चुनावको बेलामा कस्ता कुरामा लाइक, कमेन्ट र शेयर गर्नु हुँदैन, एक पटक ध्यान दिएर पढ्नुस् – Janadesh Daily | ePaper

चुनावको बेलामा कस्ता कुरामा लाइक, कमेन्ट र शेयर गर्नु हुँदैन, एक पटक ध्यान दिएर पढ्नुस्


जनादेश वाच।

बैशाख ३० को निर्वाचनका लागि आचारसंहिता कडाई गर्दै लगेको निर्वाचन आयोगले सामाजिक सञ्जालको निगरानी पनि बढाएको छ। निर्वाचनको सन्दर्भमा सामाजिक सञ्जालको प्रयोग गर्दा विभिन्न कुरामा ध्यान पुर्‍याउनुपर्ने जनाएको छ ।

निर्वाचनसँग सम्बिन्धत कुनै समाचार वा सामग्री शीर्षककै आधारमा वा मन परेकै आधारमा लाइक, कमेन्ट र सेयर नगर्न आयोगले अनुरोध गरेको छ । सूचनाको विश्वसनीयता जाँच गर्नुपर्नेमा जोड दिइएको छ ।

निर्वाचनमा प्रभाव पार्ने उद्देश्यले कसैले पनि सामाजिक सञ्जालमा झुटो साइट र एकाउन्ट सञ्चालन नगर्न, निर्वाचनलाई प्रभाव पार्ने उद्देश्यले होच्याउने, अपमान गर्ने, द्वेषपूर्ण अभिव्यक्ति (हेट स्पीच) दिनेलगायत कार्य नगर्न आयोगको आग्रह छ ।

निर्वाचनको सन्दर्भमा सामाजिक सञ्जाल प्रयोग गर्दा ध्यान दिनुपर्ने कुरा-
१. शीर्षककै आधारमा वा मन परेकै आधारमा लाइक, सेयर र कमेन्ट नगरौँ,
२. सूचनाको विश्वसनीयता जाँच गरौँ,
३. निर्वाचनमा प्रभाव पार्ने उद्देश्यले कसैले पनि सामाजिक सञ्जालमा झुटा साइट र एकाउन्ट सञ्चालन नगरौँ,
४. निर्वाचनलाई प्रभाव पार्ने उद्देश्यले होच्याउने, अपमान गर्ने, द्वेषपूर्ण अभिव्यक्ति (हेट स्पीच) दिनेजस्ता कार्य नगरौँ,
५. कुनै प्रयोजनको लागि प्रकाशन वा प्रसारण भएको सूचना वा सामग्रीलाई निर्वाचनमा प्रभाव पार्ने उद्देश्यले तोडमोड गरी गराई सामाजिक सञ्जालमा सेयर वा लाइक वा कमेन्ट नगरौँ,
६. कसैको चरित्र हत्या हुने, व्यक्तिगत लाञ्छना लगाउने, मानहानि हुने वा यस्तै प्रकृतिका सामग्री कुनै स्वरूपमा उत्पादन गर्ने तथा त्यस्ता सामग्री कुनै माध्यमबाट प्रकाशन वा प्रसारण नगरौँ ।

यही वैशाख ३० गते स्थानीय तह निर्वाचन हुँदै छ ।  सामाजिक सञ्जालको नियमन प्रभावकारी बनाउने सन्दर्भमा फेसबुक, ट्विटर, टिकटक, भाइबर र गुगलका कार्यालयसँग सम्पर्क स्थापना र सहकार्यका लागि सामाजिक सञ्जालका तत्तत् कम्पनीका कार्यालयहरू सम्पर्क गर्ने प्रयास गरिएको छ,’ आयोगले भनेको छ, ‘भारतको नयाँदिल्ली, संयुक्त राज्य अमेरिकाको वासिङ्टन डीसी र जनवादी गणतन्त्र चीनको बेइजिङलाई अनुरोध गर्ने र उक्त मुलुकस्थित नेपाली दूतावासहरूले आवश्यक सम्पर्क र सहकार्य स्थापना गर्न नेपाल सरकार परराष्ट्र मन्त्रालय मार्फत् निर्देशन दिइने ।’

आयोगका अनुसार निर्वाचन आचारसंहितामा मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्तिलाई निषेध गरिएका प्रावधानहरूको बारेमा सामाजिक सञ्जालका कार्यालयलाई ती देशमा रहेका नेपाली राजदूतावास मार्फत् जानकारी गराइएको छ।

आयोगले जारी गरेको विज्ञप्तिमा सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले निर्वाचनको स्वच्छता, स्वतन्त्रता र गरिमामा आँच पुग्ने गरी पोस्टहरु गरिरहेको भन्दै त्यस्तो नगर्न चेतावनी जारी गरेको छ । आयोगले उम्मेदवार तथा राजनीतिक दलप्रति लक्षित गर्दै मिथ्या सूचना, दुष्प्रचार, द्वेषपूर्ण अभिव्यक्ति सामाजिक सञ्जालमा पोस्ट भइरहेको पनि जनाएको छ ।

‘गलत, भ्रामक, चरित्र हत्या हुने व्यक्तिगत लाञ्छना लगाउने, मानहानी हुने वा यस्तै प्रकृतिका निर्वाचनलाई प्रत्यक्ष रुपमा प्रभाव पार्ने कुसामग्री सामाजिक सञ्जालमा पोस्ट हुँदा निर्वाचनको स्वच्छता, स्वतन्त्रता र गरिमामा समेत आँच पुग्न सक्ने भएकोले यस्ता प्रकृतिका कार्य कुनै पनि हालतमा नगर्न नगराउन सबैमा आयोगले कडा चेतावनी दिन्छ,’ आयोगले विज्ञप्तिमा उल्लेख गरेको छ ।

यस्तै निर्वाचनको आचारसिंहता २०७८ मा प्रतिकुल हुने गरी पोस्टहरु भएको भन्दै त्यस्तो गरे निर्वाचन कसूर तथा सजाय ऐन र प्रचलित कानुन बमोजिम कारबाही गरिने पनि जनाएको छ ।

त्यसैगरी आयोगले छिमेकी देशका प्रशारण माध्यमबाट पनि निर्वाचनलाई प्रभावित गर्ने विषय प्रशारणमा रोक्न परराष्ट्र मन्त्रालयमार्फत सम्बन्धित देशलाई अनुरोध गर्ने जनाएको छ । ‘स्थानीय तह निर्वाचनलाई प्रभावित पार्ने गरी सीमावर्ती क्षेत्रमा रहेका छिमेकी देशका प्रशारण माध्यमबाट निर्वाचनलाई नकारात्मक प्रभाव पार्ने कुनै सामग्रीहरूको प्रसारण गर्न वा कुनै उम्मेदवार वा राजनीतिक दलको पक्ष वा विपक्षमा कुनै समाचार, टिप्पणी, विचार वा यस्तै प्रकृतिको सामग्री प्रसारण गर्न वा राजनीतिक विज्ञापन हुन नदिन छिमेकी देशको सरकारलाई अनुरोध गरी पठाउन नेपाल सरकार, परराष्ट्र मन्त्रालयलाई निर्देशन दिइएको छ,’ आयोगले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्