बदलिँदो विश्व व्यवस्था र बढिरहेको सामरिक संघर्षः भारतीय कूटनीतिबाट नेपालले के सिक्ने – Janadesh Daily | ePaper

बदलिँदो विश्व व्यवस्था र बढिरहेको सामरिक संघर्षः भारतीय कूटनीतिबाट नेपालले के सिक्ने


जनादेश अन्तर्राष्ट्रिय वाच।
भारतले सोमवार अर्थात् १५ अगस्टमा स्वतन्त्रता दिवस मनायो। सन् १९४७ मा बेलायती उपनिवेशबाट स्वतन्त्रता पाएको भारत अहिले विश्वको पाँचौं ठूलो अर्थतन्त्र बनिसकेको छ । लगभग ३० खर्ब डलर बराबरको अर्थतन्त्रका रूपमा रहेको भारतमा गरीबी पनि विकराल अवस्थामा छ । विश्व बैंकले गत अप्रिल महिनामा सार्वजनिक गरेको आँकडाले भारतमा गरीबी दर १०.२ प्रतिशत देखाएको छ । अर्थात्, लगभग १५ करोड भारतीयहरू चरम गरीबीको अवस्थामा बाँचिरहेका छन् ।

त्यसो त भारतले विगत ७५ वर्षमा विभिन्न सूचकांकहरूमा उल्लेख्य प्रगति गरेको छ । साक्षरता दर अहिले पुरुषका लागि ७४ प्रतिशत र महिलाका लागि ६५ प्रतिशत छ । भारतीयहरूको औसत आयु ७० वर्ष छ । स्वतन्त्रताप्राप्तिपछि भारतले द्रुत गतिमा आर्थिक प्रगतिका विभिन्न अवसर गुमाउन पुग्यो । प्रथम प्रधानमन्त्री जवाहरलाल नेहरुको समाजवादी मोडल तथा पश्चिमविरोधी सोचले आर्थिक उन्नतिमा बाधा गरेको थियो ।

सोभियत संघको विघटनपछि तत्कालीन प्रधानमन्त्री पीभी नरसिंह राव र अर्थमन्त्री मनमोहन सिंहले आर्थिक उदारीकरणको नीति अपनाएकाले भारतले व्यापक प्रगति गर्न सकेको हो । आर्थिक हैसियत बढ्दै गएपछि भारतको भूराजनीतिक महत्त्वकांक्षा पनि बढिरहेको छ । बदलिँदो विश्व प्रणालीमा भारतको भूराजनीतिका विषयमा यो लेख केन्द्रित हुनेछ ।
विश्वमा विकसित हुँदै गइरहेको शीतयुद्धमा भारतले कुनै पनि खेमामा नलाग्ने निर्णय लिएको छ तर विगतको शीतयुद्ध जस्तो असंलग्नता भारतको छनोटमा छैन । अहिले ऊ बहुपक्षीय संलग्नतको नीतिमा अघि बढ्न खोज्दैछ ।

राष्ट्रिय स्वार्थलाई केन्द्रमा राखेर भारतले अमेरिका, चीन, रुस तथा अन्य शक्तिराष्ट्रहरूसँग बलियो रणनीतिक सम्बन्ध बनाउन खोजेको देखिन्छ । भारतको रणनीतिक चिन्तनमा स्वायत्तता केन्द्रीय तत्त्वका रूपमा रहेको छ । युक्रन युद्धका कारण विद्यमान विश्व व्यवस्थामा आमूल परिवर्तन आउन लागेको सन्दर्भमा भारतले यथार्थवादी विचारधारा अपनाए स्वायत्तताको सुन्दर उदाहरण प्रस्तुत गरेको छ ।

अमेरिकी दबाबका बावजूद सस्तो तथा छुट मूल्यमा उपलब्ध रुसी तेल लिएर भारतले राष्ट्रिय स्वार्थलाई उच्च प्राथमकिता दिएको बलियो सन्देश प्रवाहित गरेको छ । त्यसो त भारतीय सेना रुसी सैन्य उपकरणमा अतिनिर्भर रहेकाले रुससँग सुमधुर सम्बन्ध राख्न भारत बाध्य छ । तर सन् २००८ मा अमेरिकासँग भारतले गरेको आणविक सहमतिपछि अमेरिकी खेमामा बढी नै ढल्किएर भूराजनीतिक सन्तुलन गुमाउन थालेको भारतले अहिले आएर भूलसुधार गरेको देखिन्छ ।

