प्रचण्डलाई फ्रष्ट्रेसन हुने गरी मौलाएका माओवादी गुटः सबैलाई आफ्नै पीर, जोड्नसक्ने सेतु महरा मात्र – Janadesh Daily | ePaper

प्रचण्डलाई फ्रष्ट्रेसन हुने गरी मौलाएका माओवादी गुटः सबैलाई आफ्नै पीर, जोड्नसक्ने सेतु महरा मात्र


जनादेश वाच।

शुक्रबार कार्यकर्ता प्रशिक्षणका लागि सुर्खेत पुगेका माओवादी सुप्रिमो पुष्पकमल दाहाल प्रचण्डले माओवादीभित्र गुटको राजनीति मौलाउँदा स्थानीय निर्वाचनमा अपेक्षाकृत नतिजा नआएको भन्दै आक्रोश पोखे। माओवादीको आधारशिला मानिएको कर्णालीसहित देशभर स्थानीय निर्वाचनमा प्राप्त मतबाट सुन्तुष्ट नरहेको अभिव्यक्ति प्रचण्डमा देखियो।

शुक्रबार बिहानै सुर्खेत विमानस्थलमा प्रचण्डलाई अर्थमन्त्री एवम् पार्टीका उप–महासचिव जनार्दन शर्मा ‘प्रभाकर’सहितका प्रदेश स्वागत गर्न पुगेका थिए। तर, विमानस्थलमा अर्का उप–महासचिव शक्ति बस्नेत देखिएनन्। विमानस्थलबाटै पार्टीकोभन्दा अन्य कार्यक्रममा सहभागी हुन अर्थमन्त्री शर्मा पनि बाहिरिए। पार्टी कर्णाली प्रदेश कमिटीको प्रशिक्षण कार्यक्रममा प्रचण्डसहित, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र उप–महासचिव शक्ति बस्नेतसहितका नेताहरु सहभागी थिए। तर जनार्दन देखिएनन्। कर्णालीमा शर्मा र बस्नेतका फरकफरक गुट छन् । कर्णाली प्रदेश कमिटी अध्यक्ष विमला केसी शर्मानिकट मानिन्छिन् ।

गुटको लडाइँमा रहेका अर्थमन्त्रीसमेत रहेका उप–महासचिव जनार्दशन शर्मा ‘प्रभाकर’ र शक्ति बस्नेतको गृह प्रदेशमै गत चुनावमा नतिजा राम्रो आएन। दुवैको फरक–फरक गुट भएको भन्दै प्रचण्डले आक्रोश पोखेको कार्यकर्ताको बुझाई छ। कर्णालीमा जस्तै केन्द्रमा उप–महासचिव वर्षमान पुन ‘अनन्त’ र शर्माबीचको टसलको आक्रोश पनि प्रचण्डले सुर्खेतमा पोखेको आकलन कार्यकर्ताले गरेका छन्। त्यही आक्रोशका क्रममा उनले पार्टी विघनसम्मको चेतावनीसमेत दिए।

‘धेरैजसो नेताहरुले भित्र–भित्रै गुट बनाए। भन्ने बेला माओवादी केन्द्र नै भनिरहे’, उनले भने, ‘त्यसैले हामीले स्थानीय तह निर्वाचानमा पहाडभन्दा धेरै तराई र मधेश प्रदेशमा हार्यौँ‍।’ प्रचण्डले गुट–उपगुटकै कारण माआवादीले हार भोगेको दोहोर्या‍ए। ‘माओवादी कमजोर हुनुको कारण यही गुट–उपगुटको स्वार्थ नै हो। गुट रोक्न कार्यकर्ताले पहल गर्न सक्नुहुन्छ?,’ उनले सोधे, ‘त्यस्ता स्वार्थीलाई हटाउन झण्डा उठाउन सक्नुहुन्छ? मलाई नेताहरुले भन्दा कार्याकर्ताहरुले बोलाएर आएँ।’

