ट्वीटरका नयाँ मालिकलाई चुनौतिः ‘स्पाम’मुक्त बनाउन चाहने एलन मस्ककै आधा फलोअर्स ‘फेक’ – Janadesh Daily | ePaper

ट्वीटरका नयाँ मालिकलाई चुनौतिः ‘स्पाम’मुक्त बनाउन चाहने एलन मस्ककै आधा फलोअर्स ‘फेक’


जनादेश अन्तर्राष्ट्रिय वाच।

४४ अर्ब डलरमा ट्विटर कम्पनी खरिद गर्ने तयारी गरिरहेका टेस्ला कम्पनीका मालिक एलन मस्कले ट्विटरबाट स्पाम अर्थात् फेक या नक्कली अकाउन्ट हटाउनु पनि आफ्नो मुख्य प्राथमिकतामा रहने बताएका छन् । तर यसमा एउटा समस्या के देखिएको छ भने ‘स्पाम बोट्स’ हटाएमा मस्ककै फलोअर पनि आधाले घट्ने ट्विटरको अडिटिङ टुल स्पार्कटोरोले देखाएको छ ।

अघिल्लो महिना मस्कले ट्विट गर्दै यस्तो गुनासो गरेका थिए, “स्पाम बोट्स यतिबेला ट्विटरको एक मात्र सबैभन्दा दिक्क लाग्दो समस्या हो ।”

यसपछि उनले सोमबार ट्विटरसँगको सम्झौताबारे घोषणा गर्दैगर्दा त्यस्ता फेक अकाउन्टहरूलाई पूर्ण रूपमा प्लेटफर्मबाट हटाउने प्रतिबद्धता जनाएका हुन् ।

ट्विटरमा हुने एक प्रकारका स्पाम बोट्स वास्तविक मान्छेको गतिविधिको नक्कल गर्ने अटोमेटिक अकाउन्ट हुन् । यस्ता बोट्सहरूलाई गलत सूचना प्रवाहदेखि पैसा कमाउने प्रचारका स्किम र ठगी सम्ममा प्रयोग गर्ने गरिएको छ । मस्कले विशेषगरी क्रिप्टोकरेन्सी सम्बन्धी ठगी गर्ने स्पाम बोट्सहरूबारे गुनासो गर्ने गरेका छन् । क्रिप्टोमा आधारित यस प्रकारको ठगीकै कारण उत्पादनको नराम्रो छवि बसेको उनले टेड अन्तर्वार्तामा बताएका हुन् ।

उनले भनेका थिए, “क्रिप्टोसम्बन्धी प्रत्येक स्क्यामका लागि मैले एउटा डजक्वाइन करेन्सी पाउने भएको भए अहिले मसँग १०० अर्ब डजक्वाइन हुन्थ्यो । ” डजक्वाइन भनेको बिटक्वाइन पछिको सबैभन्दा लोकप्रिय डिजिटल मुद्रा हो ।

यस्ता बोट्सहरूलाई हटाउन ट्विटरको आफ्नै नीति नियमहरू छन् । तर पनि यो प्रक्रिया अधिक चुनौतीमय साबित हुँदै आएको छ । यस्तोमा मस्कले यो समस्याको समाधानका लागि साइट चलाइरहेका सम्पूर्ण प्रयोगकर्ता वास्तविक मान्छे नै हुन् भन्ने आधिकारिकता स्थापित गराउने वचन दिएका छन् तर विस्तृतमा आफ्नो योजना सार्वजानिक गरेका छैनन् ।

अर्कोतर्फ मस्कका आफ्नै फलोअर पनि उल्लेखनीय रूपमा फेक अकाउन्टहरूले नै बुस्ट गरेको देखिएको छ । हाल मस्कका ८ करोड ७९ लाख फलोअर छन् । स्पार्कटोरोकाअनुसार त्यसमा झन्डै ४८ प्रतिशत अकाउन्ट फेक छन् अर्थात् ती अकाउन्ट पहुँचविहीन छन् र तिनका ट्विटहरू देखिँदैनन् । यो भनेको या त ती अकाउन्ट स्पाम बोट्स हुन् या प्रोपागान्डा फैलाउन निर्माण भएका हुन् अथवा हाल ती अकाउन्ट ट्विटरमा सक्रिय छैनन् ।

उनकै आकारको फलोअर भएका अन्य अकाउन्टहरूको तुलनामा मस्कका फेक फलोअर ७ प्रतिशत बढी रहेको रिपोर्टमा उल्लेख छ । स्पाम बोट्ससँग सम्बन्धित २५ पक्षहरूको अध्ययन तथा विश्लेषण गरी यो रिपोर्ट तयार पारिएको थियो । त्यस्ता अकाउन्ट जुन एकदम थोरै लिस्टमा छन्, जसका प्रोफाइलको कुनै युआरएल छैन, जसका थोरै शंकास्पद फलोअर छन् । यसरी हालैमा मस्कलाई फलो गरेका एक लाखमध्ये दुईहजार अकाउन्ट यस्तै शंकास्पद किसिमका थिए ।

मस्क मात्र नभएर अन्य प्रख्यात व्यक्तिहरूको अकाउन्टमा पनि व्यापक रुपमा यस्ता फेक फलोअर्स भेटिन्छन् । जस्तै ५ करोड ८४ लाख फलोअर्स भएका माइक्रोसफ्ट कम्पनीका संस्थापक बिल गेट्सदेखि १३ करोड १७ लाख फलोअर्स भएका पूर्वराष्ट्रपति बाराक ओबामाको अकाउन्टमा पनि क्रमशः ४६ प्रतिशत र ४४ प्रतिशत फेक फलोअर्स छन् ।

त्यसैगरी किम कर्दासियन र क्रिस्टियानो रोनाल्डोका पनि ४० प्रतिशत भन्दा बढी फलोअर्स फेक अकाउन्ट रहेको पाइएको छ ।

स्पार्कटोरोको टुलले अहिले पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको अकाउन्टका डाटा लिन सक्दैन । तर २०१८ को अध्ययनमा यसले उनका ५ करोड ४८ लाख फलोअरमा ६१ प्रतिशत अकाउन्ट फेक रहेको पत्ता लागेको थियो । यसरी २०२१ मा ट्विटरले उनीमाथि प्रतिबन्ध लगाउनु अगाडिसम्म ट्रम्पका फलोअर्सको सङ्ख्या ८ करोड ९० लाख पुगेको थियो ।

ट्विटरसम्बन्धी मस्कका महत्वाकांक्षी योजनाहरू सफल पार्न पक्कैपनि सजिलो हुनेछैन । तर यदि उनले बोट्सको समस्या समाधान गर्न सके भने कम्पनीका लागि यो वास्तवमै उल्लेखनीय सफलता साबित हुने छ ।

टाइमबाट साभार।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्