वामदेवको पार्टी बहुपदीय प्रणालीमा जाने, सात प्रदेशमा सात उपाध्यक्ष वामदेव गौतमको संयोजकत्वमा गठित नेकपा एकता राष्ट्रिय एकता अभियान पार्टी बहुपदीय प्रणालीमा जाने भएको छ ।
मंगलबार पार्टीको घोषणा गर्दै संयोजक गौतमले आफ्नो दल बहुपदीय प्रणालीमा जाने बताएका हुन् । गौतमका अनुसार प्रत्येक प्रदेशमा इन्चार्जको जिम्मेवारी बहन गर्ने गरी सात उपाध्यक्षको व्यवस्था गरिएको छ । पार्टीमा एक अध्यक्ष, प्रत्येक प्रदेशमा इन्चार्जको जिम्मेवारी बहन गर्नेगरी ७ उपाध्यक्ष, संगठनात्मक कामको मुख्य जिम्मेवारी पूरा गर्ने गरी एक महासचिव, एक उपमहासचिव, एक कोषाध्यक्ष र एक सचिव रहने गौतमले जानकारी दिए । तर, एकीकरणको भूमिका निर्वाह गर्दासम्म भने पार्टीका सम्पूर्ण ढाँचा समन्वय समितिका रूपमा रहनेछन् ।
हाल हरेक कमिटीका प्रमुख पदमा संयोजक र सचिवको मात्रै व्यवस्था गरिने उनले बताए । सचिवालयले पार्टीको आन्तरिक कार्यक्रम अन्तर्गत विधानसम्मत रूपमा आवश्यक संख्यामा विभाग, आयोग र जनवर्गीय संगठन, सामुदायिक संगठन र पेसागत संगठन निर्माण गर्ने पनि उनले बताए । नेकपा एकता राष्ट्रिय अभियान दलले अन्य पार्टीसँग एकताको सम्वादका लागि संयोजक गौतमकै संयोजकत्वमा सचिवालयका सदस्यहरू सम्मिलित वार्ता टोली छिट्टै बनाउने पनि भएको छ ।