तित्रा , कालिज र दुई थोक तरकारी – Janadesh Daily | ePaper

तित्रा , कालिज र दुई थोक तरकारी


त्यो प्रेम :: भागवत खनाल :: Setopati

भागवत खनाल ।

सात सालको क्रान्तिको बेलाको कुरा हो । रुद्र शमशेर जबरा पाल्पाको तैनाथवाला भएर बसेका थिए । वीर शमशेरका छोरा रुद्र सी क्लासका राणा थिए । उनलाई प्रधानमन्त्रीको रोलक्रमबाट हटाइएको रिस पनि थियो । उनी सात सालको क्रान्तिमा पाल्पाको कमाण्डर बन्न पुगे ।

क्रान्तिपछि रुद्रले तानसेनको खुलामञ्चमा आकर्षक भाषण गरे । ठूला मानिसको मानसिकता पनि त्यही किसिमको हुन्छ । उनले भनेका थिए , ूक्रान्तिमा लागेपछि त्याग गर्न पनि तयार हुनुपर्छ । मैले तित्रा र कालिज खान नपाएको आज सात दिन भइसक्यो ।ू जसले जे पाइरहेको हुन्छ , त्यही नपाउनु नै गुमाउनु हो । रुद्र शमशेरले दैनिक तित्रा कालिज खान्थे । कालिज तित्रा त्यागेर क्रान्तिमा लाग्नु उनको महानता थियो ।

अहिले सामाजिक सञ्जालमा दुई थोक तरकारीको चर्चा छ । सामान्य मध्यमवर्गीय नेपालीको खाना दाल , भातर आटो ढिंडो , तरकारी , अचार र गाउँमा भए दूध दही पनि हो ।

सामान्यतया घरमा पाहुनापाछा आउँदा दुई थोक तरकारी पाक्छ । नत्र एउटै तरकारी पकाउने चलन छ । कहिलेकाहीँ तरकारी पकाए दाल नपकाउने र दाल पकाए तरकारी नपकाउने पनि हुन्छ । गरिबको घरमा त भए पाक्छ , नभए फाकामस्ती नै हो ।
कुनै पार्टीको सदस्यताले व्यक्तिको सोच र संस्कृति बदल्न सक्दैन । रुद्र शमशेर क्रान्तिका कमाण्डर भए तापनि वीर शमशेरका छोरा थिए । उनको अन्तस्करणमा त राणा नै विराजमान थियो । उनले तित्रा कालिज त्याग गर्नु उनको सोचाइमा त्याग नै थियो ।

त्यो मनोविज्ञान स्वाभाविक मानवीय चेतनाको कुरा हो । माननीय प्रदीप ज्ञवाली दुई थोक तरकारी खाने हैसियतको हुनुहुँदोरहेछ भन्ने कुरा उहाँको अभिव्यक्तिबाट प्रकट भएको छ । यस हिसाबले उहाँको रहनसहन र खानपानले माथिल्लो मध्यमस्तरको नेपालीको प्रतिनिधित्व गर्दछ । बोल्दै जाँदा मानिस स्वाभाविकतामा आउँछ रे । आफ्नो संस्कार , सोच र रहनसहन लुकाउन सक्दैन रे । आफूलाई खानदानी र कुलीन देखाउने प्रवृत्ति पूर्वजको पालादेखि पुस्तान्तर हुँदै आएको हुन्छ रे । मनुष्यलाई सबैभन्दा गाह्रो आफैलाई लुकाउन हुन्छ रे ।

यी त भए रे रे का मनोवैज्ञानिक कुरा । अब कुरा आउँछ कम्युनिस्ट हुनुको । कम्युनिस्ट हुँ भन्दैमा संस्कार परिवर्तन हुने होइन , सोच परिवर्तन हुने होइन । मानिसका दुई व्यक्तित्व हुन्छन् ( बाहिरी र भित्री । बाहिरी व्यक्तित्वले पाखण्ड देखाउँछ , भित्रीले आफू जे हो त्यही गर्छ । हाम्रोमा एकै परिवारमा बाबु कम्युनिस्ट , छोरो काङ्ग्रेस र भाइ राप्रपा छन् । उनीहरूको बाहिरी लबेदा मात्र फरक हो । सोच एउटै हुन्छ । बोली फरक हो , बानी एउटै । कम्युनिस्ट हुँ भन्नेले अलि ठुल्ठुला कुरा गर्न पाइन्छ । भावुक र गरिबताना कुरा गर्न पाइन्छ । अरुलाई गरिबमारा भनेर उपहास गर्न पाइन्छ । आफू कम्युनिस्ट बनेर यो राष्ट्रलाई बडो गुन लगाएको अभिनय गर्न पाइन्छ ।

हामी सबै नेपाली हौं । प्रदीप , प्रकाश , पेशल , पिताम्बर , पूर्णप्रसाद , प्रेम , परासर , पम्फा , प्रचण्ड , प्रकाण्ड र पार्थसारथी सबै भाइभाइ । भित्री व्यक्तित्व जस्तो भए तापनि राष्ट्रलाई हितकारी हुने नीति र कार्यक्रम जसले ल्याए पनि समृद्धि आउँछ । प्रदीपजी भलाद्मी , मितभाषी र शालीन हुनुहुन्छ । सायद राष्ट्रको भलो नै चाहनुहुन्छ उहाँ । बोल्दा विचार पुर्‍याउने मान्छे पनि हो । उहाँ एउटा पार्टीमा हुनुहुन्छ र भित्रका वाध्यता पनि होलान् । ती वाध्यताहरू उहाँले राजनीति छाडेर स्वतन्त्र हुनुभयो भने प्रकट होलान् । परन्तु उहाँलाई स्वतन्त्रता प्यारो लाग्ला जस्तो छन्द देखिएको छैन ।

अन्त्यमा उहाँ जे हुनुहुन्छ , त्यही देखिनुभएको मात्र हो । त्यो उहाँको इमानदारी पनि हो ।

लेखकः नेपाल सरकारका पूर्वसहसचिव हुनुहुन्छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्