आर्थिक अभावले खसभाषाको जुम्ली शब्दकोश प्रकाशन हुन सकेन – Janadesh Daily | ePaper

आर्थिक अभावले खसभाषाको जुम्ली शब्दकोश प्रकाशन हुन सकेन


आर्थिक अभावका कारणले खस भाषाको जुम्ली शब्दकोश प्रकाशन हुन सकेको छैन । कर्णालीमा बोलिने भाषा तथा शब्द संरक्षणका लागि प्रकाशन गर्ने भनिएको जुम्ली शब्दकोश दश वर्ष बितिसक्दा पनि प्रकाशन भएको छैन । पहिलो पटक २०६५ साल वैशाख ११ गते जुम्ली शब्दकोश प्रकाशन गरेर खस शब्दको संरक्षण गर्ने निर्णय भएको थियो ।

आधुनिक शब्दले खस शब्द लोप हुँदै जाँदा खस भाषा नै सङ्कटमा पर्दै गइरहेको भन्दै तत्कालीन जिल्ला विकास समितिले जुम्ली शब्दकोष प्रकाशनका लागि कार्यको थालनी गरेको थियो । जुम्ली शब्दकोश बनाउन चाहिने आवश्यक शब्द सङ्कलनका लागि चन्दननाथ नगरपालिका–२ का ७६ वर्षीय रमानन्द आचार्यलाई जिम्मेवारी दिइएको थियो । अहिले आचार्य दिनरात सङ्कलित खस शब्दको अर्थ लगाउने कार्यमै व्यस्त हुनुहुन्छ । उहाँ एकाबिहानै खसिया आखर नामक पत्रिकाको कार्यालयमा आएर खस शब्दमै व्यस्त देखिनुहुन्छ । खस शब्दमा दक्ष आचार्यले झण्डै ३५ हजारभन्दा बढी खस शब्द सङ्कलन गरिसक्नुभएको छ ।

आचार्यका अनुसार खस शब्द सङ्कलन गर्नेदेखि अर्थ लगाउनेसम्मको काम सक्नुभएको छ । कम्प्युटरमा टाइप गरेर प्रकाशनका लागि तयारी अवस्थामा पुगिसकेको छ । उहाँले आर्थिक अभावका कारण प्रकाशनमा ल्याउन नसकिएको जानकारी दिनुभयो । विसं २०६५ वैशाख ११ गते तत्कालीन स्थानीय विकास अधिकारी तिलक पौडेलले भाषा, संस्कृति र सभ्यता संरक्षणका लागि जुम्ली शब्दकोश प्रकाशन गर्ने निर्णय गर्नुभएको थियो ।

त्यसका लागि पहिलो वर्ष रु दुई लाख विनियोजन भएको थियो । पहिलो वर्ष शब्द सङ्कलन र आवश्यक सामग्री जुटाउनमै कार्य थालनी भएको थियो । विसं २०६७ मा कृष्णचन्द्र घिमिरे स्थानीय विकास अधिकारी भएर आएपछि जुम्ली शब्दकोश प्रकाशन गर्न चाहिने थप आवश्यक सामग्रीसहित शब्द सङ्कलनको कार्य अघि बढेको हो ।

जुम्ला, हुम्ला, मुगु, डोल्पा र कालीकोटमा शब्द सङ्कलनका लागि टोली खटिएका थियो । जिल्ला समन्वय समिति बनेपछि जुम्ली शब्दकोश प्रकाशनको काम ओझेलमा परेको खसभाषाका जानकार आचार्यले बताउनुभयो ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्