शिक्षकमा बाह्र प्रतिशत मात्र उत्तीर्ण-शिक्षण पेसाप्रति घट्दै रुचि – Janadesh Daily | ePaper

शिक्षकमा बाह्र प्रतिशत मात्र उत्तीर्ण-शिक्षण पेसाप्रति घट्दै रुचि


blog

जनादेश, काठमाण्डौं । शिक्षक सेवा आयोगले सञ्चालन गरेको माध्यमिक तह सामान्यतर्फको खुला प्रतियोगितात्मक परीक्षामा १२ प्रतिशत मात्रै परीक्षार्थी उत्तीर्ण भएका छन् । न्यून सङ्ख्यामा परीक्षार्थी उत्तीर्ण भएपछि यस विषयमा विविध कोणबाट प्रतिक्रिया आउन थालेको छ । आयोगले माध्यमिक तहका लागि गत चैत १५ गते १४ विषयको परीक्षा सञ्चालन गरेको थियो । परीक्षाको नतिजा सोमबार साँझ प्रकाशित भएको हो ।

आयोगका अनुसार केही विषयमा माग गरेजति परीक्षार्थी पनि उत्तीर्ण भएका छैनन् । यो परीक्षामा उत्तीर्णले मात्रै दोस्रो चरणको परीक्षामा सहभागी हुन पाउँछन् । कुल सय पूर्णाङ्कमा उत्तीर्ण हुन न्यूनतम ५० प्रतिशत अङ्क ल्याउनैपर्छ । पहिलो चरणमै न्यून परीक्षार्थी उत्तीर्ण भएपछि केहीले परीक्षामा कडाइ भएको हुनाले यस्तो नतिजा आएको र अब विद्यालय तहमा क्षमतावान् शिक्षक आउँछन् भन्ने विश्लेषण गर्नुभएको छ । केहीले भने शिक्षण पेसाप्रति नागरिकको रुचि घट्दै गएको हो कि भन्ने अनुमान पनि गर्नुभएको छ ।

आयोगले यसै पटकदेखि परीक्षाको पाठ्यक्रमसमेत परिवर्तन गरेर पहिलो चरणको परीक्षामा उत्तीर्ण हुनेलाई मात्रै दोस्रो चरणको परीक्षामा सहभागी हुन पाउने नीतिगत व्यवस्था गरेको हो । मुलुकभर माध्यमिक तहका लागि सबै विषयसहित एक हजार ५५२ जना कोटाका लागि आवेदन आह्वान गरेको थियो । परीक्षामा ३२ हजार ९७ जना सहभागी भएका थिए । जसमध्ये तीन हजार ८८८ जना उत्तीर्ण भएका छन् । यो कुल परीक्षार्थीको करिब १२ प्रतिशत मात्रै हो ।

सबैभन्दा थोरै परीक्षार्थी मधेस प्रदेशमा उत्तीर्ण भएका छन् । मधेस प्रदेशमा सबै विषयसहित दुई हजार १५ जना परीक्षार्थी सहभागी भएकोमा १२० जना मात्रै उत्तीर्ण भएका छन् । कर्णाली प्रदेशबाट एक हजार ४७३ जना सहभागी भएकोमा १९१ जना मात्रै उत्तीर्ण भएका छन् । प्रदेश १ बाट आठ हजार ७१ जना सहभागी भएकोमा ९८८ जना मात्रै उत्तीर्ण हुनुभएको छ ।

आयोगका अध्यक्ष मधु रेग्मीले विश्वविद्यालयबाट गुणस्तरीय जनशक्ति उत्पादन हुन नसक्दा यस्तो नतिजा आएको हुन सक्ने बताउनुभयो । शिक्षा मन्त्रालयका पूर्वसचिवसमेत रहनुभएका रेग्मीले– “पहिलो कुरा त समाजमा शिक्षक बन्नु भनेको सजिलो पेसा हो भन्ने गलत बुझाइ छ । दोस्रो कुरा अहिले शिक्षक पेसामा प्रतिस्पर्धा गर्न चाहनेहरू बजारमा धेरै पहिले शिक्षण लाइसेन्स लिएकाहरू हुनुहुन्छ । समयअनुसार परिवर्तन हुन सक्नुभएन, जसको प्रभाव अहिलेको परीक्षामा प¥यो ।”

आयोगले २०७६ सालमा माध्यमिक तहको शिक्षण अनुमतिपत्र (लाइसेन्स)को परीक्षाको नतिजा सार्वजनिक गर्दा पनि पाँच प्रतिशत मात्रै उत्तीर्ण भएका थिए । अहिलेको परीक्षामा सहभागीहरूमध्ये २०७६ सालअघि नै लाइसेन्स लिएर बसेकाहरूको सङ्ख्या ठूलो थियो । रेग्मीले भन्नुभयो, “धेरै वर्षअघि लाइसेन्स लिएर बसेकालाई अहिले मात्रै परीक्षामा बस्दा विषयगत रूपमा ज्ञानको अभाव हुनु स्वभाविक हो । त्यसको प्रभाव परीक्षाको नतिजामा प¥यो ।”

शिक्षाविद् प्राध्यापक डा. बालचन्द्र लुइँटेलले समाजमा पठन संस्कृतिको अभाव हुँदा शिक्षक पेसामा लाग्न चाहनेको नतिजा न्यून आएको बताउनुभयो । उहाँले भन्नुभयो, “समाजमा अहिलेको पुस्ताको सबैभन्दा ठूलो समस्या अध्ययन अनुसन्धानतर्फ रुचि नहुनु रहेको छ । यसको असर जताततै देखिन थालेको छ । यसमा सुधारको खाँचो छ ।”

काठमाडौँ विश्वविद्यालय स्कुल अफ एजुकेसनको डिनसमेत रहनुभएका लुइँटेलले विश्वविद्यालयमा हुने पढाइको शैली र शिक्षक सेवा आयोगले सञ्चालन गर्ने परीक्षाको संरचनासमेत वैज्ञानिक नभएकाले पनि नतिजा न्यून आएको बताउनुभयो ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्