नेपालीलाई निराश बनाउने समाचारः इन्धनको मूल्य घटाउने भनिएको बेला भारतले बढाएर पठायो – Janadesh Daily | ePaper

नेपालीलाई निराश बनाउने समाचारः इन्धनको मूल्य घटाउने भनिएको बेला भारतले बढाएर पठायो


जनादेश वाच।

सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाउने तयारी गरिरहेका बेला भारतीय आयल कर्पोरेसन (आइओसी)ले पुनः मूल्य बढाएर पठाएको छ। भारतले मूल्य बढाएर जुन १ (आज) नयाँ मूल्यसूची पठाएको नेपाल आयल निगमले जानकारी दिएको हो।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय स्रोतका अनुसार पेट्रोलियम पदार्थमा लाग्दै आएको पूर्वाधार कर हटाएर मूल्य घटाउने तयारी भइरहेका थियो। नेपालमा बिक्री हुने एक लिटर पेट्रोलियम पदार्थमा ५ रुपैयाँ पूर्वाधार कर लाग्दै आएको छ। उक्त कर हटाएपछि प्रतिलिटर ५ रुपैयाँ मूल्य घटाउने तयारी गरेको थियो। भारतले नयाँ मूल्यसूची पठाएपछि के गर्ने भन्ने विषयमा मन्त्रालयले छलफल गर्न नै नपाएको स्रोतको भनाइ छ।

पछिल्लो मूल्यसूचीअनुसार नेपाल आयल निगमलाई थप भार पर्ने निगमको भनाइ छ। भारतले पठाएको सूचीअनुसार अब एक लिटर पेट्रोलमा निगमलाई २२ रुपैयाँ ९३ पैसा घाटा हुनेछ। नेपाली बजारमा एक लिटर पेट्रोलको मूल्य १८० रुपैयाँ प्रतिलिटर छ। भारतले पठाएको नयाँ सूचीअनुसार एक लिटर पेट्रोलको लागत मूल्य २०२ रुपैयाँ ९३ पैसा हुन आउने निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख गरेको छ।

यस्तै डिजेलमा १९ रुपैयाँ ७३ पैसा घाटा हुने र एक सिलिन्डर ग्यासमा ७५१ रुपैयाँ १४ पैसा घाटा हुने निगमको दाबी छ। हवाइ इन्धर र मट्टितेलमा भने केही नाफा रहेको निगमको भनाइ छ।

हालको मूल्यअनुसार निगमलाई १५ दिनमा ३ अर्ब ७ करोड ६७ लाख रुपैयाँ घाटा हुने निगमले जनाएको छ। चालु आवको पहिलो १० महिनामा निगमलाई ४७ अर्ब नोक्सानी भएको उल्लेख गरिएको छ।

 

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्