पद्मा पुल अर्थात् दक्षिण एसियाली शक्ति बंगलादेशको अर्थतन्त्र र आत्मविश्वास दुवै बढाउने आशा – Janadesh Daily | ePaper

पद्मा पुल अर्थात् दक्षिण एसियाली शक्ति बंगलादेशको अर्थतन्त्र र आत्मविश्वास दुवै बढाउने आशा


जनादेश अन्तर्राष्ट्रिय वाच।

बहाउद्दिन फैजी

बंगलादेशले मुलुककै सबैभन्दा लामो बहुउदेश्यीय पद्मा पुल उद्घाटन गरेको छ। जुन २५ मा प्रधानमन्त्री शेख हसिानाले उद्घाटन गरेको यो विशाल पूर्वाधार बंगलादेशका लागि ऐतिहासिक कोसेढुंगो बनेको छ।

३.८६ अर्ब डलरमा बनेको यो पुलले बंगलादेशको जीडीपीमा वार्षिक १.३ प्रतिशतले वृद्धि गर्न सघाउने आकलन गरिएको छ। त्यस्तै, रोजगार वृद्धि, सेवा क्षेत्रका क्रियाकलाप र मुलुकका दक्षिणपश्चिमी जिल्लाहरुमा पर्यटन विकासमा यसले सघाउनेछ। बंगलादेश ब्युरो अफ स्टाटिस्टिक्सका अनुसार यो पूर्वाधारले एकै वर्षमा मुलुकको जीडीपीमा ४.४६ अर्ब डलर थप्ने प्रक्षेपण गरिएको छ।


यो विश्वकै गहिरो स्तम्भ भएको पुल हो। यसका केही स्तम्भ पद्मा नदीमा १२७ मिटर गहिराइमा अड्याइएका छन्। पुल निर्माणमा सबैभन्दा ठूलो क्रेन क्यारिअर प्रयोग गरिएको थियो। ६.१५ किलोमिटर लामो बहुउदेश्यीय पुलमा माथि चार लेनको सडक छ भने तल्लो तहमा रेलमार्ग।

विश्व बैंक पछि हटेपछि आफ्नै लगानी
बंगलादेशको केन्द्रीय भागलाई दक्षिणपश्चिमी जिल्लाहरुसँग पुलले जोड्ने सपना कुनै समय अलभ्यजस्तो लाग्थ्यो। खासगरी जुन २०१२ मा पद्मा पुल बनाउन लिने भनिएको १.२ अर्ब डलर ऋण विश्व बैंकले रद्द गरिदिएपछि। त्यसपछि अन्य ऋणदाता एजेन्सीहरु पनि यो परियोजनाबाट पछि हटे। किनभने त्यसबेला यो परियोजनामा संलग्न सरकारी अधिकारीहरुमाथि भ्रष्टाचारको आरोप लागेको थियो।

त्यसपछि सरकारले यो पुल आफ्नै लगानीमा बनाउने निर्णय लियो। अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरुको कुनै सहयोग नलिई बंगलादेशले मात्रै त्यत्रो परियोजनामा लगानी गर्न सक्नेमा थुप्रै विश्लेषकहरुले शंका व्यक्त गरेका थिए। तर, पद्मा पुल निर्माणसम्पन्न भयो र त्यसको भव्य उद्घाटन भयो। जसले करोडौँ बंगलादेशीको सपनालाई यथार्थमा बदलिदिएको छ।

बीआरआईको हिस्सा होइन पद्मा पुल
चीनले एसियाका अन्य मुलुक र अफ्रिका तथा युरोपसम्म जोडिन बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) नामक विशाल परियोजना चलाइरहेको विदितै छ। केहीले पद्मा पुललाई पनि बीआरआईकै हिस्सा ठान्ने गरेका छन्। तर, त्यसको जवाफमा बंगलादेशको विदेश मन्त्रालयले हालै वक्तव्य जारी गर्दै यो पुलमा विदेशी लगानी नभएको र यो बीआरआईको हिस्सा पनि नभएको स्पष्ट पारेको छ। जसको सम्पूर्ण लगानी बंगलादेश सरकारले गरेको छ।

घण्टौँको यात्रालाई मिनेटमा झार्ने पुल
हालसम्म पद्मा नदी तर्नु निकै कठिन काम थियो। फेरीमार्फत नदी तर्नलाई सवारी साधनहरु घण्टौँ लाइनमा बस्नुपर्थ्यो। त्यसपछि नदीको अर्को हिस्सामा रहेका जिल्लाहरुको यात्रा गर्न तीनदेखि चार घण्टा लाग्थ्यो।

