मिस इण्डिया इन्टरनेशन २०२२ विजेता प्रियाकोको कथाः डिभोर्स, डिप्रेसन र मोटोपनामाथि चामत्कारिक विजय – Janadesh Daily | ePaper

मिस इण्डिया इन्टरनेशन २०२२ विजेता प्रियाकोको कथाः डिभोर्स, डिप्रेसन र मोटोपनामाथि चामत्कारिक विजय


जनादेश अन्तर्राष्ट्रिय वाच।
विवाहपछि महिलाहरूको जीवन धेरै हदसम्म चुनौतिपूर्ण बन्छ । किनकी एकातर्फ उनीहरूको आफ्नै सपना हुन्छ अर्कोतर्फ परिवार र बच्चाको जिम्मेवारी । यी सबै जिम्मेवारी पूरा गर्दा गर्दै महिलाहरूको जीवनमा असाध्यै अप्ठ्यारा परिस्थितिहरू पनि आइपर्छ ।

त्यस्ता चुनौतिपूर्ण परिस्थितिले कतिपय विवाहित महिलाहरूको जीवनलाई बर्बाद पनि पारिदिनसक्छ । तर, एक महिला जसलाई आफ्नो पतिले छाडेका थिए, त्यस्तो परिस्थितिमा पनि उनले हार मानिनन् बरू संघर्ष गर्दै रहिन् । आज उनले मिस इण्डिया वर्ल्ड इन्टरनेसनल २०२२ को उपाधि जितेका छन् । उनी आगामी अगस्टमा हुने मिसेज इण्डिया वर्ल्डकी फाइनलिस्ट पनि बनेकी छन् ।

प्रिया परमिता पालले जीवनमा भोगको कयौँ मुस्किल परिस्थितिसँग कहिले पनि हार मानिनन् बरु आफूलाई रूपान्तरण गर्दै मिस इण्डिया वर्ल्ड इन्टरनेसनल २०२२ को विजेता बनिन् । उनी मिसेज इन्डिया वर्ल्डकी फाइनलिस्ट पनि हुन् ।

भारतीय सञ्चारमाध्यम ‘आज तक’का अनुसार प्रिया मुम्बईमा बस्छिन् । उनी एक आईटी कम्पनीमा प्रोजेक्ट म्यानेजर तथा लाइफ कोच पनि हुन् । तर, उनको विगत निकै संघर्षपूर्ण थियो ।

‘मैले जीवनमा धेरै उतार चढाव भोगेको छु । तर, मैले कहिले पनि हिम्मत हारिन, त्यही कारण आज म यो स्थानमा छु,’ उनले ‘आज तक’लाई भनेकी छन्, ‘मैले चाहेको भए हार मानेर रोकिन पनि सक्थे, तर मैले सोचे जीवनमा सम्झौता गरेर केही हुँदैन, मेरो जे सपना छ त्यो पूरा गर्नेछु । आज मैले बालापनदेखि देखेको व्युटी प्याजेन्ट जित्ने सपना पूरा भएको छ । अझै पनि लागिरहेकी छु ।’

प्रियाले बताएकी छन्, ‘यो सन् २०१६ को कुरा हो । म विवाहपछि घरमा रामैसँग बसिरहेको थिएँ । म जागिर पनि गरिरहेकी थिएँ । हामीसँग सासु–ससुरा र दुई देवर पनि सँगै थिए । तर, केही समयपछि मलाई मेरो पतिले छाडेर अलग्गै बस्न थाले । एकदिन जब म अफिसमा काम गरिरहेको थिए, मेरो पतिको इमेल आयो, जसमा लेखिएको थियो अब म तिम्रो साथ बस्न सक्दिन । म जाँदै छु ।’

त्यसपछि फोन, म्यासेज गर्दा पतिले केही पनि प्रतिक्रिया नदिएको उनको भनाइ छ । ‘केही समयपछि थाहा भयो उनको अर्कै केटीसँग सम्बन्ध रहेछ, यही कारणले उसले मलाई छाडेको रहेछ,’ उनले भनिन्, ‘त्यसपछि म माइत फर्केर २ वर्षसम्म उनलाई फर्काउन कोसिस गरे, तर सकिन ।’

त्यस २ वर्षमा आफू डिप्रेसनमा गएको पनि प्रियाले बताएकी छन् । डिप्रेसनको शिकार भएपछि आफ्नो जागिर पनि गएको उनको भनाइ छ । त्यसपछि आर्थिक रूपमा ठूलो संकट व्यहोर्नुपरेको उनले सुनाएकी छिन् । अन्ततः उनले २०१८ मा पतिसँग सम्बन्ध विच्छेद गरिन् ।

प्रियाका अनुसार उनी सानैदेखि सुन्दरी प्रतियोगितामा भाग लिन चाहन्थिन् । तर, उनको परिवार र समाजले त्यसलाई राम्रो मानेको थिएन । त्यसैले उनले आफ्नो चाहनालाई दबाएर राखेकी थिइन् । तर, जब मुस्किल परिस्थितिबाट बाहिर निस्कन थालिन् उनले फेरि आफ्नो सपना पूरा गर्ने अठोट लिइन् । डिप्रेसनबाट बाहिर निस्कन सेल्फ हिलिङ, योगा आदिको साहारा लिएको उनले बताएकी छन् । जसले आफूलाई मानसिक रूपमा आनन्द महसुस हुन थालेको उनको अनुभव छ ।

त्यसपछि उनले सुन्दरी प्रतियोगितामा भाग लिने तयारी गरिन् । सोही अनुसारको व्यक्तित्व निर्माणमा लागिन् । ‘म मानसिकरूपमा एकदमै तनावमा थिएँ, त्यहाँबाट बाहिर निस्किन कोसिस गरे । मैले शरीरको १० केजी तौल घटाएँ,’ उनले भनिन्, ‘म विस्तारै शारीरिक र मानसिक रूपमा बलियो बन्दै गएँ । म भित्र आत्मविश्वास भरिँदै गयो, आज म मिसेज इण्डिया वर्ल्डको फाइनलिस्ट हुँ । आगामी दिनमा पनि यो यात्रा जारी राख्नेछु ।’

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्