रुस-युक्रेन युद्धमा के भयो ? अब के हुनसक्छः किभ मात्र होइन मस्कोलाई पनि भैरहेको छ क्षति – Janadesh Daily | ePaper

रुस-युक्रेन युद्धमा के भयो ? अब के हुनसक्छः किभ मात्र होइन मस्कोलाई पनि भैरहेको छ क्षति


जनादेश अन्तर्राष्ट्रिय वाच।
दारा मासिकोट

फेब्रुअरीमा युक्रेनमा आक्रमण गर्दा रूसलाई आफ्नो सैनिक दस्ता अस्थिर पोजिसनमा छ भन्ने पत्तै भएन। उसले ती सैनिकलाई सामर्थ्यभन्दा बढि जिम्मेवारी दियो। उसका धेरै सैनिक एकैपटक तीव्ररूपमा युक्रेनका धेरै मोर्चामा युद्ध गर्न खटिए।

विस्फोटक पदार्थ राखिएका रुट क्लियर गर्नेलगायत आत्मरक्षाको कुनै परवाह नै नगरी रूसले सैनिक खटायो, उसको फौज अघि बढ्दै थियो, तर अस्थिर थियो। नतिजा, रूसी सैनिकहरू एम्बुस, प्रत्याक्रमणको शिकार भए। धेरै लजिस्टिक समस्याहरू पनि देखियो, जसका कारण रूसलाई ठूलो संख्यामा सैनिक र उपकरणको क्षति पुग्यो। युद्धअघिको क्रेमलिनको दुविधाका कारण यस्तो प्रारम्भिक गल्ति भएको थियो। आफ्नो गुप्तचर निकायप्रति मस्कोलाई अति आत्मविश्वास थियो, युक्रेनमा हुने घटना र राजनीतिमा त्यस निकायले पार्ने प्रभाव र आफ्नै सेनाप्रति पनि मस्कोले आवश्यकताभन्दा ज्यादा विश्वास गर्‍यो।

उसले युक्रेनको लड्नसक्ने सामर्थ्य र इच्छाशक्तिलाई अवमूल्यन गर्‍यो। त्यस्तै, किभलाई यति धेरै पश्चिमा शक्तिको सहयोग मिल्छ भन्ने पनि उसले सोचेन। ६ महिनामा आफ्ना यी गल्तिबाट सिक्न सक्थ्यों, तर रूसले फेरि एकपटक आफ्ना थकित सैनिकलाई कमजोर मिसनमा पठाउँदै छ। त्यो मिसन हो, युक्रेनको डोनेस्क, खेर्सोन, लुहानस्क र जापोरिजिया प्रान्त कब्जा गरेर टिकिरहने। जबकि, यी भूभागमा कब्जा जमाएर बस्नका लागि पर्याप्त मात्रामा जनशक्ति र सैन्य उपकरण चाहिन्छ।

विशेषगरी, यहाँका मोर्चा जोखिमपूर्ण छन् र सबैमा रूसी सैनिकले संगठित समर्थकहरूको आक्रमण झेल्नुपरेको छ। र, मस्कोले आफ्नो अत्याधुनिक उपकरण गुमाएको छ। जसलाई परिपूर्ति गर्न सहज छैन। उत्कृष्ट प्रशिक्षण गरेका सैनिकसहित दशौँ हजार मारिएका छन्। त्यसको परिपूर्तिका लागि रूसले विभिन्न समुदायका व्यक्ति र सैन्य समूहलाई भर्ती गर्ने रणनीति लिएको छ, जसले प्रभावकारी लडाकु दस्ता बनाउन सक्दैन। छोटकरीमा भन्नुपर्दा क्रेमलिनले युक्रेनमा लिएको लक्ष्य र त्यसमा फौजले गर्नुपर्ने काममा अन्तर देखिन्छ।

