काठमाडौंमा बढ्दै हैजाका बिरामी, अहिलेसम्म कहाँ कहाँ भेटिए – Janadesh Daily | ePaper

काठमाडौंमा बढ्दै हैजाका बिरामी, अहिलेसम्म कहाँ कहाँ भेटिए


जनादेश हेल्थडेस्क।

काठमाडौं उपत्यकामा हैजाको संक्रमण दिनप्रतिदिन बढेको छ। संक्रमितको संख्या १४ पुगेको इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ।

महाशाखाका निर्देशक डा. चुमनलाल दासले १४ जनामा हैजा देखिएको र उनीहरू उपचारपछि घर फर्किएको जानकारी दिए।

हैजाका दुई जना बिरामीको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार भइरहेको छ। उनीहरूको अवस्था सामान्य छ। हैजाका पहिलो बिरामीको अवस्था अत्यन्त जटिल देखिएपछि सघन उपचार कक्ष (आइसीयू)मा राखेर उपचार गरिएको उनले जानकारी दिए।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपत्यकामा हैजाका बिरामी बढेसँगै सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ। मन्त्रालयले गर्मी तथा वर्षायाम सुरु भएसँगै हैजा, झाडापखालाजस्ता रोग फैलिरहेकाले सावधानी अपनाउन आग्रह गरेको हो।

मन्त्रालयले खानेपानी, खाद्य पदार्थको गुणस्तर र सरसफाइमा ध्यान दिन आग्रह गरेको छ। मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले हैजाको प्रकोप बढेकाले सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह गरिएको बताए। काठमाडौं महानगरपालिकाले हैजा रोकथाम अभियान अन्तर्गत काठमाडौंका सडकमा खानेकुरा बिक्री गर्न प्रतिबन्ध लगाएको छ।

यही असार २ गते शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा भर्ना भएका बागबजारका दुई जनामा ५ गते हैजा पुष्टि भएको थियो। दैनिक हैजाका बिरामी भेटिन थालेपछि सरकारले अस्पतालहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ।

 

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्