधिक धनी अर्बपति मस्कको ट्वीटरसँग एकतर्फी मायाको रहस्य के, किन आत्तिए उनी !


जनादेश अन्तर्राष्ट्रिय वाच।

ट्वीटरप्रति एलन मस्कको लगावलाई कतिले ‘एकतर्फी माया’ भनेर पनि जिस्क्याउने गरेका छन् । एलनलाई वास्तवमै ट्वीटर एकदमै मन पर्छ । यसमा उनका ८ करोड ३८ लाख फलोअर छन् । उनले प्रायः हाँस उठ्ने व्यंग्यात्मक टिप्पणीहरु पोस्ट गर्ने गरेका छन् भने कहिलेकाहिँ चैँ त्यसैका कारण विवादमा पनि पर्ने गर्दछन् ।

यसअघि उनको ट्वीटकै कारण टेस्लाको शेयर मूल्यमा १४ अर्ब डलरले गिरावट आएपछि एसइसीले उनलाई टेस्ला सम्बन्धी ट्वीट गर्न प्रतिबन्धित गरेको थियो । यति मात्र नभएर उनले एक केभ ड्राइभरलाई अश्लील व्यक्तिको संज्ञा दिएपछि उनीविरुद्ध मानहानिको मुद्दा समेत लागेको थियो । तर यी सब नराम्रा घटनाका वावजुद उनले ट्वीटर छाडेनन् । उनी नियमित ट्वीट गरिरहन्छन् र आफ्ना फ्यानहरुलाई रमाइला पोस्टमा रिप्लाइ दिन पनि पछि पर्दैनन् ।

यता ट्वीटरको कुरा गर्नुपर्दा एलनप्रति यो कम्पनी त्यति उत्साहित देखिएको छैन । हामीलाई लाग्न सक्छ १६ वर्ष पुरानो कम्पनी जसका प्रतिस्पर्धी कहाँबाट कहाँ पुगिसक्दा पनि कुनै उल्लेखनीय वृद्धि विस्तार हुन नसकेको व्यवसायका लागि कसैले ४४ अर्ब डलर दिन्छ भने किन स्वीकार नगर्ने ? ट्वीटरका शेयरहोल्डर यो तर्कसँग सहमत छैनन् ।

मस्कका अनुसार ट्वीटरसँग असीमित क्षमता छ । र आफूले यसबाट पैसा कमाउन भन्दा मानव हित र सभ्यताको भविष्यलाई प्राथमिकता दिने उद्देश्यले समावेश हुन चाहेको उनको दाबी छ ।

तर मस्कको यस्तो आकर्षक भनिएको प्रस्तावलाई ट्वीटरले सुरुमै ‘पोइजन पिल’ नामक रणनीति अपनाएर सीधै बाहिरिन संकेत दियो । यस अन्तर्गत कसैले पनि ट्वीटरको १५ प्रतिशत भन्दा बढी शेयर खरिद गर्न पाउनेछैन ।

अहिले यस सम्बन्धी छुट्टै सम्झौता भए पनि सुरुवातमा स्वतन्त्र बोली सम्बन्धी मस्कको घोषणाले ट्वीटरको बोर्डलाई उत्साहित गराउन सकेको थिएन ।

ट्वीटरका नीति नियमहरुले लामो समयदेखि वामपंथी धारणालाई मात्र पर्याप्त स्थान दिएको रिपब्लिकनहरुको आरोप रहँदै आएको छ । यता सरकारी नियामकहरुले पछिल्लो समय सबै प्रमुख सामाजिक संजाल प्लेटफर्ममाथि कडाइ अपनाउँदै आफ्ना सामग्रीप्रति थप जिम्मेवारी लिन निर्देशन दिइरहेका छन् । सामाजिक संजालका पोस्टहरुले हिंसा भड्काउनेदेखि कुनै निश्चित जाति या वर्गप्रति घृणात्मक सन्देशहरु फैलाउने र चुनावको नतिजालाई समेत प्रभाव पार्ने गरेको पाइएको छ ।

