देउवासँग एक एक हिसाव माग्ने कोइराला पक्षको रणनीतिः केन्द्रीय समितिमा पनि विद्रोहको तयारी – Janadesh Daily | ePaper

देउवासँग एक एक हिसाव माग्ने कोइराला पक्षको रणनीतिः केन्द्रीय समितिमा पनि विद्रोहको तयारी


जनादेश वाच।
पार्टी सभापतिसँग असन्तुष्ट बनेको नेपाली कांग्रेसको शेखर कोइराला समूहले विभिन्न रणनीति बनाउने तयारी स्वरुप छलफल गरेको छ। सभापति शेरबहादुर देउवा एकलौटी ढंगले अगाडी बढेको निष्कर्ष सहितको आरोप लगाउँदै शुक्रबार पनि छलफल गर्ने गरी बिहीबारको बैठक टुंग्याएको छ।


बैठकमा देउवाको पार्टी सञ्चालन र सरकार सञ्चालनबारे समीक्षा भएको छ। मुलुकमा भ्रष्टाचार,अनियमितता र आन्तरिक राजनीतिमा बाह्य हस्तक्षेप भएको यो पक्षको बुझाइ छ।

नेताहरुले यसलाई चिरेर अघि बढ्न देउवालाई सुझाव दिएका छन्। स्थानीय तहको निर्वाचनमा कतिपय स्थानमा पार्टीको निर्णय विपरित पनि गठबन्धन भएको भन्दै आगामी संघ र प्रदेशको निर्वाचनमा यसै गरी जाँदा जित हुने सीट संख्या खुम्चिने हो की भन्ने भेलामा आशंका भएको सहभागी एक नेताले बताए।

उनले भने–गुटमा भएको छलफलले पार्टी विधान सम्मत ढंगले नचलेको तथा भ्रातृ संगठन लथालिङग पारेको भन्दै तत्काल अधिवेशन गराउन नेतृत्वलाई ध्यानाकर्षण गराउने तयारी भएको छ । कोइराला निकट मानिने पार्टीका केन्द्रीय सदस्य, पार्टीको तर्फबाट मन्त्री बनेका यो पक्ष निकट मानिने नेता देखि युवा पुस्ताका नेताहरुको समेत सहभागीता रहेको बैठकमा नेतृत्वलाई जवाफदेहि बनाउन खवरदारी गर्ने तयारी पनि गरेका छन्।

सरकारले निलम्बन गरेको नेपाल राष्ट्र बैंकको गर्भनरको मुद्धालाई सर्वोच्च अदालतले खारेज गरेपछि सरकारलाई परेको अप्ठेरो र यसबाट प्राप्त सन्देशको जवाफ पनि गुट भेलाले माग्न खोजेको छ। सरकारले गत चैत २५ गते राष्ट्र बैँकका गर्भनर महाप्रसाद अधिकारीलाई गर्भनर पदबाट निलम्बन गरेको थियो। सर्वोच्च अदालतले गर्भनर अधिकारीमाथि छानबिन नगर्न अन्तरिम आदेशपछि उनि काममा फर्किएका छन्।

बैठकमा अर्थमन्त्री जर्नादन शर्माको कार्यशैलीको बिषयमा पनि प्रश्न उठेको थियो। शर्माले बजेट निर्माणको अन्तिम दिन अर्थमन्त्रालयमा अनधिकृत व्यक्तिलाई प्रवेश गराई राजश्वका दर हेरफेर गरेको खुलासा भएको छ। विवादमा तानिएका मन्त्रीलाई सरकारबाट नहटाएको भन्दै देउवाको आलोचना भएको हो। कांग्रेस हेर्दा एकै दल भएपनि उप उपगुटहरु भएका कारण यसलाई एक बनाउन विभिन्न शक्तिबाट प्रयास भएको भन्दै आगामी चुनावमा कांग्रेसको हैसियत कस्तो बनाउने भन्ने प्रश्नहरु प्नी-बैठकमा उठेका छन्।

देउवाले बैठक नबोलाएको भन्दै शेखर कोइराला समूहले छुट्टै गुट भेला आह्वान गरेकै दिन केन्द्रीय समितिको बैठक आह्वान गरेका छन्। स्थानीय तहको निर्वाचनपछि पहिलो पटक केन्द्रीय समितिको बैठक बस्न लागेको हो। यही असार २७ गतेका लागि बोलाइएको बैठकमा स्थानीय तह निर्वाचन २०७९को समीक्षा हुने कांग्रेसले जनाएको छ।

केन्द्रीय समितिमा पनि विद्रोहको तयारी
पार्टीमा देउवाले पुरानै प्रवृत्ति दोहोर्‍याउन थालेपछि शेखर समूह अबका दिनमा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफलमा जुटेको हो। १३औं महाधिवेशनबाट देउवा सभापतिमा निर्वाचित भएपछि कांग्रेसको विधान पालना डामाडोल भएको थियो। देउवाले विधान पालना नगरेको, भ्रातृ संगठन अस्तव्यस्त पारेको आरोप उनीइतरको पक्षले आरोप लगाएको थियो। यही नारालाई बुलन्द बनाएर १४ औं महाधिवेशनमा देउवालाई कमजोर बनाउन खोजिए पनि उनीइतरका नेताहरु तितरवितर बने र देउवा पुनः सभापतिमा निर्वाचित भए।

सत्ता गठबन्धनको नेतृत्व गर्दै प्रधानमन्त्रीसमेत बनेका देउवा गत मंसिरमा सम्पन्न महाधिवेशनबाट सभापतिमा दोस्रो कार्यकालका लागि निर्वाचित भए। तर देउवाले कांग्रेस केन्द्रीय समितिलाई अझै पूर्णता दिन सकेका छैनन्। कोषाध्यक्ष मनोनीत कहिले गर्ने टुंगो लागेको छैन। ३३ जना केन्द्रीय सदस्य मनोनीत गर्नुपर्नेमा १३ जनामात्र मनोनीत गरेका छन्।

तरुण दल र नेविसंघको महाधिवेशनको टुंगो लागेको छैन। भ्रातृ संगठनहरु तदर्थवादमा सञ्चालन हुँदै आएको छ। हाल देउवाले तरुण दलको अध्यक्षमा विद्वान गुरुङ र नेविसंघको अध्यक्षमा दुजाङ शेर्पालाई चयन गरेका छन्। यता आदिवासी जनजाति महासंघमा हालै ओमबहादुर घर्तीमगर र किसान संघको अध्यक्षमा गणेश तिमल्सिनालाई हालै नियुक्त गरेका छन्।

शेखर समूहले बैठक राखेको दिन देउवाले केन्द्रीय समितिको बैठक डाकेका छन्। कांग्रेसको केन्द्रीय समितिको बैठक असार २७ गतेका लागि तोकिएको छ। बैठकमा हालै सम्पन्न स्थानीय निर्वाचनबारे समीक्षा हुने एजेन्डा तय भएको छ। करिब २ घण्टा चलेको छलफलमा डा.शेखर पक्षधर नेताहरुले प्रधानमन्त्री एवं पार्टी सभापति देउवालाई आगामी केन्द्रीय समिति बैठकमार्फत रचनात्मक दबाब दिने निष्कर्ष निकालेको छ। देउवासँग रचनात्मक विद्रोह गरिने नेताहरूले बताए।

 

 

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्