धनी क्लबका राकेश झुनझुनवाला ऊर्फ भारतीय ‘वारेन बफेट’, अब किस्सामा सधैं बाँचिरहनेछन् – Janadesh Daily | ePaper

धनी क्लबका राकेश झुनझुनवाला ऊर्फ भारतीय ‘वारेन बफेट’, अब किस्सामा सधैं बाँचिरहनेछन्


जनादेश अन्तर्राष्ट्रिय वाच।

‘मैले कडा अनुशासन पालना गर्नुपर्छ भन्ने महसुस गरेको छु। म मधुमेह रोगी छु र माछाले पानी पिएजस्तै रक्सी पिउँछु। म मेरा जुम्ल्याहा बच्चा २५ वर्षको भएको हेर्न चाहन्छु। त्यसैले पनि मैले सावधानी अपनाउनुपर्छ,’ सन् २०१० मा फाइनान्सियल एक्सप्रेससँगको कुराकानीमा झुनझुनवालाले भनेका थिए। तर उनका जुम्ल्याहा सन्तान १२ वर्ष मात्र भएको बेला आइतबार उनको मृत्य भएको छ। जुम्ल्याहा बच्चाको उमेर २५ वर्षको देख्ने उनको उक्त चाहना अधुरै रह्यो।

भारतीय सेयर बजारका वारेन बफेट मानिने राकेश झुनझुनवालाको ६२ वर्षको उमेरमा आइतबार मुम्बईमा निधन भएको हो। फोर्ब्सको सूचीअनुसार भारतीय सर्वाधिक धनीको सूचीमा ४८औँ स्थानमा रहेका झुनझुनवालाको निधनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीदेखि श्रद्धाञ्जली अर्पण गर्ने भारतीयहरूले लामो सूची बनेको छ।

मुम्बईको सिटी अस्पतालमा उनको निधन भएको हो। उनको निधनको कारण औपचारिक रूपमा खुलाइएको छैन। तर बीबीसीले उनको मृत्युको कारण किड्नीसम्बन्धी समस्या भएको उल्लेख गरेको छ।

धनाढ्यहरूको सम्पत्तिसम्बन्धी विवरण सार्वजनिक गर्ने फोर्ब्स पत्रिकाले उनको कुल सम्पत्ति ५.८ अर्ब डलर रहेको बताएको छ।पछिल्लो समय झुनझुनवाले आकाश एयरमा लगानी गरेका थिए। यो कम्पनीले अगस्टबाट मात्र सेवा प्रदान सुरु गरेको छ। कोभिडकालमा नराम्ररी प्रभावित भएको वायुसेवाको व्यापार पछिल्ला दिनमा तीव्र रूपमा बढेको छ।

ह्विलचेयरमा कजरारे डान्स
सामाजिक सञ्जालमा राकेश झुनझुनवालाको एउटा भिडियो निकै भाइरल भयो। भिडियोमा झुनझुनवाला ह्वीलचेयरमा बसेर ‘कजरारे–कजरारे’ गीतमा नाचिरहेका देखिन्छन्। झुनझुनवाला मधुमेहबाट पीडित थिए, जसका कारण उनको खुट्टा सुन्निने समस्स्या थियो। उनी राम्ररी हिड्न पनि सक्दैनथे, तर ह्वील चेयरमा उनको नृत्य ‘बिगबुल’ (झुनझुनवालाको उपनाम)को जीवन्तताको प्रमाण बनेर रहिरहनेछ। यस भिडियोमा झुनझुनवाला आफ्नी श्रीमती रेखा, नजिकका साथी उत्पल सेठ, अमित गोएला र परिवारका धेरै सदस्यहरूसँग देखिएका थिए।

२ तस्बिरका कथा
राकेश झुनझुनवालाको व्यक्तित्वको अर्को विशेष विशेषता उनको लापरवाही हो। उनी औपचारिकतामा अल्झिएनन्। गत वर्ष उनको दुई तस्विरको निकै चर्चा भएको थियो। पहिलो तस्विरमा उनी चप्पल लगाएर निर्मला सीतारमणसँग पुगेका थिए। दोस्रो तस्बिरमा उनी इस्तरी नलगाएर खुम्चिएको सर्ट लगाएर प्रधानमन्त्रीसँग देखिएका छन्।

प्रधानमन्त्रीसँग झुनझुनवालाको खुम्चिएको सर्ट।
इन्डिया टुडे कन्क्लेभमा यसबारे प्रश्न सोध्दा झुनझुनवालाले मुस्कुराउँदै भनेका थिए, ‘मैले ६ सय रुपैयाँ तिरेर सर्टमा आइरन लगाएको थिएँ। यति गर्दा पनि यो खुम्चिएकै देखियो त, मैले के गर्ने? म पनि सर्ट लगाएर अफिस जान्छु।’

 

सोही अन्तर्वार्तामा उनलाई प्रधानमन्त्री मोदीसँगको भेटमा के भयो भनेर सोधिएको थियो। झुनझुनवालाले जवाफ दिए, ‘मेरी श्रीमतीलाई हनिमुनमा के भयो? के यो सबै बताउनै पर्छ भन्ने केही छ?’