क्रेमलिनले यसका बाबजुद आफ्नो योजनालाई कुनै हालतमा निरन्तरता दिनसक्छ। चार क्षेत्र कब्जा गर्दा युद्धको अहिलेको चरणलाई चाँडै अन्त्य गर्न अरुलाई बाध्य गर्न सकिन्छ भन्ने उसको निष्कर्ष हुनसक्छ। युक्रेनलाई पश्चिमाले दिइरहेको समर्थनलाई कम गर्ने र आफ्नो सैन्य क्षमता पुनर्निर्माण र पुनसंरचना गर्नका लागि समय लिने उसको रणनीति देखिन्छ।

यदि, मस्कोले यो लक्ष्य प्राप्तिका लागि आवश्यक काम गर्न सकेन भने थकित रूसी सेनाले ६ सय २० माइल्स लामो फ्रन्टलाइनमा अधिपत्य जमाइराख्न निकै संघर्ष गर्नुपर्नेछ। क्रेमलिनले आफ्नो सबै उपलब्ध शक्ति प्रयोग गरेर पर्याप्त सैनिक हतियार र तालिमप्राप्त सैनिकको परिचालन गर्न पनि समय लाग्छ। यस्तो अवस्थामा आगामी वर्ष वा अर्को दुई वर्षमा रूसी सेनाले साधनस्रोतको अभाव झेल्नुपर्ने परिस्थिति बन्ने देखिन्छ, जसले युक्रेनी फौजलाई रूसले कब्जा गरेका चारवटै प्रान्तमा फेरि फर्कने अवसर दिनसक्छ।

रिक्त दौड

युक्रेनमा रूसको आक्रमणसँगै उच्च ओहोदाका व्यक्ति मारिन थाले। किभ र खार्किभतर्फ बढ्दै गरेको रूसी दस्ताविरुद्ध युक्रेनको उच्च प्रशिक्षित सेनाले तीव्र आगो र एम्बुसको रणनीति अवलम्बन गरेको थियो। जब धेरै रूसी सेना मारिए, त्यसपछि उसले यी शहर कब्जा गर्ने नीति स्थगित गर्‍यो। बरु उसले दुई पूर्वी प्रान्त डेनेस्क र लुहान्स्क तथा दक्षिणी युक्रेनसहितको डोन्वस क्षेत्रमा ध्यान केन्द्रित गर्‍यो। दुवै ठाउँमा रूसी सेनाले धेरै सफलता पायो। अहिले रूसी सेनाले लुहान्स्क प्राप्त पूरै कब्जामा लिइसकेको छ। त्यस्तै, खेर्सनको ठूलो भूभाग रूसको कब्जामा छ। डेनेस्क र जापोरिजियामा आधाभन्दा धेरै भूभाग रूसको कब्जामा छ।

युद्ध सुरु गर्दा मस्कोको एक मुख्य लक्ष्य चाँडोभन्दा चाँडो सत्ता परिवर्तन थियो। जब त्यो असफल भयो, तब रूसले आफ्ना योजनालाई घटाउँदै लग्यो। र, अहिले क्रेमलिनले आफ्नो संशोधित लक्ष्यमा धेरै ध्यान केन्द्रित गरेको छ। शृंखलाबद्ध रूपमा नीति घोषणा गर्ने, नेतृत्वले विज्ञप्ति निकाल्ने र पछिल्लो तीन महिनादेखि निरन्तर धावा बोल्न काम गरेर रूसले अवैधरूपमा आफ्नो पकडमा रहेका वा अधिपत्य रहेका प्रान्त कब्जा गर्न खोजेको देखिन्छ, सायद यसै वर्षको अन्त्यभित्र उसले त्यस्तो गर्नसक्छ।

यस्तो कदमका लागि रूसले आफ्नो प्रशासनिक आधार तयार गरेको छ। आफूले खोसेका युक्रेनी भूभागमा उसले रूसी नागरिक र प्रशासनिक अधिकारी खटाएको छ। स्कुलमा रूसी पाठ्यक्रम पढाउन इन्स्ट्रक्टरहरू नियुक्त गरेको छ। युक्रेनी इन्टरनेट सेवा प्रदायक र टेलिफोन एरिया कोडलाई रूसी सेवा प्रदायक र कोडमा परिवर्तन गरेको छ। र, युक्रेनी नागरिकलाई रूसी कागजात बोक्नका लागि बाध्य गराउन युक्रेनी पासपोर्ट हटाएको छ। कब्जामा लिइएका क्षेत्रमा रूसले भर्खरै बनाएका कठपुतली सरकारहरूले निर्वाचन आयोग पनि गठन गरेका छन्, ताकि रूसमा आबद्ध हुनेगरी झुठो जनमतसंग्रह गर्न सकियोस्।