प्रचण्ड कति फ्रष्टेट देखिए भने उनले पार्टी विघटन गर्ने चेतावनी नै दिए। ‘कहिलेकाहीँ त म आफैँ पनि हैरान, परेसान हुन्छु, तपाईंहरुले देख्नु भएको छ, यस्तो स्वार्थ समूह भएको पार्टी चलाई राख्नुभन्दा त बरु कार्ल माक्र्सले गरेको जस्तो पार्टी नै विघटन गरौँ जस्तो लाग्छ कहिले काहीँ’, उनले भने, ‘किनभने पार्टी बनाउने भन्दा गुट चलाउन लाग्ने, गुटबन्दी गर्ने खोज्ने, स्वार्थ समूह बनाउने, व्यक्तिगत स्वार्थ बोकेको गुट मात्रै बनाउने, गुटबन्दीमा रमाउने, गिरोह बनाउनेतिर लाग्ने हो भने किन चाहियो माओवादी पार्टी?’

प्रचण्डले आफ्ना कार्यकर्तासँग गुनासो नरहेको बताउँदै नेताहरूको गुट, उपगुटले माओवादीमा थप समस्या निम्त्याएको दाबी गरे। ‘यी सबै कुरा हेर्दा विश्राम गरौँ जस्तो लाग्छ। उमेर पनि ढल्केको छ। परिस्थिति पनि त्यस्तै छ। तर, जब यो पार्टीलाई क्रान्तिकारी पार्टी बनाउने सपना, बलिदान दिएका सहिद, हजारौं बेपत्ता योद्धा, हजारौं घाइते, अपाङ्ग, सहिद परिवार सम्झिँदा बुढो भएजस्तो पनि लाग्दैन’, उनले भने, ‘अझै पनि २५/३० वर्षका तपाईंहरू जस्तै, तन्नेरी जस्तै लाग्छ। म देशभरी घुमिरहेको छु। दौडिरहेको छु। पर्टी बचाउन, संविधान बचाउन दौडधूप गरिहेको छु।’ प्रचण्डले सबैले नेताहरूले आफूलाई प्रचण्ड ठान्नाले माओवादी कमजोर बन्दै गएको औँल्याए।

माओवादीमा गुटको खेल
माओवादी अध्यक्ष प्रचण्डले भनेझैँ माओवादीमा कति गुट/उपगुट छन् ? करिब ३५ वर्षभन्दा बढी पार्टीको एकल नेतृत्व गरेका प्रचण्डलाई नेतृत्वका लागि कसैले चुनौती नदिए पनि गुटको झमेला भने सधैँभरि ब्यहोर्दै आएका छन् ।

पुस २०७८ मा नेकपा माओवादी केन्द्रको महाधिवेशन हलमा सत्यनारायण भगतले गिरिराजमणि पोखरेलले महोत्तरीमा शहीद रामवृक्ष यादवको सालिक हटाएर निर्मल लामाको सालिक राख्ने तयारी गरेको आरोप लगाए । आरोप त्यतिमा मात्र सीमित भएन र पोखरेलमाथि अपराधीकै संज्ञा दिइयो । त्यही आक्रोशपछि पोखरेलले एक दिन महाधिवेशनको बन्दसत्र नै बहिष्कार गरे । भगतले नेता पोखरेलमाथि त्यति गम्भीर आरोप लगाउने हिम्मत नेता मातृका यादवको आडभरोसामा जुटाएका थिए ।

यादव माओवादीभित्र सधैँभरि नारायणकाजी श्रेष्ठ र गिरिराजमणि पोखरेलको विपक्षमा उभिइरहेका हुन्छन् । महाधिवेशनमा पोखरेल र यादव समूहबीच जस्तो घोचपेच र भनाभैरी चल्यो, त्यसको प्रत्यक्ष प्रभाव ३० वैशाख ०७९ को स्थानीय चुनावमा पर्‍यो । मधेस इञ्चार्ज गणेश साहको निर्णय पोखरेल र यादव दुवै समूहले नमान्ने स्थिति बन्यो । एकले अर्को समूहलाई टिकट वितरणमै रोक्ने, त्यति गर्न नसके चुनावमा बागी उठाएर भए पनि हराउने नीति लिए ।

