भाग्यले जितेका यी पालिका प्रतिनिधिः जसले १ मतको अन्तरले प्रतिस्पर्धीलाई पराजित गरे – Janadesh Daily | ePaper

भाग्यले जितेका यी पालिका प्रतिनिधिः जसले १ मतको अन्तरले प्रतिस्पर्धीलाई पराजित गरे


जनादेश वाच।
देशभर स्थानीय तहको मतपरिणाम आइरहेको छ। जसअनुसार विभिन्न पालिका तथा वडामा कसैले विजयी सुरुवात गरे त कसैले जित निकाल्ने तयारी गरिरहेका छन्। यसरी विजेता हुनेमा लोकप्रिय मत ल्याउनेदेखि गोलाबाट बराबरी हुनेसम्म भेटिएका छन्। कतिपय ठाउँमा त ज्यादै झिनो मतले पनि हार र जित निर्धारण गरिरहेको छ। तर, सबैभन्दा रोचक चाहिँ एक मतको अन्तरले भइरहेको हारजित नै हो।

गुल्मी कालीगण्डकी गाउँपालिका वडा नम्बर २ मा कांग्रेसका उम्मेदवार रेशमराज न्यौपानेले एक मतले अबिरजात्रा गर्ने अवसर पाए। मतगणना देखी नै प्रतिद्न्द्वीसँग कडा प्रतिस्पर्धा गरिरहेका न्यौपानेले एक मत बढी ल्याएर जित निकालेका हुन्। न्यौपानेले ७ सय ५६ मत ल्याए। उनलाई पछ्याइरहेका एमालेका शोभाकर न्यौपानेले ७ सय ५५ मत ल्याए।

त्यस्तै, अर्घाखाँचीमा पनि वडा अध्यक्षमा एमालेका उम्मेद्वार १ मत बढी ल्याएर जित निकालेका छन्। मालीरानी गाउँपालिका ६ हंसपुरको वडा अध्यक्षमा एमालेका नारायणप्रसाद अर्यालले १ मत धेरै ल्याएर जितको उत्सव मनाउने अवसर पाएका हुन्। नारायणप्रसाद अर्यालले ८ सय ४९ मत ल्याएका थिए। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका उम्मदवार उदयबहादुर पुनले ८ सय ४८ मत ल्याएका हुन्। उनीहरु दुवैजना सुरुको मतगणना देखी नै बराबर झै देखिएका थिए। मत गणना सकिँदा पनि बराबर भयो। त्यसपछि फेरि मतगणना भएको थियो। त्यसपछि थाहा भयो अर्यालको एक मत बढी रहेछ।

‘यस्तो अवस्थामा अलिकति प्रेसर हुनेगर्छ। उम्मेद्वारमा शंकाको ठाउँ बढी हुन्छ। तर पनि एक मत वा जति भए पनि हारजित एउटै हुन्छ,’ अर्घाखाँची मिरानी गाउँपालिका खटिएका निर्वाचन अधिकृत यमकान्त पाण्डेयले बताए।

मतगणना गर्दा राजनितिक दलका प्रतिनिधिलाई सहमति नगराइ कुनै पनि निर्णय लिन मिल्दैन। प्रतिनिधिकै सहमतिमा गणना अगाडि बढ्ने गर्छ। त्यसो त एक मतमात्र होइन, मत बाराबर पनि आउने गरेको छ। अहिले भएको मतगणनामा विभिन्न ठाउँमा समान मत आएर गोलाप्रथाबाट उम्मेदवार छनौट भएका छन्। स्थानीय तह निर्वाचन (मतगणना) निर्देशिकाको नियम ३७ मा मत बराबर भए गोला प्रथाबाट विजयी घोषणा गर्ने व्यवस्था छ।

 रुपन्देहीको शुद्धोधन गाउँपालिकाको वडा नम्बर १ मा पनि वडाध्यक्ष एक मतले विजयी भएका छन्। जनता समाजवादी पार्टी नेपालका तर्फबाट उम्मेदवारी दिएका उदयराज गडेरियाले १ मत बढी ल्याएर जित निकालेका छन्। उनले ९ सय ९२ मत ल्याए। त्यस्तै उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका जंगबहादुर यादवले ९ सय ९१ मत ल्याए

मधेश प्रदेशको सर्लाही हरिवन नगरपालिकाको वडा नम्बर ७ मा पनि वडाध्यक्ष १ मतले जित निकाल्न सफल भए। नेकपा एमालेका निरध्वज कार्कीले ३ सय ७९ मत ल्याएर अबिर दल्ने अवसर जुटाए। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका टीकाजंग थापाले ३ सय ७८ मत ल्याए। एक मतले कार्की विजयी भएपछि नेपाली कांग्रेसका कार्यकर्ताहरुले सडकमा चक्काजाम गरेर पुनः मतगणना गर्न माग गरेका थिए।

काभ्रेका ३ फरक पालिकाको वडा नम्बर १ मा एकै मतको जितको अनौठो संगम

काभ्रेको तेमाल गाउँपालिका वडा नम्बर १ मा एमालेका इन्द्रकुमार अधिकारी एक मतले विजयी भए। कांग्रेसका कुलदास तामाङले ५ सय ३० मत प्राप्त गर्दा अधिकारीले ५ सय ३१ मत ल्याएका थिए। उक्त वडामा दुई पटक मतगणना भएको थियो। काभ्रेकै खानीखोला गाउँपालिका वडा नम्बर १ मा पनि एक मत अन्तरले हारजित भयो। माओवादीका सन्तमान थिङले ५ सय ४८ मत ल्याएर जित निकाल्दा एमालेका आसराम गोलेले ५ सय ४७ मतमात्र ल्याएर पछि परे।

काभ्रेकै चौरी देउराली गाउँपालिकाको वडा नम्बर १ मा पनि १ मतले वडा अध्यक्षको छिनोफानो भएको छ। नेपाली कांग्रेसका उम्मेदवार सुशील लामाले एक मतले जित आफ्नो कब्जामा पारे। उनले ४ सय २ मत ल्याए। उनका प्रतिद्वन्द्वी माओवादी केन्द्रका उम्मेद्वार राजु आले तामाङले ४ सय १ मत ल्याएर जितको मुखैमा पराजय भोगे।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्