टिकटक चलाउनु हुन्छ? आक्रामक ‘डाटा हार्भेस्टिङ’मा तपाईंको जानकारी पनि जोखिममा ! – Janadesh Daily | ePaper

टिकटक चलाउनु हुन्छ? आक्रामक ‘डाटा हार्भेस्टिङ’मा तपाईंको जानकारी पनि जोखिममा !


जनादेश वाच।
चिनियाँ सरकारले व्यक्तिगत जानकारी संकलन गर्न टिकटकको प्रयोग गर्न सक्ने भन्दै साइबर सुरक्षा विशेषज्ञहरूले अस्ट्रेलियाका टिकटक प्रयोगकर्ताहरूलाई चेतावनी दिएका छन्। चिनियाँ सरकारले टिकटकमा साथीहरूसँग हुने इन-एप सन्देश आदानप्रदानदेखि डिभाइसको लोकेसनसम्म ट्र्याक गर्न सक्ने भन्दै विशेषज्ञहरूले चेतावनी दिएको द गार्डियनले उल्लेख गरेको छ।

अस्ट्रेलिया-अमेरिकी साइबर सेक्युरिटी फर्म इन्टरनेट २.० को एक रिपोर्ट सार्वजनिक भएपछि विशेषज्ञहरुको यस्तो चेतावनी आएको हो। सो रिपोर्टमा यो वर्षकै सबैभन्दा लोकप्रिय सोसल मिडिया एप टिकटकले आफ्ना प्रयोगकर्ताहरूबाट ‘अत्यधिक’ मात्रामा डाटा संकलन गरेको फेला परेको उल्लेख छ।

टिकटकले डाटा संकलन गर्ने तरिकामा के फरक छ?
टिकटकको डाटा संकलन विधि अन्तर्गत प्रयोगकर्ताको कन्ट्याक्ट लिस्ट संकलन गर्ने, क्यालेन्डरमा एक्सेस हुने, एक्सटर्नलसहित फोनको हार्ड ड्राइभहरू स्क्यान गर्ने र घण्टा-घण्टामा डिभाइसको जियो लोकेट गर्ने क्षमता पर्दछ।

‘जब यो एप प्रयोगमा हुन्छ तब यसलाई वास्तवमै चाहिने भन्दा धेरै एक्सेसको लागि अनुमति हुन्छ,’ इन्टरनेट २.० का सह-सीईओ र रिपोर्टका सम्पादकहरूमध्येका एक रोबर्ट पोटरले भने, ‘ती अनुमतिहरू डिफल्ट रुपमा नै सेट भएका हुन्छ। यदि प्रयोगकर्ताले यसलाई अनुमति नदिए टिकटकले लगातार सोधिरहन्छ। यदि फेसबुकलाई प्रयोगकर्ताले केही अनुमति दिन नचाहेको खण्डमा यसले फेरि सोध्दैन। तर, यो मामलामा टिकटक धेरै नै एग्रेसिभ छ।’

प्रतिवेदनमा एपको डाटा संकलन कार्यलाई ‘अत्यधिक हस्तक्षेपकारी’ भनेर उल्लेख गरिएको छ भने त्यसको उद्देश्यमाथि पनि प्रश्न उठाइएको छ।

‘यी डाटाहरु संकलन नगरीकन पनि एप्लिकेसन राम्रैसँग चलाउन सकिन्छ। यसले हामीलाई यो बुझाएको छ कि यस्तो जानकारी संकलन डाटा हार्भेस्टिङको लागि नै गरिएको हुनुपर्छ,’ रिपोर्टको निष्कर्षमा भनिएको छ।

रिपोर्टमा अधिकांश चेतावनी एन्ड्रोइड डिभाइसमा मागिएको अनुमतिहरूमा केन्द्रित छ, किनभने एप्पलको आइओएसले एपले कुन जानकारी संकलन गर्न सक्छ भन्ने कुरालाई महत्त्वपूर्ण रूपमा सीमित गरेको छ। एप्पलको ‘औचित्य प्रणाली’ छ ताकि यदि एप डेभलपरले कुनै कुरामा एक्सेस चाहान्छ भने सो प्रदान गर्नुअघि त्यो किन आवश्यक छ भनेर प्रमाणित गर्नुपर्छ।

‘हामी यस कुरामा विश्वास गर्छौं कि आइओएसले लागू गरेको औचित्य प्रणालीले डेटा हार्भेस्टिङमा ‘जे पाइन्छ त्यो संकलन गर्ने’ परम्परालाई सीमित गर्छ,’ रिपोर्टमा उल्लेख छ।