त्यसको असर थियो, २१ पालिका जितेको माओवादी ९ पालिकामा झर्नु । त्यसको आक्रोश प्रचण्डले कर्णाली पुगेर पोखेका हुन् । जुन सन्दर्भ पोखरेल, यादव र साहको गुटसँग जोडिएको थियो ।

मधेसको चुनावी परिणामका लागि पोखरेल, यादव र साहका तीनवटा गुटको झैझगडाले पार्टीलाई जसरी क्षति पुर्‍यो, त्यस्तै क्षति पार्टीभित्र रहेको वर्षमान पुन र जनार्दन शर्मा गुटबाट भइरहेको छ । एकले अर्कोको अस्तित्व अस्वीकार गर्ने मात्र होइन, बद्ख्वाइँ गर्नसमेत लाग्छन्, पुन र शर्मा । जस्तो, ऊर्जामन्त्री पुन भएको बेलामा प्रचण्डकै निर्देशनमा कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक नियुक्तिमा अलमल गरे, त्यसको कारण घिसिङको सम्बन्ध शर्मासँग बढ्ता जोडिनु थियो । जुन बेला प्रधानमन्त्री केपी ओली प्राधिकरणमा घिसिङलाई नल्याउने मुडमा पुगे, अनि मन्त्री पुनले सिफारिस गरे । भर्नर महाप्रसाद अधिकारी हटाउने प्रकरणमा पुनले सार्वजनिक रूपमै विरोध गरेका थिए ।

नयाँ नयाँ उपसमूह
संविधानसभाबाट संविधान जारी हुँदासम्म आफ्नै समकक्षीहरूले गुट बनाएर चुनौती दिए पनि २०७२ सालपछि भने तेस्रो पुस्ताका नेताहरूले प्रचण्डलाई गुट बनाएर चुनौती दिन थालेका छन् । माओवादीमा कस-कसका गुट छन्ः

नारायणकाजी समूह
श्रेष्ठ समूह माओवादीमा स्थायी गुट हो । २०६५ माघमा माओवादी र एकता केन्द्रबीच एकता भएपछि श्रेष्ठको एक समूह बलियो रूपमा रहेको छ । यही समूहमा रहेका केही नेता असन्तुष्ट भएर माओवादीबाट बाहिरिएर आहुतिको नेतृत्वमा नयाँ पार्टी बनाएका छन् । तर पनि माओवादीभित्रको स्थायी समूह नारायणकाजीको नेतृत्वमा निरन्तर चल्दै आएको छ । पछिल्लो समयमा माओवादीको भ्रातृ संगठन अखिल क्रान्तिकारीमा आएको विवादमा पवन कार्की नेतृत्वको संस्थापनइतर समूहलाई श्रेष्ठ समूहले धाप दिएको छ । केही समयपहिला प्रचण्डसँग रुष्ट भएर श्रेष्ठले पार्टी छोड्ने घुर्कीसमेत लगाउन थालेका थिए । तर, उनको समूहका केही नेता प्रचण्डतिर लागेपछि यो समूह पहिलाको जस्तो एकताबद्ध छैन ।

वर्षमान समूह
माओवादी केन्द्रमा उपमहासचिव वर्षमान पुनको पनि बलियो समूह छ । महासचिवको दाबी गरेका पुनको पनि माओवादीभित्र राम्रै प्रभाव राख्ने समूह रहेको एक स्थायी कमिटी सदस्य बताउँछन् । माओवादीमा पछिल्लो समयमा शक्तिशाली गुट बनाएका पुनले ४० जिल्लाका संगठनमा राम्रो पकड रहेको ती स्थायी कमिटी सदस्यले बताए । बिमारी भएर चीनमा उपचार गर्न गएको समयमा उनको समूह कमजोर बनेको थियो । यद्यपि, फर्केपछि पुनले त्यसलाई पुर्ताल गरेको ती सदस्यले बताए । पार्टीको लुम्बिनी र बागमती प्रदेश अध्यक्ष पुननिकट मानिन्छन् ।