भारत देशको आकार, अवस्थिति, स्रोत र सम्भाव्यतालाई विचार गर्दा रणनीतिक स्वायत्तता नै उसको सबभन्दा ठूलो सम्पत्ति हो भन्न सकिन्छ । अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो उपस्थितिको बारेमा अवगत गराउनका लागि भारतसँग यही एक माध्यम हो । तर यति मात्र भारतका लागि पर्याप्त हुँदैन । उसले रणनीतिक स्वायत्ततालाई सबलीकरण गर्नका लागि रक्षा क्षमता पनि बढाउनु जरूरी हुन्छ । रुसी उपकरणमा निर्भर रही त्यस्तो क्षमता बढ्दैन ।

आफ्नो एकल लगानी वा विदेशी सहयोगमा देशभित्रै हतियार उत्पादन गर्न सकेमा मात्र भारत प्रभावशाली खेलाडी साबित हुन सक्छ । प्रधानमन्त्री नरेन्द्र मोदीले आत्मनिर्भर भारतको नारा यही अभीष्टका साथ अघि सारेका हुन् । युक्रेन युद्धले भारत तथा अन्य ठूला शक्तिहरूलाई आफूमाथि आक्रमण भएको खण्डमा महाशक्ति तथा तिनका साझेदारहरू लड्नका लागि आउँदैनन् भन्ने पाठ सिकाएको छ ।

उदाहरणका लागि मानौं चीनले भारतमाथि आक्रमण गरेछ भने अमेरिका र उसका साझेदारहरूले नयाँ दिल्लीप्रति सहानुभूति प्रकट गर्ने वा हातहतियार वा सूचना सहयोग गर्ने मात्र हुन् । भारतको रक्षाका लागि उनीहरूले आफ्ना सैनिक पठाउँदैनन् । त्यसैले चीनसँग लड्नका लागि भारत आफैं सक्षम हुन जरूरी हुन्छ । चीनसँग भारतको बेमेल सम्बन्ध कायम रहने देखिन्छ । यी दुई देशले आर्थिक कारोबार जारी राख्नेछन् र रणनीतिक प्रतिस्पर्धा पनि गरिरहनेछन् ।

यसले भारतका रणनीतिक चिन्तकहरूलाई दुविधामा पारेको छ । भारत स्थल (कन्टिनेन्टल) र जल (मेरिटाइम) दुवै मोर्चामा अब्बल हुनुपरेकाले कसलाई प्राथमिकता दिने भन्ने दुविधा हो । भारतीय विश्लेषक जोरावर दौलत सिंहका अनुसार, स्थलमोर्चा सम्बन्धी चिन्तन गर्नेहरूले चीनसँगको लामो र विवादास्पद सीमा हालैको समयमा सामरिक थलो बन्दै गएकाले भारतको परराष्ट्रनीति सीमित तथा भूराजनीतिक महत्त्वाकांक्षामा केन्द्रित हुनुपर्ने बताइरहेका छन् ।

तर जलमोर्चा चिन्तकहरू एसियाको जलक्षेत्रले भारतको सुरक्षा नीतिलाई डोहोर्‍याउनुपर्ने बताउँछन् । क्वाडको निर्माण पनि जलमोर्चालाई बलियो बनाउनका लागि नै भएको हो यद्यपि चीनले यसलाई आफ्नो घेराबन्दी प्रयासका रूपमा बुझेकाले भारत यसलाई सामरिक स्वरूप दिन हिचकिचाइरहेको छ । कतिपय विश्लेषकहरू भारतको जलक्षेत्रीय महत्त्वाकांक्षामा अंकुश लगाउन चीनले विकट हिमालय क्षेत्रमा भारतमाथि आक्रमण गरेको पनि बताउँछन् ।

