माओवादीको बहुप्रतीक्षित बैठक कमलादीमाः महासचिवमा प्रचण्डको रोजाई को, चयन कहिले ! – Janadesh Daily | ePaper

माओवादीको बहुप्रतीक्षित बैठक कमलादीमाः महासचिवमा प्रचण्डको रोजाई को, चयन कहिले !


जनादेश वाच।

नेकपा (माओवादी केन्द्र)को केन्द्रीय कमिटी बैठक आज बस्दै छ । पार्टी केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालका अनुसार बिहान ११ बजे कमलादीस्थित प्रज्ञा भवनमा बस्नेछ । बैठकमा स्थानीय चुनावको समीक्षा, पार्टीको पदाधिकारी चयन, आगामी चुनावलगायत एजेन्डामाथि छलफल हुने बताइएको छ । यस्तै पदाधिकारी चयन, पोलिटब्युरो र स्थायी समितिको चयन र कार्यविभाजन, आगामी चुनावको तयारीलगायतका विविध विषयमा छलफल हुने नेताहरूले बताएका छन् ।

महाधिवेशन सकिएको लामो समय बितिसक्दा पनि माओवादी केन्द्रले महासचिवसहित पदाधिकारीको टुंगो लगाउन सकेको छैन । महासचिव चयनको किचलो सल्टेकाे छैन । अर्थमन्त्रीसमेत रहेका जनार्दन शर्मा र नेता वर्षमान पुनबीच कसलाई रोज्ने भन्नेमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड द्विविधामा पर्दा माओवादी केन्द्रले अध्यक्षबाहेकका पदाधिकारीसहित स्थायी समिति र पोलिटब्युरो गठन गर्न सकेको छैन ।

विधानअनुसार माओवादीले एक अध्यक्ष, एक महासचिव, एक वरिष्ठ उपाध्यक्ष र ६ उपाध्यक्ष चयन गर्नुपर्नेछ । विधानमा दुई उपमहासचिव, तीन सचिव र एक कोषाध्यक्षको पनि व्यवस्था छ । १८ पुसमा सकिएको महाधिवेशनले अध्यक्षबाहेक अन्य पदाधिकारी चयन गरेकै छैन ।

माओवादी केन्द्रले केन्द्रीय समितिमा पनि ४७ जना मनोनयन गर्न बाँकी नै छ । माओवादीको विधानमा २ सय ९९ सयको १५ प्रतिशत अध्यक्षले मनोनयन गर्न सक्ने अधिकार छ । योसहित माओवादीको केन्द्रीय कमिटीको संख्या ३ सय ४४ सदस्यीय हुनेछ ।

को बन्ला महासचिव !
पछिल्लो समय माओवादी केन्द्रभित्र वर्षमान र जनार्दनले आफूलाई एकार्काका प्रतिस्पर्धी मान्ने गरेका छन् । तल्लो तहसम्म दुवै नेताका गुट भएकाले उनीहरू महासचिवका दाबेदार हुन्। त्यसो त अरू नेताले पनि महासचिवमा इच्छा देखाएका छन् । तर, सक्रियताका हिसाबले वर्षमान र जनार्दन नै महासचिवका बलिया दाबेदार हुन् ।

वर्षमान र जनार्दनको पृष्ठभूमि
महासचिवका दुवै आकांक्षी पुन र शर्मा माओवादीले सञ्चालन गरेको युद्धका दुई कमान्डर हुन् । युद्धकालमा जनार्दनभन्दा वर्षमान नै प्रचण्डका विश्वासपात्र थिए । हक्की स्वभावका शर्मा पार्टीभित्र आफूलाई चित्त नबुझेको कुरा राख्न सक्ने नेता मानिन्छन् भने वर्षमान कूटनीतिक नेताका रूपमा चिनिन्छन् । प्रचण्डसँगको युद्धकालदेखिको विशेष सम्बन्धका कारण वर्षमानले महासचिवमा बाजी मार्ने कतिपयको आकलन छ । तर, प्रचण्डले कसलाई समर्थन गर्छन् खुलिसकेको छैन् । महासचिवबाट दुवै नेता पछि हट्ने मनस्थितिमा देखिँदैनन् । खासमा यो महासचिवको लडाइँ मात्रै नभएर भविष्यमा प्रचण्डको उत्तराधिकारी को बन्ने भन्ने लडाइँ भएको माओवादीकै नेताहरू बताउँछन् । त्यसैले पनि महासचिवको लडाइँ पेचिलो हुने देखिन्छ ।