खेर्सन र जापोरिजियामा मस्कोले अस्थायी सुरक्षा सेवा कार्यालय खालेको छ, दक्षिणी भेगका प्रशासकलाई सहयोग गर्न यी कार्यालय खोलिएको रूसीको दाबी छ। तर, सायद यहाँ रहेका युक्रेन समर्थक नेटवर्क तहसनहस बनाउन यस्ता कार्यालय खोलिएको हुनसक्छ। क्रेमलिनका लागि यहाँ भूमि बिस्तार ठूलो सफलता हुनसक्छ। एकपटक यी भूभागलाई आफ्नो घोषणा गरेपछि रूसले युद्धविराम गर्नेछ। र, त्यसपछि युक्रेनले गर्ने प्रत्याक्रमणलाई उसले रूसी भूमिमाथिको आक्रमण भनेर परिभाषित गर्नेछ।

आफूले कब्जा गरेर रूसी महासंघअन्तर्गत ल्याएका सबै भूभागमा देशको आणविक सुनिश्चितता लागु हुनेछ भनेर पनि रूसी अधिकारीहरुले घोषणा गर्न सक्नेछन्, यस्तै घोषणा २०१४ मा क्रिमिया कब्जा गरेपछि राष्ट्रपति भ्लादिमिर पुटिनले गरेका थिए। यस्तो योजनाले युक्रेनलाई सहयोग गर्नबाट युरोप र अमेरिकालाई गाह्रो हुने आकलन गरिएको छ। उनीहरु सहयोग कम गर्न बाध्य हुनसक्छन् वा रूससँग लड्नुपर्ने डरले अहिले दिइरहेको सैन्य सहयोग बन्दै गर्न पनि सक्छन्।


समयसँगै युक्रेनले पाइरहेको पश्चिमा सहयोग र युक्रेनमा पश्चिमा चासो कम हुँदै जान्छ भन्ने क्रेमलिनको आशा छ, जसले रूसलाई आफ्ना शर्त राखेर युद्ध टुंग्याउने अवसर दिन्छ।

युक्रेनले रूसद्धारा गरिएको आफ्नो भूमि कब्जा र युद्धविराम स्विकार्ने संभावना अति कम देखिन्छ। ‘रूससँगको युद्ध रोक्नु भनेको उसलाई आरामका लागि समय दिनु हो,’ युक्रेनी राष्ट्रपति भोलोदेमियर जेलेन्स्कीले भनेका छन्।
युक्रेनले पश्चिमा सहयोग पनि निरन्तर मागिरहनेछ। त्यहीकारण २०२२ सम्म रूस र युक्रेनको लक्ष्य ठिक उल्टो हुनेछ, एउटा पक्ष युद्धबाट बच्नेगरी मोर्चामा छ र अर्कोले युद्ध जारी राख्ने योजना बनाइरहेको छ।

रुसको सामरिक शक्ति आगामी रणनीति

युक्रेनी र रूसी सैनिक अगामी साता र महिनामा अझै गम्भीर अवस्थामा पुग्दैछन्। कारण, चाहे फरक किन नहोस्। केही इलाकामा युक्रेनी दस्तासँग बन्दूक सकिइसक्यो, उनीहरु आक्रोशित छन्। रूसले युक्रेनको रक्षा उद्योगलाई काम नलाग्ने बनाउन भूमिका खेलिरहेको छ। तर, भविष्यमा, युक्रेनको अवस्था थप सुदृढ र दीर्घकालिन हुनसक्छ। युक्रेनसँग पर्याप्त सैनिक छन्, पश्चिमा समर्थन र लड्नका लागि दरिलो इच्छाशक्ति छ। रूसले अर्कोतर्फ धेरै अनुभवी सैनिक र उपकरण गुमाइसकेको छ। यसबाट माथि निस्कन गाह्रो हुन्छ।