चीनको जोखिम भारतलाई लामै समयसम्म रहने देखिन्छ । चिनियाँ जनमुक्ति सेनाले भारत सीमा अर्थात् वेस्टर्न थिएटरमा आफ्ना सैनिकहरूको संख्यामा व्यापक वृद्धि गरी भारतलाई रणनीतिक दबाबमा राखिरहने संकेत दिएको छ । भारतले अमेरिकासँग रक्षा मामिलाका तीनवटा फाउन्डेसनल अग्रीमेन्ट गरी रणनीतिक सहयोगीका रूपमा उभ्याएकाले चिनियाँ दबाब आइलागेको हो । त्यसो त युक्रेन युद्धमा सिद्धान्तनिष्ठ तटस्थताको सिद्धान्त अपनाएर भारतले आफू कुनै पनि खेमामा नरहेको तर सबैसँग समान रूपमा सहकार्य गर्ने बलियो सन्देश दिइसकेको छ । सन् २०२२ मा क्वाड, ब्रिक्स र (अतिथिका रूपमा) जी७ बैठकमा सहभागी भएर मोदीले विपरीत ध्रुवका बहुपक्षीय फोरमहरूमा आफ्नो सशक्त उपस्थिति दर्ज गरेको छ ।

क्वाडलाई अकस जस्तो गरी चीनविरोधी सामरिक गठबन्धन बनाउन भारतले नै रोकेको हो भने ब्रिक्समा मोदीले पश्चिमको पटक्कै विरोध नगरी त्यसलाई पश्चिमविरोधी संगठनको ट्याग लाग्नबाट जोगाएका हुन् । नयाँ शीतयुद्धका प्रमुख प्रतिस्पर्धी चीन र अमेरिका दुवैप्रति भारतीय रणनीतिकारहरूको शंकाले भारतलाई यस्तो बहुसंलग्नताको नीति अंगीकार गर्न बाध्य बनाएको देखिन्छ । भारतलाई तटस्थता त्याग्नका लागि दबाब दिने अमेरिका र भारतको भौगोलिक अखण्डतालाई जोखिममा पारेको चीन दुवैप्रति भारतको शंका जायज पनि छ । यी दुवै महाशक्तिलाई सन्तुलनमा राख्न भारत बाध्य छ ।

अमेरिकी विश्लेषक एन्ड्रु कोरीब्कोका अनुसार, अमेरिका र उसका पश्चिमी साझेदारहरूले बनाएको उदारवादी नियमलाई भारतले पालन गर्न चाहेको छ । तर चीन र रुससँग मिलेर अन्तर्राष्ट्रिय प्रणालीमा सुधार ल्याउने आकांक्षा पनि भारतले लिएको छ । अहिलेको तटस्थता नीतिले भारतलाई कति फाइदा गर्ला भन्ने प्रश्नहरू पनि उठिरहेका छन् । भारतीय विश्लेषक डा राजेश्वरी पिल्लै राजगोपालन भारतको तटस्थता नीतिले उसलाई सबैको साथी बनाएको बताउँछिन् । तर भारत रणनीतिक जोखिममा पर्दा कोही पनि सहयोग गर्न नआउने खतरा पनि यसले निम्त्याएको उनको भनाइ छ । यस्तो आशंकाका बावजूद भारतले तटस्थता तथा रणनीतिक स्वायत्तताको नीतिलाई छोड्न सक्दैन । अनि भारतको विशाल जनसंख्या तथा बजारका कारण पनि सबै शक्तिराष्ट्रहरू उसलाई फकाउन लागिपर्नेछन् ।

अहिलेको यो प्रवृत्ति कायम रहेमा भारत मध्यम शक्तिबाट ठूलो शक्तिको हैसियतमा उक्लने र विश्व प्रणालीलाई बहुध्रुवीय बनाउन योगदान गर्ने अमेरिकी विश्लेषक डेरेक ग्रसम्यानको आकलन सही छ । स्वतन्त्रतापछिको ७५औं वर्षमा नयाँ शीतयुद्धको आरम्भसँगै भारतका लागि प्रभाव विस्तारको स्वर्णिम अवसर आएको छ । विश्वका प्रभावशाली मध्यम तथा ठूला शक्तिहरूसँग मिलेर भारतले बहुध्रुवीय विश्वको सशक्त ध्रुवका रूपमा आफूलाई उभ्याउन सक्नेछ ।

 

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्