माओवादी आधार इलाकाका दुई नेताबीच निर्वाचन भएमा कसको पल्ला भारी छ भन्ने अनुमान लगाउन कठिन छ । तर, प्रचण्डको ‘ग्रिन सिग्नल’ पाउने व्यक्ति नै बलियो हुनेछ । दुवै नेताहरूको गुट पूर्वदेखि पश्चिमसम्म छ । खासगरी पूर्व र पश्चिममा जनार्दन समूह बलियो मानिन्छ भने उपत्यका, लुम्बिनी प्रदेशमा वर्षमान समूह बलियो छ । मधेस प्रदेशमा दुवै नेताको प्रभाव कम छ । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र प्रदेश नम्बर–१ मा जनार्दन समूहका कार्यकर्ता बढी भएको बताइन्छ ।


प्रदेश–१ मा भएको पार्टीको अधिवेशनबाट जनार्दन समूहका नेता निर्वाचित भएका थिए भने वाग्मती प्रदेशको नेतृत्व वर्षमाननिकटका नेताले हत्याएका थिए । दुवै प्रदेशमा निर्वाचनबाट प्रदेश अध्यक्ष छानिएको हो ।

महासचिव छानिने सम्भावना कति !
माओवादी नेता हरिबोल गजुरेलका अनुसार अबको बैठकमा सबै पदाधिकारीसहित केन्द्रीय सदस्य मनोनयनको काम टुंग्याउन प्रचण्ड लागिपरेका छन्। यद्यपि, अहिलेकै केन्द्रीय कमिटी बैठकबाट पदाधिकारी टुंगो लाग्ने कुरामा गजुरेल स्वयं विश्वस्त देखिँदैनन्। ‘सबैलाई मिलाएर लाने प्रचण्डको सोच भएकोले आउँदो बैठकमा नै सबै विषय टुंगो लाग्ला भन्ने लाग्दैन। तर, अध्यक्षले चाहिँ त्यही दिन सबै पदाधिकारीसहित केन्द्रीय सदस्य मनोनयनको काम टुंग्याउने गरी गृहकार्य भइरहेको बताउनुभएको छ,’ उनले भने।

माओवादीमा अध्यक्षपछिको सर्वाधिक शक्तिशाली मानिएको महासचिव पदमा आकांक्षीलाई व्यवस्थापन गर्न जटिल देखिएका कारण पदाधिकारी चयनको काम रोकिएको हो। वर्षमान र जनार्दनमध्ये जो महासचिव भए पनि एकले अर्कोलाई नस्वीकार्ने स्थिति आएकोले पनि प्रचण्डले टारिरहेको उनी निकट एक नेताले बताए। ‘प्रचण्ड कमरेड प्रतिस्पर्धा गरेर भन्दा पनि सबैलाई मिलाएर लाने सोचमा हुनुहुन्छ। त्यसैले पनि पदाधिकारी चयनको काम सरिरहेको हो। चुनावअघि लफडा हुन्छ भनेर पनि अध्यक्षले यो काम अघि बढाउनुहुन्न जस्तो लाग्छ,’ ती नेताले भने।

माओवादी नेताहरुका अनुसार महासचिवमा जनार्दन र वर्षमान दुवैले आफू पछि नहट्ने बताइरहेका छन्। दुई नेताको ‘टसल’का कारण पनि प्रचण्डले पदाधिकारी चयनलाई थाँती राखिरहेको कतिपयको बुझाइ छ। माओवादीमा अध्यक्षपछिको सर्वाधिक शक्तिशाली मानिएको महासचिव पदमा आकांक्षीलाई व्यवस्थापन गर्न जटिल देखिएका कारण पदाधिकारी चयनको काम रोकिएको हो।

उता, नारायणकाजी श्रेष्ठ खेमाले गिरिराजमणि पोखरेललाई अघि सार्दै महासचिवका लागि लबिङ गरिरहेको बताइएको छ। तर, प्रचण्ड त्यसमा सकारात्मक छैनन्। आफ्नो सुरमा महासचिव चयन गर्दा पनि पार्टीको दोस्रो पुस्तामै हलचल मच्चिने र चुनावमा नकारात्मक प्रभाव पर्ने डर प्रचण्डमा छ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्