जनार्दन शर्मा समूह
नेकपा माओवादी केन्द्रका उपमहासचिव तथा अर्थमन्त्री जनार्दन शर्माको पनि माओवादी केन्द्रमा सशक्त समूह छ । पुनसँग प्रतिस्पर्धा गर्ने समूह शर्माको नै रहेको माओवादीमा चर्चा हुने गर्छ । आफूनिकट नेताहरू केन्द्रीय कमिटीमा पनि बढी भएकाले उनले महासचिवमा दह्रो दाबी राखेका थिए । महासचिवका लागि केन्द्रीय कमिटीभित्र चुनाव भएको भए शर्मा प्रतिस्पर्धा गर्ने मुडमा थिए । उनीनिकट एक सदस्यले भने, ‘जनार्दन कमरेडको पनि बलियो समूह छ । त्यही भएर महासचिवमा चुनाव भए पनि भिड्ने मनसाय बनाउनु भएको थियो । तर, महासचिव देव गुरुङ सर्वसम्मत भएपछि त्यो च्याप्टर क्लोज भयो ।’ सातवटा प्रदेशमा दुई प्रदेश अध्यक्ष शर्मानिकट मानिन्छन् । प्रदेश नं. १ हर्क लिम्बू र कर्णाली प्रदेश अध्यक्ष विमला केसी शर्मानिकट मानिन्छन् ।

देव गुरुङ समूह
महासचिव देव गुरुङको पनि गुट छ । वैद्यबाट विद्रोह गरेर पुनः माओवादी केन्द्रमा रामबहादुर थापाको नेतृत्वमा फर्केको समूहको नेतृत्व गुरुङले गर्ने गरेको बताइन्छ । पहिला यो समूहको नेतृत्व थापाले गर्ने गरेका थिए । थापा एमाले प्रवेश गरेपछि यो समूहको नेतृत्व गुरुङले गरेको माओवादीका एक केन्द्रीय सदस्यले बताए । यो समूह पनि पहिलाजस्तो एक ढिक्का भने नरहेको एक केन्द्रीय सदस्यले बताए । ती सदस्यका अनुसार उपमहासचिव पम्फा भुसालको टिम शर्मानिकट छ । जसका कारण पुन बलियो भनिएको १ नंं. प्रदेशमा अध्यक्ष शर्मानिकटले जितेका थिए ।

उपगुट झन् चर्को
माओवादीमा प्रचण्डले भनेजस्तै गुटभित्र प्रदेशको शक्ति सन्तुलनअनुसार फरक उपगुट पनि छन्, जसले आफ्नो गुटकाले नपाएपछि अर्को गुटकालाई हराउन पनि पछि पर्दैनन् । १ नं प्रदेशमा पनि नेताअनुसारका गुट छन्, जसमा प्रदेश इन्चार्ज सुरेन्द्र कार्की र सह–इन्चार्ज सावित्रीकुमार काफ्ले, पदम राई, धर्मशिला चापागाईंका आ–आफ्नै ससाना उपगुट छन् । कर्णालीमा पनि नेताअनुसार उपगुट छन् । जनार्दन शर्मा र शक्ति बस्नेतका यहाँ फरकफरक उपगुट छन् । बस्नेत मूल रूपमा वर्षमान पुनको गुटमा भए पनि उनको उपगुट पनि छ । दुवैको फरक–फरक गुट भएको भन्दै प्रचण्डले सुर्खेतमा आक्रोश पोखेको कर्णाली प्रदेश कमिटीका एक सदस्यले बताए । सुदूरपश्चिममा खगराज भट्ट र विना मगरका उपगुट सक्रिय छन् । मगर पुननिकट र भट्ट शर्मानिकट मानिन्छन् । तर, भट्ट र पुनले केन्द्रीयभन्दा भूगोलअनुसार उपगुट चलाइरहेका छन् । मधेस प्रदेशमा तीन उपगुट छन् । मातृका यादव, गिरिराजमणि पोखरेल र गणेश साहका फरकफरक गुट छन् । पार्टीमा समस्या गुटका कारणले आएको हो भने त्यसको समाधान पार्टी नेतृत्व र सम्बन्धित कमिटीले दिनुपर्ने माओवादीका पोलिटब्युरो सदस्य लेखनाथ न्यौपाने बताउँछन् । उनले भने, ‘पार्टीमा समस्याको पहिचान गुट हुन् भन्ने निष्कर्ष निकालेपछि त्यसको समाधान दिनुपर्छ । समयमा नै समस्याको हल भएन भने पार्टी गुटले खान्छ । त्यसपछि विघटन गर्नु पर्दैन । आफैँ सकिन्छ ।’

