शिव सेनाको रगत बगेको हेर्न नसक्ने भन्दै महाराष्ट्रका मुख्यमन्त्रीको राजीनामा – Janadesh Daily | ePaper

शिव सेनाको रगत बगेको हेर्न नसक्ने भन्दै महाराष्ट्रका मुख्यमन्त्रीको राजीनामा


जनादेश अन्तर्राष्ट्रिय अपडेट।

भारतको महाराष्ट्रका मुख्यमन्त्री उद्धव ठाकरेले पदबाट राजीनामा दिएका छन्। बुधवार राति सर्वोच्च अदालतले बिहीवार विधानसभामा बहुमत परीक्षणका लागि फ्लोर टेस्ट गर्न फैसला सुनाएपछि उनले राजीनामा दिएका हुन्। मराठीमा सम्बोधन गर्दै उनले आफूले महाराष्ट्रमा कुनै रक्तपात नचाहेको भन्दै पद त्याग गरेको बताएका हुन्।

सत्तारुढ शिवसेनामा एकनाथ सिंधेले विद्रोह गरेपछि महाराष्ट्रका राज्यपालले जुन ३० मा विधानसभामा फ्लोर टेस्टका लागि निर्देशन दिइएको थियो। त्यसविरुद्ध उद्धव सरकार सर्वोच्च अदालत पुगेको थियो। बुधवार राति ९: १५ बजे भारतको सर्वोच्च अदालतले बिहीवारको लागि तय भएको बहुमत परीक्षणको कार्यलाई निरन्तरता दिने फैसला सुनाएको हो। बुधवार दिनभर सर्वोच्चमा महाराष्ट्रमा भएको राजनीतिक उथलपुथलबारे बहस भएको थियो।

भारतीय राष्ट्रिय कांग्रेस, राष्ट्रवादी कांग्रेस पार्टीसँग शिवसेनाले महा विकास अघाडी गठबन्धन गरेको थियो। तर, गठबन्धनबाट हट्नुपर्ने भन्दै शिंदेले विद्रोह गरेपछि उद्धव आफ्नै दलमा अल्पमतमा परेका हुन्।

उद्धवले राजीनामाको घोषणा गर्दै गठबन्धनका नेता भारतीय राष्ट्रीय कांग्रेसकी अध्यक्ष सोनिया गान्धी र राष्ट्रवादी कांग्रेसका शरद पवारलाई धन्यवाद दिएका छन्। उनले बागी विधायकले ठाकरे परिवारलाई बिसेको भन्दै प्रश्न गरे, ‘हिन्दुत्व छोड्यो भनेर आरोप लगाइयो। तर असाम गएर हुन्छ ? मसँग कुरा गर्न आउनुपर्छ नि। मेरो अघि आउनुपर्छ। बागीहरु के कारणले नाराज छन् ?’

२८८ सदस्य भएको महराष्ट्र विधानसभामा शिवसेनाबाट ५५ जना, एनसीपीबाट ५३ जना, कांग्रेसबाट ४४ जना र भारतीय जनता पार्टीबाट १०६ जना विधायक छन्। बहुमत विधायक शिंदेका साथमा छन्। गठबन्धनले शिंदेलाई नै मुख्यमन्त्री बनाउन गठबन्धनले ठाकरेलाई सुझाव समेत दिएको थियो। तर, शिंदेले सो प्रस्ताव अस्वीकृत गरेका थिए। शिंदेलाई भारतीय जनता पार्टीको समर्थन छ। उनी आफ्नो बागी विधायकसँग भाजपा शासित असाममा बस्दै आएका थिए। मुम्बईमा आएर कुराकानी गर्न गरिएको आग्रह उनीहरुले अस्वीकार गरेका थिए।

बिहीवार हुने फ्लोर टेस्टका लागि बागी विधायकहरु मुम्बई आउने तयारीमा छन्। सम्भावित परिस्थितिलाई मध्यनजर गर्दै महाराष्ट्रको सुरक्षा व्यवस्था कडा पारिएको छ। बागीहरुसँग शिव सैनिकहरु आक्रोशित छन्। उद्धवले केन्द्रको नरेन्द्र मोदी सरकारले महाराष्ट्रमा शिव सैनिकहरुको रगत बगाउन खोजेको आरोप समेत लगाएका छन्।

‘केन्द्र सरकारले सुरक्षा व्यवस्था भन्दै सुरक्षाकर्मी मुम्बई पठाएका छन्। के शिव सैनिकको रगतले मुम्बईलाई रातो बनाउन खोजेको हो ? फ्लोर टेस्ट सँग मलाई मतलब छैन। को सँग कति जान छ मलाई मतलब छैन। तपाईंहरु जो सँग जानु हुन्छ उनीहरुले बहुमत ल्याउँलान्। जसलाई शिव सेनाले बनायो, बालासाहेवका छोरालाई उनीहरुले तल झारे।तपाईंहरुलाई ठूलो बनाउनु मेरो पाप हो,’ उद्धवले राजीनामा दिँदै भने, ‘मुख्यमन्त्री पदको त्याग गर्छु। शिव सैनिकको रगत बगेको हेर्न म चाहन्न। म मुख्यमन्त्रीको कुर्सी छाड्छु।’

भाजपाको शासन नभएको राज्यहरुमा सत्ता परिवर्तनको खेल यसअघि पनि हुँदै आएको छ। विपक्षीहरुले भने भाजपा विधायक किनबेचमा लागिरहेको आरोप लगाउँदै आएका छन्।

 

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्