कोरोनाको डरलाग्दो दरः २४ घण्टामा १ हजार संक्रमित थपिँदै, अबको दुई सातामा संक्रमण उत्कर्षमा – Janadesh Daily | ePaper

कोरोनाको डरलाग्दो दरः २४ घण्टामा १ हजार संक्रमित थपिँदै, अबको दुई सातामा संक्रमण उत्कर्षमा


जनादेश वाच।
गत २४ घण्टामा कोरोना संक्रमितको संख्या १ हजार नाघेको छ । ६ हजार ३ सयको परीक्षण गर्दा १ हजार ९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना संक्रमणबाट दुई जनाको मृत्यु भएको । पछिल्लो २४ घण्टामा ४ सय ३८ जना निको भएर डिस्चार्ज भएका छन् ।

गत १ असारमा ०.६४ प्रतिशत रहेको संक्रमणदर बढेर हाल १७ प्रतिशतमा पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अबको दुई साता संक्रमणदर अझै तीव्र गतिमा बढ्नेछ । ‘अबको दुई हप्ता बढेर जान्छ । नयाँ भेरियन्ट बढी संक्रामक छ,’ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. समीरकुमार अधिकारी भन्छन् । मन्त्रालयको प्रक्षेपणसँग विज्ञहरू पनि सहमत छन् । ‘चौथो लहर सुरु भएको हो । अबको दुई-तीन हप्ता संक्रमण आक्रामक हुने देखिन्छ,’ भाइरोलोजिस्ट डा. सन्तोष दुलाल भन्छन् ।

साउन, भदौ र असोज तीन महिना संक्रमणको जोखिम उच्च हुने प्रक्षेपण सरकारको छ । यो अवधिमा भर्ना हुने बिरामीको संख्या पनि बढ्ने आकलन मन्त्रालयको छ । ‘तीन महिनाको अवधिमा अस्पताल भर्ना हुनेको संख्या पनि बढ्न सक्छ,’ इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका प्रवक्ता डा. फणिन्द्र बराल भन्छन्, ‘भदौको तेस्रो सातासम्म संक्रमण उच्च बिन्दुमा रहन सक्छ ।’ संक्रमण असोजबाट ओरालो लाग्ने इडीसीडीको प्रक्षेपण छ ।

संक्रमण बढ्नुमा नयाँ भेरियन्ट र मानिसको असावधानी मुख्य कारण भएको मन्त्रालयको निष्कर्ष छ । ‘ओमिक्रोनको उपप्रजाति बीए.टु र बीए.फाइब फैलिएको देखिन्छ । नयाँ भेरियन्ट बढी संक्रामक छ,’ प्रवक्ता अधिकारी भन्छन्, ‘नयाँ भेरियन्ट गुणात्मक रूपमा फैलिन्छ । मानिसको असावधानी अर्को कारण हो ।’

कोरोना महामारी सकियो भन्ने मानिसको गलत बुझाइका कारण संक्रमण बढ्नमा सहयोग पुगेको प्रवक्ता अधिकारीको तर्क छ । भाइरोलोजिस्ट डा. दुलाल पनि ओमिक्रोनको उपप्रजाति धेरै संक्रमाक रहेको मत राख्छन् । ‘ओमिक्रोनको उपप्रजाति छिटो फैलिने देखिन्छ । भारत, अमेरिका, क्यानडा, युरोपमा समेत फैलिएको छ,’ उनी भन्छन् ।