सादगी जिन्दगी
राकेश झुनझुनवालालाई २०२१ मा एक अन्तर्वार्तामा सोधिएको थियो- पछिल्लो १८ महिनामा तपाईको पोर्टफोलियो रकेट जस्तै बढेको छ नि। तपाईको कुल सम्पत्ति ४० हजार करोड पुगेको छ। यसलाई कसरी हेर्नुहुन्छ?
यो प्रश्नको उत्तरमा झुनझुनवाला एकदमै सरल रूपमा प्रस्तुत भए, ‘केलाई सम्पत्ति मान्ने केलाई नमान्ने? मेरो ब्यालेन्स सिट कसैलाई देखाउन आवश्यक छ? हाम्रो एक जना साथी छ उसलाई यो विषयमा कुनै चासै छेन। मसँग आज यति धेरै सम्पत्ति छ। तर यसको १०-१५% भए पनि उसको पनि जीवन छ। उनले जस्तै मैले पिउने ह्विस्की पिउँछु, उस्तै कार चलाउँछु, उस्तै घरमा बस्छु। त्यसैले म यस्तो कुरा गणना गर्दिनँ। म यो काम गर्छु किनभने मलाई यही कामबारे थाहा छ।’ झुनझुनवालाले आफ्नो कमाईको २५% परोपकारमा दान गर्थे।

रक्सीको आदत
झुनझुनवाला मधुमेहका बिरामी भएको कुरा माथि नै आइसकेको छ। आफ्नो रक्सी र चुरोटको बानीको बारेमा कुरा गर्दै झुनझुनवालाले आफूले सावधानी अपनाउनुपर्ने बताएका थिए। ‘मैले कडा अनुशासन पालना गर्नुपर्छ भन्ने महसुस गरेको छु। म मधुमेह रोगी छु र माछाले पानी पिएजस्तै रक्सी पिउँछु,’ उनले भनेका थिए। उनले आफूलाई जुम्ल्याहा सन्तान २५ वर्षका भएको हेर्ने रहर भएको कुरा पटकपटक बताउने गरेका थिए। आफूलाई जीवनमा कुनै पछुतो भने नभएको बताएका थिए।

श्रीमतीको चुरा पनि बेच्न तयार
राकेश झुनझुनवाला जोखिम लिन डराउँदैनथे। सुरुका दिनहरूमा उनले भाइको ग्राहकबाट पैसा लिए र ब्याज सहित फिर्ता गर्ने वाचा गरे।
झुनझुनवालाको पहिलो नाफा सन् १९८६ मा ४३ रुपैयाँमा टाटा टीको ५ हजार सेयर किन्दा भएको थियो। सेयर बजार बढ्यो र तीन महिनामै शेयरको मूल्य १४३ रुपैयाँ पुग्यो। उनले तीन महिनामा तीन गुणा नाफा कमाए। त्यसयता उनको जोखिम मोलेर यात्रा जारी थियो। त्यो यात्रामा आइतबार पूर्ण रूपमा विश्राम लागेको छ।

‘मलाई बजार र महिलामा रुचि छ। महिला प्रेम र बजार जोखिम लिएर हिँड्छन्। जोखिम मोल्नु मेरो बानी हो। बजारले राम्रो अवसर दिएपछि श्रीमतीको चुरा बेचेर पनि लगानी गर्न तयार छु,’ उनले भनेका थिए। राकेश झुनझुनवालाका बुबा आयकर अधिकारी थिए। सन् १९८५ मा झुनझुनवाला कलेजमा पढ्दै गर्दा सेयर बजारमा लगानी गर्न थाले। भविष्यवाणी मिलेकोप्रति एक पटक उनले भनेका थिए, ‘सेन्सेक्स १५० बिन्दुमा भएका बेला पछि के होला भन्ने मलाई कल्पना थिएन। तर, सन् २००२–२००३ मा भारतमा केही न केही स्तरको समृद्धि आउँछ भन्ने चाहिँ मलाई लागेको थियो। यसैले सेयर बजारमा उच्च वृद्धि हुन्छ भन्ने मलाई लागेको थियो।’ त्यसबेला सेन्सेक्स १५० अंकमा थियो र आज ६० हजार नाघेको छ।

