प्रचण्डको नाम लिएर बालेनले प्रचारवाजी गरेपछि माओवादी कार्यकर्ताको डिजिटल प्रतिकार – Janadesh Daily | ePaper

प्रचण्डको नाम लिएर बालेनले प्रचारवाजी गरेपछि माओवादी कार्यकर्ताको डिजिटल प्रतिकार


जनादेश वाच।
फोहोर व्यवस्थापनमा एकपछि अर्को चुनौती थपिँदै गएपछि काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह दल र तिनका नेतामाथि खनिन थालेका छन्। धादिङको बञ्चरेडाँडामा फोहोर बोकेर जाने गाडीमाथि तोडफोड र आक्रमणमा सत्ताधारी दलकै कार्यकर्ता संलग्न हुन थालेपछि मंगलबार बालेन्द्र्द्रले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कडा आलोचन गरेका छन्।

सोमबार बञ्चरेडाँडा आसपासको सडकमा कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका कार्यकर्ताले फोहोर बोकेका गाडीमा अवरोधका साथै गुलेलीबाट ढुंगा पनि हानेका थिए।

दलहरूको अवरोध र संघीय सरकारको असहयोगका कारण फोहोर व्यवस्थापनमा चुनौती झेलिरहेका बालेन्द्र्द्रले बुधबार प्रचण्ड र उनका घरबेटी शारदाप्रसाद अधिकारीमाथि निशाना साँधेका हुन्।

उनले उपत्यकाको फोहोर बोकेर लैजाने सडक प्रचण्डको खुमलटारस्थित घरका मालिक सैलुङ कन्स्ट्रक्सनका ठेकेदार शारदाप्रसाद अधिकारीले आठ वर्षदेखि अलपत्र पारे भन्दै प्रश्न उठाएका हुन्। बालेन्द्रले फोहोर लैजान प्रयोग हुने सडक ८ वर्षदेखि हिलाम्मे अवस्थामा छाडेर नबनाएको भन्दै अधिकारीकै घरमा बसेका प्रचण्डलाई अङ्गरक्षकको संज्ञा दिएका छन्।

‘श्रीमान् प्रचण्डज्यू! उपत्यकाको फोहोर लैजान प्रयोग गरिने ककनीको बाटो विगत ८ वर्षदेखि यस्तो हालतमा बनाउने मान्छेको घरमै अङ्गरक्षक जस्तो बसेर कुन नैतिकताले भन्नु म देश बनाउँदै छु भनेर’, बालेन्द्रले हिलाम्मे र ठूलो खाडलसहितको सडकको भिडिओसहित सामाजिक सञ्जालमा भनेका छन्।

माओवादीको डिजिटल प्रतिकार
बालेन्द्रको यो भनाइलाई लिएर माओवादी कार्यकर्ता आक्रोशित भएका छन्। माओवादीनिकट अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनले आफ्नो असक्षमता लुकाउन बालेन्द्र्द्रले प्रचण्डमाथि निशाना साँधेको जिकिर गरेका छन्।

‘बालेन्द्रजी काम गर्न कति गाह्रो रहेछ यो देशमा राम्रोसँग बुझ्नु भयो। अब प्रचण्डलाई गाली गरेर रमाउनुस्’, उनले भनेका छन्,’अँ साँच्ची तपाईंलाई दाह्री काट्न नदिएको पनि प्रचण्डले नै हो कि!’

उनले माओवादी सरकारले ल्याइदिएको बिजुलीबाट वाईफाई चलाएर प्रचण्डलाई सामाजिक सञ्जालमा गाली गरेको पनि बताएका छन्। ‘प्रचण्डलाई गाली गरेर ज्ञानेन्द्र शाहको जति नजिक हुन खोजे पनि तिमीहरुलाई उनले नै पत्ताउँदैनन् क्यारे!’, उनले भनेका छन्, ‘नभए अलिक अनुभव प्राप्त रवीन्द्र मिश्रलाई सोध्नु।’

 

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्