परीक्षणको दायरामा आएनन्
हाल संक्रमितको संख्या दैनिक १ हजार नजिक पुगेको छ । जसमा ५ हजारको हाराहारीमा परीक्षण भइरहेको छ । मन्त्रालयका अनुसार मानिस परीक्षणको दायरामा आएका छैनन् । ‘समुदायमा धेरै केस हुनसक्छ । मानिस परीक्षणको दायरामा आएनन्,’ इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका प्रवक्ता डा. फणिन्द्र बराल भन्छन् । भाइरोलोजिस्ट डा. दुलाल पनि समुदायमा धेरै संक्रमित रहेको बताउँछन् । ‘धेरैमा कोरोनाको लक्षण देखिन्छ तर परीक्षण भएको छैन । मन्त्रालयले दैनिक निकाल्ने तथ्यांकभन्दा धेरै संक्रमित छन्,’ उनी भन्छन् । लक्षण भएकाहरू परीक्षणको दायरामा नआउँदा संक्रमण फैलिने जोखिम उच्च हुन्छ ।

मृत्यु हुनेमा खोप नलगाएका
गत १ साउनबाट कोभिडबाट मृत्यु हुनेको संख्या बढ्दै गएको छ । गत २७ फागुनमा शून्यमा झरेको मृत्युदर फेरि बढ्न थालेको हो । कोरोनाबाट दैनिक एक वा दुई जनाको ज्यान गइरहेको छ । मृत्यु हुनेमा अधिकांश खोप नलगाएका छन् । मन्त्रालयले १ साउनदेखि १९ गतेसम्म गरेको सर्भेक्षणमा मृत्यु भएकामध्ये १३ जनाले खोप लगाएका थिएनन् । बाँकी ४ जनाले मात्र खोप लगाएका थिए । मृत्यु भएकाहरू दीर्घरोगीसमेत थिए ।

चौथो लहरमा पनि बालबालिका, दीर्घ रोगी र खोप नलगाएकाहरू बढी प्रभावित हुने विज्ञहरू औँल्याउँछन् । ‘रोगसँग लड्ने क्षमता कम भएका दीर्घ रोगी र खोप नलगाएकाहरूलाई बढी असर गर्छ,’ भाइरोलोजिस्ट डा. दुलाल भन्छन्, ‘खोप लगाएकाहरूलाई पनि संक्रमण हुनसक्छ ।’ तर, खोप लगाएकालाई संक्रमण भए पनि जटिल स्थिति हुन नदिने बताउँछन् मन्त्रालयका प्रवक्ता डा. अधिकारी । ‘खोप लगाए पनि संक्रमण हुन्छ तर जटिल स्थिति हुन पाउँदैन,’ उनी भन्छन् ।

के छ सरकारको तयारी ?
आगामी तीन महिना संक्रमण बढ्ने अनुमान गरेको मन्त्रालयले रोकथाम तथा नियन्त्रणका लागि सबै संयन्त्र तयारी अवस्थामा राखेको जनाएको छ । मन्त्रालयका अनुसार ८ हजार २ सय २ आइसोलेसन बेड, ३ हजार ८ सय ४६ एचडीयू बेड, २ हजार ७ सय ९७ आईसीयू बेड, १ हजार ८ वटा भेन्टिलेटर, १८ हजार २ सय १९ अक्सिजन सिलिन्डर, अक्सिजन प्लान्ट १ सय ३२ र ट्यांक २७ वटा तयारी अवस्थामा राखिएको छ । १७ वटा अस्पताललाई कोभिडको उपचार गर्न तोकिएको छ । ‘दोस्रो लहरमा भोगेकाले अहिले तयारी धेरै गुणा राम्रो भएको छ । अस्पताल जानेभन्दा पनि मास्क, सेनिटाइजर, दूरी कायम, साबुन पानी उपयुक्त हो,’ डा अधिकारी भन्छन् ।

बुस्टर मात्रा खोपले गम्भीर बिरामी पर्ने वा मृत्यु हुनबाट लगभग ८५ प्रतिशत सुरक्षा प्रदान गर्ने मन्त्रालयको भनाइ छ । पछिल्ला केही दिनयता दैनिक एक हजारभन्दा धेरैमा कोरोना संक्रमण पुष्टि हुन थालेको छ । यो संख्या अझै बढ्नसक्ने भन्दै सतर्क रहन मन्त्रालयले आग्रह गर्दै आएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्