गुटको विगत
आन्तरिक गुटबन्दीकै कारण ८ वर्षको बीचमा माओवादी ५ टुक्रामा विभाजन भयो । त्यसरी विभाजनको मूल कारण युद्धकालदेखि नै सक्रिय गुटबन्दी थियो । युद्धकालमा तीन गुट सक्रिय रूपमा थिए । अहिले ती तीनै गुटका नेताहरू प्रचण्ड, मोहन वैद्य, बाबुराम भट्टराई तीन पार्टी बनाएर बसेका छन् । युद्धदेखि नै माओवादीको नेतृत्व गर्दै आएका प्रचण्डले पहिला आफैँले गुट सञ्चालन गर्ने गरेको आरोप लाग्ने गरेको थियो । तर, अहिले प्रचण्डले दोस्रो पुस्ताका नेताहरूलाई गुट चलाएको आरोप लगाएका छन् । वैद्यले प्रचण्डसँगको संगत ४ असार ०६९ मा रामबहादुर थापा बादल, पम्फा भुसाल, देव गुरुङ, सीपी गजुरेल, नेत्रविक्रम चन्दसहित बहुमत स्थायी समिति सदस्य लगेर छोडेका हुन् । दोस्रो संविधानसभाको मुखैमा उपाध्यक्ष वैद्यले प्रभावशाली नेताहरू लगेर नेकपा–माओवादी बनाए । प्रचण्डलाई साथ दिँदै आएका वैद्यले पार्टी छोडेपछि एउटा गुट सकिएको थियो । तर, शान्ति प्रक्रियासँगै नारायणकाजी श्रेष्ठ नेतृत्वको एकता केन्द्र मसालसँग एकता गरेपछि अर्को गुट थपिएको थियो । भट्टराई र नारायणकाजी समूहको गुट भने माओवादी केन्द्रमा सक्रिय नै रहे । संविधानसभाबाट संविधान जारी भएलगत्तै उपाध्यक्ष बाबुराम भट्टराई १० असोज ०७२ मा एमाओवादीलाई भत्केको घरको संज्ञा दिँदै पार्टी छोडेर नयाँ शक्ति बनाउनतिर लागे । लामो समयदेखि प्रचण्डलाई राजनीतिक–वैचारिक रूपमा साथ दिँदै आएका डा. भट्टराईले साथ छाडेपछि प्रचण्ड माओवादीमा एकल नेताजस्तो देखिए । तर, पनि श्रेष्ठ समूह सक्रिय नै थियो । अहिले बाबुराम माओवादीकै चुनाव चिन्ह लिएर निर्वाचनमा जाने भन्दै फेरि माओवादी मूलधारमै फर्किने मनस्थितिमा छन्।