टिकटकको चिनियाँ सरकारसँग केही सम्बन्ध छ?
टिकटक चिनियाँ बहुराष्ट्रिय इन्टरनेट कम्पनी बाइटडान्सको स्वामित्वमा छ, जसको मुख्यालय बेइजिङमा छ। संस्थापक झाङ यिमिङ ब्लूमबर्गको अर्बपति सूचकांकमा २८ नम्बरमा छन्।

बाइटडान्सले विगतमा चिनियाँ सरकारसँगको सम्बन्धलाई अस्वीकार गरेको छ। लिक भएका विभिन्न सूचनाहरूमा यसले चिनियाँ विदेश नीतिको उद्देश्यसँग नमिल्ने वा चीनको मानव अधिकार रेकर्ड उल्लेख गर्ने सामग्री सेन्सर गर्ने कुरा बाहिर आएपछि विगतमा ति दावीहरुलाई उसले ‘गलत जानकारी’को संज्ञा दिएको थियो।

‘आफ्नो एप चीन सरकारसँग नजोडिएको, चिनियाँ अधिकारीहरूलाई पहुँच नभएको र चिनियाँ अधिकारीहरूलाई आफूहरुले सहयोग नगर्ने दावी उनीहरुले निरन्तर गर्दै आइरहेका छन्,’ पोटरले भने।

तर, इन्टरनेट २.० को अनुसन्धानले ‘चिनियाँ अधिकारीहरूको वास्तवमा डिभाइसको डाटामा पहुँच रहेको’ पत्ता लगाएको उनले बताए। इन्टरनेट २.० ले एपमा ‘ट्र्याक्ड बटहरू’ पठाएर हेर्दा ‘डेटाहरु चीनतर्फ जियोलोकेट भइरहेको निरन्तर देखिएको’ उनले बताए।

कस्ता डाटा पठाइएको भन्ने बारे स्पष्ट नभएको उल्लेख गर्दै पोटरले केवल एप चिनियाँ सर्भरहरूसँग जोडिएको पत्ता लागेको बताए। यसै महिना टिकटक अस्ट्रेलियाले चीनमा रहेका आफ्ना कर्मचारीहरूले अस्ट्रेलियाको डाटामा पहुँच गर्न सक्ने स्वीकार गरेको थियो।

‘हाम्रो सुरक्षा टोलीहरूले डेटामा पहुँच भएका व्यक्तिको संख्यालाई सीमित गरेको छ। आफ्नो काम गर्नको लागि अत्यावश्यक हुने व्यक्तिहरुलाई मात्रै डाटामा एक्सेस हुन्छ,’ कम्पनीको पब्लिक पोलिसीका अस्ट्रेलियाली निर्देशक ब्रेन्ट थोमसले एक पत्रमा लेखेका छन्।

यो पत्र विपक्षी साइबर सुरक्षा र विदेशी हस्तक्षेप प्रवक्ता सिनेटर जेम्स प्याटरसनको प्रश्नको जवाफका रुपमा उनले पठाएका थिए। अस्ट्रेलियाली डाटा कहिल्यै पनि चिनियाँ सरकारलाई नदिइएको थोमसको दावी थियो।

यसमा जोखिम कति छ?
चीनको राष्ट्रिय सुरक्षा कानुन अन्तर्गत चिनियाँ कम्पनीहरूले सरकारले मागेको खण्डमा उनीहरूले संकलन गरेको डाटा सरकारलाई बुझाउनु पर्छ। ‘मुलधारको चिनियाँ एपमा हुँदा तपाईँ फरक डिजिटल इकोसिस्टममा हुनुहुनेछ,’ पोटरले भने। र ‘प्रयोगकर्ता को हो’ भन्ने कुराले पनि ‘जोखिमको स्तर’ निर्धारण गर्ने उनको भनाइ छ।

व्यक्तिगत स्तरमा औसत प्रयोगकर्ता तत्काल जोखिममा नहुन सक्ने पोटर बताउँछन्। भन्छन्, ‘तर, यदि तपाईँ कुनै बढी नै संवेदनशील कुरामा संलग्न हुनुहुन्छ वा संवेदनशील विषयहरूमा छलफल गर्दै हुनुहुन्छ भने, तपाईं तत्काल उनीहरूका लागि चासो बन्नुहुनेछ।’

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्