काठमाडौंमा हैजाको जोखिमः सरकारको सूचना- खानपिन र सरसफाइमा विशेष ध्यान दिनू – Janadesh Daily | ePaper

काठमाडौंमा हैजाको जोखिमः सरकारको सूचना- खानपिन र सरसफाइमा विशेष ध्यान दिनू


जनादेश हेल्थ डेस्क।

हैजा तथा पानी जन्य रोगहरूको प्रकोप बढ्दै गएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबैलाई खानपिन र सरसफाइमा विशेष ध्यान दिन आग्रह गरेको छ।

काठमाडौंमा एकै परिवारका २ जनामा हैजा रोगको पुष्टि भएपछि मन्त्रालयले विज्ञप्ति जारी गर्दै वर्षा याममा पानीजन्य रोगबाट बच्न पानीलाई उमालेर खान र सरसफाइमा ध्यान दिन सुझाएको हो।

गर्मी तथा वर्षायाममा विशेष गरी झाडापखालाका, हैजा तथा पानी जन्य रोगहरू फैलने हुँदा पानीलाई उमालेर वा क्लोरिन प्रयोग गरेर मात्र पिउनुपर्ने मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले बताए।

त्यस्तै व्यक्तिगत सरसफाई विशेष गरी (हातको सरसफाइ) तथा खानेकुराको सरसफाइ गर्ने, दिशापिसाब गरेपछि राम्ररी हात धुनसमेत उनले अनुरोध गरे।

काठमाडौं महानगरपालिका बागबजार वडा नं २८ मा बसोबास गर्दै आएका एकै परिवारका दुवै बिरामीको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुमा उपचार भइरहेको छ। १८ र २३ वर्षका उनीहरू झाडापखालाको लक्षण देखिएर असार २ गते टेकु अस्पताल भर्ना भएका थिए।

शुक्रराज अस्पताल, टेकुको आकस्मिक कक्षमा झाडापखालाका बिरामी बढ्दो छ । आइतबार मात्र झाडापखालाका १० जना बिरामी भर्ना भएका थिए भने सोमबार पनि ७–८ जना नयाँ बिरामी आएका छन् । बिहीबार एकै दिन २२ जना झाडापखालाका बिरामी अस्पताल पुगेका थिए । दैनिक ८–९ जना झाडापखालाका बिरामी आउने गरेको अस्पतालका सूचना अधिकारी नवराज गौतमले जानकारी दिए ।

अस्पतालको आईसीयू कक्ष बाहिर जनस्वास्थ्य कार्यालय, काठमाडौंका कर्मचारीले एक युवकलाई सोधखोज गर्दै थिए, जो २ जेठमा हैजा रोग पुष्टि भएर भर्ना भएका बिरामीका आफन्त हुन् । बागबजारका दुई दिदी बहिनीमा हैजा पुष्टि भएसँगै जिल्ला जनस्वास्थ्य कार्यालय संक्रमणको स्रोत पहिचानमा जुटेको छ ।

बागबजारका १८ र २३ वर्षीया महिला दुई जना दाजुसँगै बस्दै आएका थिए । बिरामीका दाइका अनुसार बिरामी दिदी बहिनी कमलपोखरीमा फर्निचर पसलमा काम गर्छन् । उनीहरू दुवै जनाले गत बुधबार चटपटे खाएका थिए । त्यसपछि उनीहरूमा झाडापखाला सुरु भएको थियो ।

सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन भने काठमाडौं हैजा देखिसकेकाले आउटब्रेक हुने जोखिम देख्छन् । ‘काठमाडौंमा हैजाको प्रवेश भइसक्यो । यो विस्तारै फैलँदैछ । किनकी त्यहीँको पानी वा खाद्यान्न अरूले पनि खाएका होलान्,’ शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डा. पुन भन्छन्, ‘अन्य संक्रमणका कारणले पनि झाडापखालाभन्दा हैजाका कारण बढी बिरामी अस्पताल पुग्छन् ।’

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्