माओवादी केन्द्र चुनावका लागि निर्वाचन आयोगमा दर्ता, बाबुरामसँग सहकार्य के ! – Janadesh Daily | ePaper

माओवादी केन्द्र चुनावका लागि निर्वाचन आयोगमा दर्ता, बाबुरामसँग सहकार्य के !


नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा दल दर्ता गरेको छ । सोमवार माओवादी केन्द्रका नेताहरूले आयोगमा दल दर्ताका लागि निवेदन दिएका हुन् ।

दल दर्ताका लागि माओवादी केन्द्रका नेताहरू लीलामणि पौडेल, मुक्ति प्रधान, केन्द्रीय कार्यालय सचिव डोरप्रसाद उपाध्याय लगायतका नेताहरू आयोग पुगेका थिए । आयोगले आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन प्रयोजनका लागि साउन २१ देखि साउन ३१ गतेसम्मको समय निर्धारण गरेको छ । दल दर्ताका लागि निर्धारित समय मंगलवार सकिँदैछ ।

माओवादी केन्द्र र पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीबीच एउटै चुनाव चिह्न लिएर आगामी निर्वाचनमा जाने सहमति भएको बताइएको छ । यद्यपि माओवादी केन्द्रले एक्लै आयोगमा दल दर्ता गराएको छ । निर्वाचन कानून अनुसार एउटै निर्वाचन चिह्न लिएर निर्वाचनमा प्रतिष्पर्धा गर्ने दलहरूले दल दर्ताकै समयमा आयोगलाई जानकारी गराउनु पर्दछ ।

तर, माओवादी केन्द्रले सोमवार दल दर्ता गराउँदा नेपाल समाजवादी पार्टीसँग एउटै निर्वाचन चिह्नमा भाग लिने विषय नखुलाएको आयोग स्रोतले जानकारी दिएको छ । त्यसका लागि छुट्टै निर्णय गरेर आयोगमा जानकारी गराउने माओवादी केन्द्रका एक नेताले बताए । केही गृहकार्य बाँकी रहेकाले सोमवार आयोगलाई त्यसबारेमा जानकारी नदिइएको ति नेताले बताए ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्