पश्चिमाको अनुमानअनुसार यो युद्धका क्रममा ४५ हजारदेखि ७५ हजार रूसी सैनिक घाइते वा मारिएका छन्। यसमा भर्खरका सैनिकदेखि उच्च जनरलसम्म पर्छन्। उसले ५ हजारभन्दा धेरै उपकरण गुमाइसकेको छ। रूसी सैनिकले आफ्नो सुरुवाती कमजोरीबाट सिक्दै अपरेशनल र ट्याक्टिकल लेभल अख्तियार गरेको छ। अहिले उसले आफ्नो सर्वोच्च फायरपावर अनुकुल नयाँ रणनीतिहरु बनाइरहेको छ। तर युद्धमैदानमा यस्तो परिवर्तनमात्रै पर्याप्त हुँदैनन्, किनकी रूसले चाडैं नै ठूलो क्षति व्यहोरिसकेको छ।

यी घाटाहरुले रूसलाई आफूले कब्जामा लिएका क्षेत्रमा कायम ररिरहन मुस्किल हुनेछ। कम्तिमा, यदी क्रेमलिनले ती भूभागलाई यस वर्षको अन्त्यसम्म रूसमा गाभ्यो भने बुझ्नुपर्ने हुन्छ कि उसले अति कमजोर भएर त्यस्तो गरिरहेको छ। आफ्नोमा गाभिसकेपछि त्यहाँ टिकिरहनका लागि मस्कोले ठूलो मात्रामा सैनिक र उपकरण राख्नुपर्ने हुन्छ, जो अति गाह्रो छ। उदाहरणका लागि रूसमा देखिएको सैनिक संकट हेर्नुस्। रूसले अहिले आफ्ना सैनिकको परिपुर्तिका लागि एड हक एप्रोच (अल्पकालिन कार्य) गरिरहेको छ। कम्तिमा उसले विभिन्न ९ वटा फरक सैनिकलाई परिचालन गरिरहेको छ, जसमा युक्रेनबाहिर बसेका सक्रिय सैनिक, रिजर्भ सैनिक, मेसिनरी समूह, चेचेन नेता राम्जान काडीरोभप्रति प्रतिवद्ध सेना, बन्दी सैनिकको बटालियन, विदेशी लडाकु, नेशनल गार्ड, स्वयंसेवक, रूसिचजस्ता नाजी शैलीका उग्र दक्षिणपन्थी समूह यसमा पर्छन्।

सैनिक परिचालनको यो प्रणाली राम्रो होइन। रूसी सैनिक र मेशिनरी समूहले लडाँइमा जानेलाई प्रति महिना ३ हजार अमेरिकी डलर दिने भने प्रचार गर्नसक्छन्। तर उनीहरुले अल्पकालिन सम्झौता गरिरहेका छन्। सैन्य भर्तिको मापदण्ड पूरा गरेका छैनन् र केवल केही साताको आधारभूत तालिम दिइरहेका छन्। रूसको सैनिक भर्ति गर्ने सामर्थ्य सायद आगामी महिनाहरुमा उच्च बिन्दुमा पुग्नेछ। उसले आम नागरिकलाई बन्दूक भिराउँदामात्रै यो संख्या बढ्नेछ। तर, सर्वसाधारणलाई युद्धमा होम्नु आफैंमा जोखिम हो। राम्रै परिदृश्यमा पनि यसका लागि महिनौंदेखि एक वर्षसम्मको तयारी लाग्छ।