यति मात्र नभएर ट्वीटरको विज्ञापनमा आधारित मोडलमा पनि मस्कले परिवर्तन ल्याउन चाहन्छन् । उनले यसलाई ‘सब्सक्रिप्सन’ मा आधारित प्लेटफर्म अर्थात् पैसा तिरेर चलाउने संजालमा परिणत गर्ने इच्छा व्यक्त गरेका छन् । तर अन्य सबै प्रमुख सामाजिक नेटवर्क निःशुल्क भएको हुँदा यसो गर्न सजिलो नहुने देखिन्छ ।

 

त्यस्तै एलन मस्कको अर्को मनपर्ने कुरा ‘क्रिप्टोकरेन्सी’ जस्तै बिटकोइनका लागि पनि ट्वीटर प्लेटफर्म उपयोगी हुन सक्छ ।

विश्वकै सर्वाधिक धनी व्यक्ति मस्कले टेस्ला, पेपल लगायत थुप्रै ठूला व्यवसायिक सफलता हासिल गरिसकेका छन् । र सबैले मन पराउने उनको मुख्य व्यक्तिगत आकर्षण भनेको उनी कुनैपनि धारणा राख्दा त्यसबारे गम्भीर सोचविचार नगरि बोल्ने या लेख्ने गर्दछन् । तर उनको यही विशेषताले उनलाई ‘खतराको घण्टी’ का रुपमा पनि स्थापित गराएको छ । उनलाई नियमहरु तोड्न र कुनैपनि कुराको सीमा कतिसम्म पार गर्न सकिन्छ भन्ने जाँच गर्न एकदम मनपर्छ ।

यसकारण जिम्मेवारीले बाँधिन नचाहेकोले नै ट्वीटरको सबैभन्दा ठूला शेयरहोल्डर, ९.२ प्रतिशत शेयरको मालिक भएर पनि उनले कम्पनीको बोर्डमा सहभागी नहुने निर्णय गरेका हुन् ।

तर उनलाई माया गर्ने र उनका हरेक कदमको वाहवाही गर्ने उनका धेरै इमान्दार फ्यानहरु पनि छन् जसले उनी विरुद्ध उठाइने सबै आवाजको प्रतिकार गर्दै उनको बचाउमा अनेकौँ तर्क दिने गरेका छन् । यसरी व्यवसायको कुरामा आक्रामक शैली अपनाउने भएपनि ट्वीटरसँग चाहिँ उनले एकदम संयमता अपनाएको देखिन्छ । यसमा कुरा के आउँछ भने यदि ट्वीटर निजी कम्पनी बन्यो भने यसले एकदम कमै नियामक अवरोधहरुको सामना गर्नुपर्नेछ ।

त्यसैले मस्कको स्वामित्वमा आइसकेपछि ट्वीटरका ३० करोड प्रयोगकर्ताका लागि ट्वीटरको अनुभव हालको भन्दा धेरै फरक पर्न सक्छ । किनकि अब यसमा कम लिबरल अर्थात् बढी आक्रामक आवाजहरु पनि प्राथमिकतामा पर्नेछन् । उदाहरणका लागि सबै सामािजक संजालबाट प्रतिबन्धित अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पुनः ट्वीटरमा आउन सक्छन् ।

हालको अवस्था हेर्दा ट्वीटरमा मस्कको आगमनलाई स्वागत गरिरहेका प्रत्येक एकजना प्रयोगकर्तासँगै अर्को व्यक्ति बाहिरिने निर्णयमा पुगेको पाइएको छ । तर ट्वीटरको इतिहास हेर्दा अहिलेसम्म ट्वीटर प्रयोगकर्ताहरु कहिल्यै कुनै कुरामा पनि पूर्ण सहमत या एकजुट हुन सकेका छैनन् । त्यसैले मस्क सम्बन्धी विवादलाई पनि नौलो मानिएको छैन ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्