अझ मौसम खराब हुँदा वा सवारीको तौल ज्यादा हुँदा यो यात्रामा झन् लामो समय लाग्थ्यो। यो पुल बनेपछि पद्मा नदीको पारिपट्टिका जिल्ला पुग्ने समय सातदेखि आठ मिनेटमा छोट्टिएको छ।

नयाँ बजार
बंगलादेशको राजधानी ढाकाका बजार र मुलुकका उत्तरी जिल्लाहरुबाट दक्षिणपश्चिमी जिल्लाहरु टाढा नभए पनि पद्मा नदी एउटा ठूलो भौगोलिक अवरोध बनेको थियो। खासगरी माछा मार्नेहरु, माछा हुर्काउने कम्पनीहरु र माछा व्यापारीहरुले उत्तरी बजारमा बेच्न पाएका थिएनन्।

उत्तरका बजारसम्म पुग्ने यातायात भाडा उच्च थियो। जसका कारण नाफा हुँदैनथ्यो। लामो सडक यातायात र यातायात खर्चका कारण माछा हुर्काउने र बेच्नेहरुले आफ्नो उत्पादन नजिकैका जिल्लामा बेच्नुपर्ने अवस्था थियो। मुलुकको दक्षिणपश्चिमी हिस्साका अन्न र फलफूल उद्योगले पनि त्यस्तै समस्या झेलिरहेका थिए।

भाग्यवश दक्षिणपश्चिमी भेगका किसान र व्यापारीले अहिले ढाका र त्यसवपरिपरिका बजारमा सहज पहुँच पाएका छन्। उनीहरु आफ्ना उत्पादन त्यहाँ लगेर उच्च मूल्यमा बेच्न सक्छन्।

उदाहरणका लागि व्यापारीहरुले बंगलादेश र भारतमा उच्च माग भएको हिल्सा माछामा पहिलेभन्दा २० देखि ३० प्रतिशत ज्यादा मूल्य प्राप्त गर्न सक्ने प्रक्षेपण गरिएको छ। जसले माछा उद्योगको भाउ नै ठूलो मात्रामा बढाउनेछ।

पर्यटनको अवसर
दक्षिणपश्चिमी जिल्लाका बासिन्दाले पर्यटनबाट पहिलेदेखि नै फाइदा उठाउँदै आएका छन्। तर, खराब यातायातका कारण त्यहाँको पर्यटन उद्योगको आकार सम्भावनाभन्दा निकै सानो थियो।

पद्मा पुलले जोडिएपछि वार्षिक पर्यटक संख्या बढ्ने प्रक्षेपण छ। जसले स्थानीयहरुमा रोजगारी सिर्जना गर्नेछ भने स्थानीय र राष्ट्रिय दुवै सरकारको आम्दानी बढाउनेछ।

सत्ताधारी दललाई राजनीतिक फाइदा
सत्तारुढ अवामी लिगले पद्मा पुलसहित पछिल्लो दशकका आर्थिक तथा पूर्वाधार विकासको बारम्बार प्रचार गर्ने गरेको छ। यो अभियान फलदायी हुन सक्छ।

यो परियोजनालाई लिएर भएका चर्चाहरुमा थुप्रैले सत्तारुढ दलको छाया देख्छन्। तर, पद्मा पुलले दक्षिणपश्चिमी जिल्लाहरु मात्र होइन, मुलुकका अन्य भागको विकासलाई पनि टेवा पुर्याउँछ भन्ने तथ्यलाई कसैले पनि नकार्न सक्दैन।

कम्तीमा पनि दक्षिणपश्चिमी जिल्लाका जनता अवामी लिगका कारण आफ्नो भाग्य फेरिन लागेकोमा विश्वस्त छन्। कमसेकम अवामी लिगको अपेक्षा यस्तो छ। यदि त्यसो भयो भने विपक्षी आवाज दबाउन खोजेको भनेर बारम्बार पश्चिमले आलोचना गरेपछि रक्षात्मक बनेको अवामी लिगले २०२३ को अन्त्यमा हुन लागेको आम निर्वाचनमा सहज महुसस गर्नेछ।

नभन्दै दक्षिणपश्चिमी जिल्लाका मानिसहरुको भावना त्यस्तै छ। उद्घाटनको दिन पुल तरेका मानिसहरुले यसको खुब प्रशंसा गरेका थिए।

सञ्चारमाध्यम र सामाजिक सञ्जाल दुवैमा यो पुललाई मुलुकको विकासको नयाँ इन्जिनका रुपमा प्रचार गरिएको छ। जसले जनताको, खासगरी दक्षिणपश्चिमी जिल्लाका बासिन्दाको मन जितेको छ।
एसिया टाइम्सबाट-सम्पादक

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्