यसरी आम नागरिकलाई परिचालन गर्ने एउटा आधार रूसको लामो समयदेखिको हतियार भण्डारण हो, अर्को आधार रिजर्भ (पूर्व सैनिक) हुन्। तर ती पूर्व सैनिक एक दशकभन्दा लामो समयदेखि लडेका छैनन्। र, भण्डारमा रहेका हतियार पनि यो अवधिमा प्रयोग भएको छैन। देशभरका सैनिक बन्ने उमेर पुगेका अनुभवहिन युवालाई युद्धका लागि आव्हान गर्दा तनाव थप बढेर जानेछ किनकी त्यस्ता युनिटलाई परिचालन गर्नसक्ने हजारौं अफिसरहरु या त अहिलेको युद्धमा लडिरहेका छन्, या मारिए वा घाइते छन्।

रूसको उपकरण समस्या पनि समाधान गर्न कठिन छ। अमेरिकी सैनिकका अनुसार रूसले आफ्ना ८० प्रतिशत सैनिक (स्थल, जल र हवाई सेना) र उनीहरुका उपकरण यस युद्धमा प्रयोगमा ल्याइसकेको छ। त्यस्तै उसले भण्डारबाट पहिल्यै हतियार झिकिसकेको छ। रूससँग अझै हजारौं थप बख्तरबन्द गाडी र मिसाइल भण्डारण छन्। तर, ती हतियारको क्षमता र विश्वसनिता कम छ। उदाहरणका लागि तीमध्ये धेरै पुराना छन् र मर्मतको खाँचो छ। कतिपय त खुला जमिनमा वर्षौदेखि थन्क्याइएका छन्। रूसी रक्षा उद्योगसँग अझै पनि हतियार उत्पादन गर्ने सामर्थ्य भने छ। तर, पश्चिमाको ठूलो नाकाबन्दीका कारण घाँटी घाँटी भइसकेको यस उद्योगले अहिल्यै अपर्याप्त उत्पादन गरिरहेको छ।
त्यहीकारण, रूसले छोटो सूचनाकै भरमा ठूलो संख्यामा नयाँ उपकरण उत्पादन गर्न गाह्रो छ। आफ्नो रक्षा क्षेत्रलाई उछाल्नका लागि रूसले प्रारम्भिक कदम चालेको छ। गुमेका हतियार फेरि बनाउन र मिसाइल्सको आपुर्ति बिस्तार गर्न यस्तो गरिएको हो। तर, यसको नतिजा निस्कन महिनौं वा केही वर्ष लाग्नसक्छ।

आगामी युद्ध
रूस समस्यामा हुनुको अर्थ युक्रेनको सफलता सुनिश्चित छ भन्ने होइन। किभले पनि धेरै सैनिक र उपकरण गुमाइसकेको छ। निकट भविष्यमै, रूसझैं युक्रेन पनि सायद ठूलो स्केलको आक्रमण वा प्रत्याक्रमण गर्नका लागि संघर्ष गर्नुपर्ने अवस्थामा पुग्नेछ। दुबै देशले थकानबाट भाग्नका लागि ‘एड हक’ प्रयास गर्नेछन्।

युक्रेनसामु रूसले गाभ्न खोजेका भूभागमा रूसी योजना असफल पार्नका लागि कडा लडाँइ लड्नुपर्ने आवश्यकता छ। वा, रूसले गाभिहाले पनि यसलाई चुनौती दिनुपर्ने छ। युद्धमैदानमा आफू माथि पर्नका लागि युक्रेनले निरन्तर रुपमा पश्चिमा समर्थन लिइरहन जरुरी छ। मस्कोले कब्जामा लिइसकेका भूभागलाई उसैको भूमिमा गाभ्न नदिन युक्रेनले प्रत्याक्रमण गरिराख्नु पर्नेछ।

युक्रनेले खर्सोनमा प्रत्याक्रमण गर्नु नै आफ्नो प्राथमिकता रहेको बताइसकेको छ। उसले लामो दूरीबाट रूसी अखडाहरुमाथि हमला पनि गरिरहेको छ। सायद, उसले क्रिमियामा रहेको जलसेनाको हवाई अड्डामा पनि प्रहार गर्नेछ। खर्सोनमा रहेका रूसी सेना सुरुवातमा निकै कमजोर थिए , तर अहिले डोन्बसबाट रूसले त्यहाँ धेरै पठाइसकको छ। यो महत्वपूर्ण भूभागमा रूसलाई चुनौती दिनेगरी युक्रेनले त्यही काम गर्नेछ, जो युद्धमा सुरुवाती दिनमा गरेको थियो। उसले रूसमाथि अति क्षति पुर्‍याउनेछ। जसका कारण रूसी सैन्य नेतृत्व आफ्ना सेनले यो प्रान्त कब्जा गर्न सक्दैनन् भन्नेमा विश्वस्त होस् र उनीहरुको अवस्था तत्कालै अस्थिर बनोस्।

