केन्द्रीय समितिमा प्रदेशको सन्देश र गठबन्धन वा बाम एकताबारे प्रचण्डको प्रतिवेदनले गरेका संकेत – Janadesh Daily | ePaper

केन्द्रीय समितिमा प्रदेशको सन्देश र गठबन्धन वा बाम एकताबारे प्रचण्डको प्रतिवेदनले गरेका संकेत


जनादेश वाच।
नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको तेस्रो पूर्ण बैठक आइतबारदेखि काठमाडौंमा जारी छ। प्रज्ञा भवनमा आयोजित बैठकले आगामी राजनीतिक रणनीतिबारे केही संकेत गरेको छ।

आइतबार पहिलो दिनको बैठकमा सात प्रदेशसहित ९ कमिटीका अध्यक्षहरुबाट ब्रिफिङ सुनेपछि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले १० पन्ने ‘संक्षिप्त प्रतिवेदन’ पढेर सुनाएका थिए। राष्ट्रिय अन्तर्राष्ट्रिय परिस्थितिको समीक्षा गर्दै प्रचण्डले स्थानीय निर्वाचन, सत्ता गठबन्धन र आगामी निर्वाचनका बारेमा प्रचण्डले दस्तावेजमार्फत केन्द्रीय कमिटी बैठकमा आफ्नो धारणा प्रस्तुत गरेका छन्।

प्रदेशको सन्देश
प्रदेश १ का पार्टी कमिटी अध्यक्ष हर्कबहादुर नेम्वाङले सुरुमै ब्रिफिङ गरे। नेम्वाङले पार्टीको आन्तरिक जीवनमा समस्या भएको भन्दै प्रचण्डको ध्यानाकर्षण गराएका थिए। बैठकमा नेम्वाङले प्रदेश १ भरीको स्थानीय निर्वाचनको समीक्षा सुनाए। उनले पार्टीको कमजोर परिणाम आउनुका पछाडि आफ्नै दलका नेताहरुको पनि कमजोरी भएको बैठकमा बताएका थिए।

त्यसपछि मधेस प्रदेशका अध्यक्ष गणेश साहले बैठकमा ब्रिफिङ गरेका थिए। उनले मधेसमा भएको हारको निर्मम समीक्षा हुनुपर्ने बताए। ‘चुनावमा मात्र मधेसमा समस्या आउने हैन,’ उनले भनेका थिए,‘पार्टीले मधेसको मधेसको आर्थिक राजनीतिक मुद्दाको छलफल नै गर्दैन। यसबारे निर्मम समीक्षा हुनुपर्छ।’ पदाधिकारी चयनमा भएको समस्या तत्काल समाधान हुनुपर्ने साहको भनाइ थियो।

बागमती प्रदेशका अध्यक्ष सरल सहयात्रीले विद्यार्थी संगठनमा देखा परेको समस्या समाधानका लागि अध्यक्षको ध्यानाकर्षण गराएका थिए। साथै, स्थानीय निर्वाचनको परिदृश्यले डरलाग्दो गरी अन्तर्घातको अवस्था देखिएको उनले बताए।

गण्डकी प्रदेशकी अध्यक्ष गायत्री गुरुङले नेताहरुमा व्यक्तिवाद चरित्र हाबी भएको बताइन्। गण्डकीका माओवादी नेताहरुमा अराजकता देखिएको आरोप उनले लगाएकी थिइन्। ‘केन्द्रीय सदस्य गोजीबाट ल्याउनुभयो। त्यसो गर्दा समस्या हुन्छ। यस्तो अवस्थामा आन्दोलन उठ्छ कि उठ्दैन’ उनले भनेकी छिन्।

लुम्बिनी प्रदेशका अध्यक्ष सुदर्शन बरालले गठबन्धन अपेक्षा अनुसार सफल नभएको बताएका छन्।
उनले प्रचण्डलाई सुझाव दिँदै भने, ‘अखिल क्रान्तिकारी, वाइसीएल लगायत नबनाऔं, फङ्सनल बनाउन सकिँदैन्,’ उनले बैठकमा भनेका छन्, ‘यस्तोमा पार्टीलाई पहिलो बनाउन सकिँदैन, यो तीतो सत्य हो।’

सुदूरपश्चिम प्रदेशका अध्यक्ष हरिराम चौधरीले पनि गठबन्धनको बारेमा चासो राखेका थिए।

प्रचण्डले गरेका संकेत
अध्यक्ष प्रचण्डले संघीय चुनाव पनि समाजवादी धार निर्माणका लागि गठबन्धन आवश्यक रहेको बताएका छन् । केन्द्रीय सदस्यलाई वितरण गरेको राजनीतिक प्रतिवेदनमा प्रचण्डले मोर्चा र गठबन्धन परिस्थितिजन्य सन्दर्भका रूपमा व्याख्या गरेका छन् ।

गठबन्धनका विषयमा प्रचण्डले केपी ओली प्रवृत्तिविरुद्ध गठबन्धन आवश्यक रहेको दाबी गरेका छन् । तर, प्रचण्डको प्रतिवेदनमा अहिलेको सत्ता गठबन्धनलाई कायम राख्ने वा नराख्ने भन्ने चाहिँ केही उल्लेख गरेका छैनन् । केही दिनयता कांग्रेससँगको गठबन्धनमा समस्या देखिएको छ भने वाम गठबन्धनको पनि प्रयास भइरहेको छ ।

यसैले प्रतिवेदनमा तुलनात्मक रूपमा ओलीमाथि विगतमा झैँ आलोचना पनि गरेका छैनन् । प्रचण्डले संविधानको रक्षा, शान्ति प्रक्रियाको पूर्णता र संघीयता पक्षधर शक्तिसँग गठबन्धन गर्ने उल्लेख गरेका छन् । प्रचण्डले प्रतिवेदनमा भनेका छन्, ‘केपी ओली प्रवृत्तिको दक्षिणपन्थी धारलाई कमजोर पार्ने, संविधान र आन्दोलनका उपलब्धिलाई खोस्न उद्दत प्रतिगामी प्रवृत्तिलाई पराजित गर्नेछ । क्रान्तिकारी धाराको निर्माण गर्दै तत्काल प्रतिगामी र दक्षिणपन्थी शक्तिविरुद्ध तत्कालीन जिम्मेवारी संविधानको रक्षा र शान्ति प्रक्रियाको पूर्णता एवं संघीयतासहितको लोकतन्त्रमा सहमत शक्तिसँग गठबन्धनको नीति अख्तियार गरिनेछ ।’

केन्द्रीय सदस्यहरूलाई प्रचण्डले राजनीतिक प्रतिवेदनमा समाजवादी मोर्चा आवश्यक रहेको बताएका छन् । चुनावी गठबन्धनबारे व्याख्या गर्दै प्रचण्डले वैकल्पिक क्रान्तिकारी धारा निर्माण गर्नुपर्ने पनि उल्लेख गरेका छन् । प्रचण्डले प्रतिवेदनमा भनेका छन्, ‘कार्यदिशा अबलम्बन गर्ने पार्टी शक्ति र व्यक्तित्वको तत्कालका मोर्चा निर्माण आजको आवश्यकता हो । समाजवादी मोर्चामार्फत नेपाली विशेषताको समाजवाद त्यसको कार्यनीति श्रृंखला क्रान्तिकारी शक्ति एवं जनतालाई गोलबन्द गर्ने र दीर्घकालीन रूपमा समाजवादी वैकल्पिक क्रान्तिकारी धाराको निर्माण हुनेछ ।’

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्