नेपालमा फेरि बढ्यो कोरोना, नयाँ भेरियन्टबारे अध्ययन हुँदै – Janadesh Daily | ePaper

नेपालमा फेरि बढ्यो कोरोना, नयाँ भेरियन्टबारे अध्ययन हुँदै


जनादेश अपडेट।

पछिल्ला दिनमा कोरोना भाइरस संक्रमणको ग्राफ उकालो लागेको छ । भारतमा संक्रमण बढ्नु तथा नेपालमा नै संक्रमण छैन जस्तो गरी स्वास्थ्यका मापदण्ड पालना नगर्नुजस्ता कारणले संक्रमण बढेको पाइएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले भारतमा संक्रमण बढेसँगै नेपालमा पनि संक्रमण बढेको बताए ।

उनका अनुसार ०.५ प्रतिशतसम्म झरेको संक्रमणको दर अहिले ६ प्रतिशत पुगेको छ । ‘भारतमा जुन हिसाबले संक्रमण बढेको थियो । सोहीअनुसार नेपालमा अहिले संक्रमण धेरै नै बढेको हुनुपर्ने हो’, उनले भने, ‘तर नेपालमा भारतमा बढेको जस्तो भने बढेको छैन ।’

नेपालमा कोरोना भाइरसको संक्रमण सबैभन्दा कम चार जनामा देखिएको थियो । संक्रमण बढ्दा सक्रिय संक्रमित पनि बढिरहेका छन् । अहिले २९७ जना सक्रिय संक्रमित रहेका छन् । असार १ गते तीन हजार ९०५ जनामा परीक्षण गराउँदा २५ जनामा संक्रमण भएकामा असार १७ गते दुई हजार ८१४ जनामा परीक्षण गर्दा दोब्बरमा संक्रमण देखिएको छ । असार १७ गते ५० जनामा संक्रमण देखिएको छ ।

असार १६ गते ५५ जना, असार १५ गते ६२ जना, असार असार १४ गते ४४ जना, असार १३ गते ४१ जना, असार १२ गते २९ जना र असार ११ गते २७ जना संक्रमित रहेका छन् । अहिले २९१ जन होम आइसोलेशन, छ जना संस्थागत आइसोलेशन र तीन जना सघन उपचार कक्ष (आईसीयू)मा रहेका छन् ।

इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा चुमनलाल दासले भारतमा संक्रमण बढेका कारणले नेपालमा पनि बढेको जानकारी दिए । भारतबाट नेपालमा आउने मानिसमा संक्रमण देखिएको उनको भनाइ छ । ‘संक्रमण बढे पनि तर ग्राफमा ठूलो नदेखिएको हो’, उनले भने, ‘तर हामीले जनस्वास्थ्यमा मापदण्ड पालना गर्नुपर्दछ ।’

उनले अहिले देखिएको संक्रमणमा ओमिक्रोन भेरियन्ट (BA4 वा BA5U) प्रजातिको हो वा होइन भन्नेबारेमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा अणु वाङ्शिक (जीन सिक्वेन्सिङ) अध्ययन भइरहेको बताए । ‘अहिले देखिएका संक्रमणमा ओमिक्रोन भेरियन्ट नयाँ हो वा होइन भनेर हामीले जीन सिक्वेन्सिङ गरिरहेका छाैं’, उनले भने, ‘एक दुई दिनमा रिपोर्ट आएपछि थाहा हुन्छ ।’

नेपालमा अहिलेसम्म ओमिक्रोनको BA2 प्रजातिको भेरियन्ट रहेको छ । उनका अनुसार अहिलेका बिरामीमा पहिलेका संक्रमितलाई जस्तै सामान्य लक्षण रहेको छ ।

 

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्