यो गर्नका लागि युक्रेनी सेनाले सुदृढ मोर्चा बनाउन जरुरी छ। रूसको कमाण्ड एन्ड कन्ट्रोल प्रणालीमाथि आक्रमण गर्नुपर्छ। र, लगातार रूसी सेनाको संख्या घटाउँदै लग्नुपर्छ, त्यस्तो अवस्थासम्म जतिबेला उनीहरु निश्चित इलाकामा लड्न निष्प्रभावी बन्दैनन्। रूसका सैन्य रणनीतिकारले आफ्ना सैनिक लड्नका लागि प्रभावकारी छन् वा छैनन् भनेर नजिकबाट अध्ययन गर्दैछन् वा गम्भीर क्षतिको दर नियाल्दैछन्। रूसी जमिनी सेनाका हकमा सैन्य रणनीतिकारको आकलनअनुसार आफ्नो वास्तविक क्षमतामा ५० देखि ६० प्रतिशत क्षति पुगेपछि सैन्य टुकुडी निष्प्रभावी हुन्छ। त्यस्तै, ४० प्रतिशत उपकरण ध्वस्त भएपछि क्षेत्रीय कमाण्ड इन कन्ट्रोल नेटवर्क स्थायी रुपमा भत्किन्छ।

उनीहरुको मान्यताअनुसार आफ्ना ७० प्रतिशत विमान गुमाएपछि एयर फोर्सले काम गर्न सक्दैन। यदी युक्रेनले कमाण्ड एन्ड कन्ट्रोल पोइन्टमा आक्रमण गरेर, उपकरणमा अत्यधिक क्षति पुर्‍याएमा अनि ठूलो संख्यामा रूसी सेनालाई मारेर किभ र खार्किभमा जस्तै प्रतिस्पर्धात्मक मोर्चा बनाउने हो भने मस्कोलाई फेरि आफूले कब्जा लिएका भूभागबाट बाहिरिनुपर्छ भन्ने सोचमा पुर्‍याउन सक्छ।
रूसले आफूले कब्जामा लिएका भूभागलाई देशमा गाभ्नुअघि नै युक्रेनले यस्तो रणनीति कार्यान्वयनमा लैजानसकेमात्रै त्यसमा सफल हुनसक्छ, यस्तो अवस्थामा खर्सोनजस्ता इलाकामा रूस दबाबमा पर्नेछ। यदी रूसले यी भूभाग आफ्नोमा गाभेर युद्धविराम गरेपनि किभ र उसका पश्चिमा समर्थक त्यसका लागि बाध्य हुनेछैनन्।

यी सबैका बाबजुद युक्रेनमा रूसको समग्र महत्वाकांक्षा कायमै रहनेछ। मस्कोले ठूला युक्रेनी भूभागलाई आफ्नो भूमिमा गाभ्न चाहेको छ, उसले युक्रेनलाई सेनाविहिन बनाउन चाहेको छ। ताकि, त्यहाँको सरकारले रूसी कदमविरुद्ध लड्न नसकोस्। र, उसले किभमा रूसी पक्षधर नेता चाहेको छ। बिडम्बनाको कुरा, चारवटा क्षेत्र कब्जा गर्दैमा युक्रेनमा रूसको मिशन समाप्त हुनेवाला छैन। यो त पुटिनको लामो परियोजनाको एउटा चरणमात्रै हो। युक्रेन र उसका सहयोगी लामो युद्धका लागि तयार रहनुपर्छ।

यो लेख फरेन एफियर्स डटकमबाट साभार गरिएको हो- सम्पादक

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्