झुनझुनवालाको सबैभन्दा महत्त्वपूर्ण होल्डिङ टाटाको घडी र गहना कम्पनी टाइटनमा थियो। यससँगै झुनझुनवालाको स्टार हेल्थ इन्स्योरेन्स, मेट्रो ब्रान्ड र कन्कर्ड बायोटेकलगायत अन्य धेरै कम्पनीहरूमा पनि सेयर थियो। झुनझुनवालाको स्पाइसजेट र जेट एयरवेजमा पनि १-१ प्रतिशत हिस्सेदारी छ।

आमा सबैभन्दा बढी शुभचिन्तक
सन् २००९ मा ईटी नाउलाई दिएको अन्तर्वार्तामा राकेश झुनझुनवालाले आफ्नी आमालाई आफ्नो सबैभन्दा ठूलो शुभचिन्तकको रूपमा वर्णन गरेका थिए। घरमा कसैले पनि सेयर बजारमा लगानी गर्न निषेध नगरेको तर चेतावनी भने दिइरहने गरेको उनको भनाइ थियो।
यदि अर्को जन्म मिल्ने हो भने उनले आमाबुवा, दाजुभाइ, श्रीमती, साथी चाहिँ यो जन्ममा भएकाहरू नै होउन् भनेर भगवानसँग प्रार्थना गरेका थिए। सेयर बजारमा लगानी गर्नुको भाग्यसँग कुनै सम्बन्ध छ? यस प्रश्नको जवाफमा झुनझुनवालाले भनेका थिए, ‘म अन्धविश्वासी हुँ भन्ने होइन रत केही चिज भने हामीले प्रयास गर्दा पनि सफलता प्राप्त गर्न सक्दैनौँ।’

खानाका सौखिन
झुनझुनवाला खानपानका सौखिन थिए। उनले आफ्नो शोख र दिनचर्याको बारे पनि अन्तर्र्वार्ताहरुमा बताएका छन्। ‘पढ्दा रमाइलो लाग्छ, खानेकुरा हेर्दा रमाइलो लाग्छ। सडकमा स्ट्रिट फूड, चाइनिज खाना मलाई निकै मन पर्छ,’ झुनझुनवालाले भनेका थिए, ‘मलाई पनि डोसा असाध्यै मन पर्ने खानेकुरा हो। बाहिर पाउभाजी खाँदा राम्रो लाग्दैन। त्यसैले घरमै बनाउँछु। मलाई आराम गर्न मन पर्छ। म धेरै शारीरिक गतिविधि गर्दिनँ।’

उनी आफू दानवीर भनिन चाहँदैनथे। ‘हामीलाई एउटा कुरा महसुस हुन जरुरी कि हामीले प्राप्त गरेको धनको दाता भगवान् हुन्। यो मैले आफैँ कमाएँ भनेर चाहिँ नसोच्नुहोला,’ उनले भनेका थिए।

कम्पनीको नाममा आफू र श्रीमतीको बराबरी हिस्सेदारी
झुनझुनवाले ‘रेयर (आर-ए-आर-ई) इन्टरप्राइजेज’ नामक कम्पनी खोले। यो कम्पनीको नामको सुरुका दुई अक्षर आफ्नो नाम राकेशबाट लिएको ‘आरए’ श्रीमती रेखाको नामको सुरुका दुई अक्षर ‘आरई’ बाट राखिएको थियो।

उनी जोखिम लिने व्यक्तिको रूपमा प्रतिष्ठित थिए। जोखिम मोल्ने आँट गर्न सकेकै कारण उनको लगानीले राम्रो प्रतिफल दिने गरेको थियो। झुनझुनवाले जुन स्टकमा हात हाल्थे त्यो कम्पनीको सेयरमूल्य वृद्धि जादुमय हुने गरेको थियो। एक दशकअघि झुनझुनवालाले रोयटर्सलाई दिएको एक अन्तर्वार्ता अनुसार उनी ‘भारतको वारेन बफेट’ भनेर आफूलाई चिनाउन मन पराउँदैथे। ‘म कसैको क्लोन होइन, म राकेश झुनझुनवाला हुँ,’ उनले भनेका थिए।

एजेन्सीहरूको सहयोगमा तयार पारिएको

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्