आजकुशे औंसी: बुबाको सम्मानमा मुख हेर्ने दिन – Janadesh Daily | ePaper

आजकुशे औंसी: बुबाको सम्मानमा मुख हेर्ने दिन


जनादेश, काठमाण्डौं । कुशे औंसी अर्थात् आज बुबाको मुख हेर्ने दिन । आजको दिन आफ्ना बुबालाई मिठो खाना र राम्रा कपडा दिएर सम्मान गर्ने गर्छन ।

यस दिन बुवाको मुख हेर्ने, अर्थात् बुवा दिवसको रूपमा मनाई बुवालाई विशेष सम्मान गर्ने र आमाबाबु नहुनेले तीर्थमा खासगरी गोकर्ण र विष्णुपादुकामा श्राद्ध, तर्पण, दान, पुण्य गरी पितृ तार्ने र आफू पुण्यात्मा बन्ने विश्वास गरिन्छ ।

पितृदिवस भाद्रकृष्ण अमावस्याको दिन हो । अमावस्याको रातका अधिपति पितृ हुन् । मानिसहरूले आफ्ना आमा बाबुहरूको सम्झना खासगरी जीवनको अन्धकारमय रातमैं गर्ने हुँदा अमावस्याका दिनमै ती दुबै दिवसहरू मान्ने गरिआएको हो ।

संस्कृतिविद् हरिराम जोशीका अनुसार छोराछोरी आमा बाबुकै प्रतिरूप हुन् । त्यसैले माता पिताको आदर सत्कार गर्नु छोरा छोरीले स्वयम् आफूले आफैँलाई चिन्नु हो, विगतलाई नियाल्दै प्रगतिपथमा लम्कनु हो ।

हामीले हिजोलाई स्मरण गर्दै आफूलाई डोराउनु पर्छ । यसै तथ्यको परिप्रेक्षमा मात एवं पित दिवसलाई लिन सकिने जोशी बताउनुहुन्छ ।

यस दिवसमा जीवित माता पिताहरूलाई छोराछोरीहरूले विभिन्न प्रकारका मिष्ठान्न तथा अरू अनेकौं लगा आदिहरू ल्याई चढाउने चलन छ ।

यसबाहेक दिवंगत भएका आमा बाबुहरूको सम्झनामा तीर्थ गोकर्णमा गई नुहाई धुआई गर्नुको साथै श्रद्धाञ्जलीस्वरूप तर्पण दिने कार्य गर्दछन् ।

सम्बन्धित तीर्थमा जान नसक्नेहरू आ–आफ्ना पुरोहित वा कर्मनिष्ठ ब्राह्मणकहाँ गई सीधा दान दिनेसमेत चलन पुरानो हो ।

यस्तै, संस्कृतिविद् पुरुषोत्तमलोचन श्रेष्ठका अनुसार बुबाको मुख हेर्ने चलन वैद्धिक कालदेखि नै चलिआएको हो । किनभने यसमा पितृ पक्षको पनि महत्व छ । आजको दिनलाई कुशे औंसी र गोकर्ण औंशी भन्ने पनि चलन छ ।

यस दिनमा विशेषगरी बुबा हुनेहरुले जीवित रुपमा नै मुख हेर्ने गर्छन् । तर बुबा नहुनेहरु पवित्र स्थल त्रिवेणी अर्थात् दुई नदीको संगममा गएर पितृ श्राद्ध गर्ने चलन पनि छ ।

“आजको दिन गोर्कंणमा भीड लाग्ने गर्छ । यो परम्परा प्राचीन कालदेखि नै चलिआएको मानिन्छ,” उहाँ भन्नुहुन्छ, “हाम्रो समाजमा बिहे गरेर गएका छोरी चेलीबेटीका लागि पनि बुबालाई माया र सत्कार देखाउने दिन हो । यस दिन भनेको पिताप्रतिको सम्मान देखाउने दिन ।”

संस्कृतिविद् श्रेष्ठका अनुसार नेपाली संस्कृतिमा सबैलाई आ–आफ्नो ठाउँमा समान स्थान दिएको पाउँछौं । जस्तै ठूलालाई आदर सम्मान र सानोलाई माया र स्नेह दिने संस्कृति छ । त्यही अनुरुप बुबा जसले आफ्लाई धर्तीमा ल्याउनुभयो उहाँका लागि हरेक दिन खास छ । तर पनि आजको विशेष दिन भनेर छुट्याइएको छ ।

श्रेष्ठ भन्नुहुन्छ, “हाम्रो समाजमा मातापितालाई साक्षात शिव पार्वतीको रुपमा लिने चलन छ । दार्शनिक रुपमा हर्ने हो भने संस्कारका सबै पुरुष महादेव हुन् भने सबै महिला पार्वती हुन् । त्यस रुपमा पनि त्यो अवधारणाको विकास भएको हो ।”

“यसबाहेक जीवन हुँदा पनि मान्छन् र जीवन गइसकेपछि पनि सम्मान गर्ने चलन छ । कुशे औंसी वा गोर्कण औंशी यसको सुन्दर उदाहरण हो,” उहाँले भन्नुभयो ।

श्रेष्ठ थप्नुहुन्छ, जीवन छउन्जेलसम्म सम्मान र बितिसकेपछि पनि बुबा पितृ बनेर रहन्छ भन्ने आत्मविश्वास छ र त्यसकारण हिन्दुहरु सधैँ अमर रहने मान्यता छ ।

भौतिक शरीर नष्ट भए पनि हरेक वर्ष सम्मानका साथ श्राद्ध गर्ने चलन छ र यसदिन विशेष स्मरण गरेर जीवित बुबालाई र पितृलाई सम्मान गर्ने चलन छ ।गोरखापत्रबाट

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्