बाबुराम र उपेन्द्रबीच सम्बन्धविच्छेदको सहमति, बाबुराम अब के गर्लान् ! – Janadesh Daily | ePaper

बाबुराम र उपेन्द्रबीच सम्बन्धविच्छेदको सहमति, बाबुराम अब के गर्लान् !


लामो समयदेखि आन्तरिक किचलोमा अलमलिएको जनता समाजवादी पार्टी (जसपा) औपचारिक रूपमै विभाजन हुने भएको छ । संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई र कार्यकारिणी समिति अध्यक्ष उपेन्द्र यादवबीच सौहार्दपूर्ण रूपमै अलग हुने सहमति भएको हो ।

संघीय परिषद् अध्यक्षले पूर्ववर्ती नयाँ शक्ति पार्टीका नेतारकार्यकर्ता जसपामा समायोजन हुन नसकेकाले सौहार्दपूर्ण रूपमा छुट्टिने प्रस्ताव राखेकोमा आफूले सहमति जनाएको यादवले बताए । सहमतिअनुसार, अब भट्टराईले अलग्गै पार्टी खोल्नेछन् । जसपाका नेता कार्यकर्ता र सांसदलाई पार्टी छान्न दिनुपर्ने प्रस्ताव भट्टराईको छ ।

‘नेता र सांसद को कता जाने भन्ने टुंगो लागिसकेको छैन । त्यो पनि सहमतिमै हुन्छ’, यादवले भने, ‘नेपालको राजनीतिमा यो नयाँ प्रयोग हुनेछ । अलग हुनासाथ गालीगलौज गर्नुपर्ने, पानी बाराबार गर्नुपर्ने मान्यतालाई यसले तोड्छ ।’

भट्टराई र यादव अलग भए पनि वैचारिक र राजनीतिक रूपमा भने कार्यगत एकता कायम रहने यादवले बताएका छन् । ‘डा’साबले नयाँ शक्तिका साथीहरू एड्जस्ट हुन सकेनन् भन्नुभयो । त्यसैले हामी पार्टी मात्र अलग हुने हो’, यादवले भने, ‘हामीबीच कुनै तिक्तता छैन । कार्यगत एकता, मित्रता र आपसी सहमतिमै अघि बढ्छौं ।’

बुधबार सिंहदरबारस्थित जसपा संसदीय दलको कार्यालयमा यादव र भट्टराईबीच पार्टी विवाद समाधानका विषयमा छलफल भएको थियो। उक्त छलफलमा भट्टराईले आफूहरूको विचार र सिद्धान्त मिल्ने भए पनि कार्यकर्ताहरू अन्तरघुलित हुन नसकेकाले सहमतिकै आधारमा छुट्टिने प्रस्ताव यादवलाई राखेका थिए।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्