सबैलाई जोड्ने सेतु महरा मात्र
माओवादी केन्द्रमा सबैले मान्ने र गुट बनाउन मन नपराउने एक मात्र पात्र उपाध्यक्ष कृष्णवहादुर महरा हुन्। युद्धकालीन समयदेखि अध्यक्ष प्रचण्डका सारथी महरा अहिले पनि पार्टीमा सबैलाई जोड्ने सेतुका रूपमा छन्। पार्टीभित्र मात्र होइन पूर्वमाओवादी घटकका सबै नेताले महरालाई नेता मान्न तयार छन्। केपी ओली सरकारको षड्यन्त्रका कारण केही समय महरा राजनीतिमा निष्क्रिय हुँदा पार्टी छिन्न भिन्न र कमजोर बनेको थियो। महरा फेरि राजनीतिमा सक्रिय हुँदा माओवादीका धेरै पाटा सकारात्मक भएका छन्। माओवादीबाट बिच्किएका बाबुराम समेत माओवादीसँगै सहकार्य गर्दै फर्किने वातावरण बन्दै छ। प्रचण्डले उत्तराधिकारी नतोकेको भए पनि युद्धकालदेखि अहिलेसम्म सधैं साथमा रहेका र सारथी बनिरहेका नेताका रूपमा प्रचण्डका वास्तविक उत्तराधिकारी महरा नै देखिन्छन्।

कम बोल्ने र कूटनीतिक शैलीमा प्रस्तुत हुने महरा शैलीलाई पार्टी भित्र मात्र होइन बाहिर पनि मन पराइन्छ। पार्टीको साध्यका लागि व्यक्तिगत राजनीतिक करिअर जोखिममा राखेका महरा अहिले पनि पूर्वमाओवादी घटकबीच एकता गराउने र वृहत समाजवादी केन्द्र स्थापित गर्ने मिसनमा निरन्तर जुटिरहेका छन्। आफैले पढाएका विद्यार्थी राजनीतिका गुट उपगुटमा सक्रिय भैरहँदा महरा अहिले पनि सर्वमान्य नेताका रूपमा पार्टीको साख फर्काउन अहोरात्र जुटिरहेका छन्।

उपाध्यक्ष महराले संघीयता जोगाउन आफ्नो पार्टीको जित आवश्यक भएको बताएका छन् । रोल्पामा सोमबार आयोजित कार्यकर्ता भेलामा महराले आफ्ना एजेन्डा र मुलुकको राजनीतिक नेतृत्व संरक्षणका लागि आउँदो निर्वाचनमा माओवादीको जित आवश्यक भएको बताएका हुन् । ‘संघीयताको रक्षा गर्नु पहिलो काम हो । अहिले संघीयताको विपक्षमा केही दलहरु लागिपरेका छन् । हामीले संघीयता जोगाउन जित हासिल गर्नु खाँचो छ,’ पूर्वी रोल्पाको सुलिचौरमा आयोजित निर्वाचन केन्द्रित कार्यकर्ता भेलामा महराले भने ।

पार्टीका प्रवक्ता तथा पूर्व उपप्रधानमन्त्रीसमेत रहेका महराले मंसिर ४ मा हुने संघीय र प्रदेश तहको निर्वाचन मिति तय भएपछि पहिलोपटक गृह जिल्लाको भ्रमण गरेका हुन् । सत्ता गठबन्धन दलहरुसँग निर्वाचन साझेदारी गर्ने ठोस निर्णय हुनु अघि महरा रोल्पाको निर्वाचन तयारीबारे जानकारी लिन एवं कार्यकर्ता प्रशिक्षणका क्रममा यहाँ आएका हुन् । उनले शान्ति प्रक्रियापछि माओवादीलाई फुटाउन र सत्तामा पुगेपछि घेराबन्दी पार्न देशी–विदेशी शक्ति केन्द्र लागिपरेको बताए । ती शक्ति केन्द्रलाई परास्त गर्दै अघि बढ्न एकीकृत भएर लाग्नुपर्ने अवस्था आएको उनले बताए । सुलिचौरमा सोमबार प्रदेश ‘क’ अन्तर्गत निर्वाचन क्षेत्र आबद्ध कार्यकर्ताको भेला आयोजना गरिएको थियो । महराले कार्यकर्तासँग विचार मिल्ने र माओवाद मान्ने शक्ति एकजुट हुन समेत आह्वान गरे ।

 

 

 

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्