सत्तारुढ गठबन्धनलाई टुटाउन षड्यन्त्र भइरहेको छ: प्रधानमन्त्री देउवा – Janadesh Daily | ePaper

सत्तारुढ गठबन्धनलाई टुटाउन षड्यन्त्र भइरहेको छ: प्रधानमन्त्री देउवा


चितवन । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्तारुढ गठबन्धनलाई टुटाउन षड्यन्त्र भइरहेको बताउनुभएको छ । उहाँले भन्नुभयो, “गठबन्धन कुनै हालतमा टुट्दैन र तोड्नु हुँदैन पनि ।”

नेपाली कांग्रेस चितवनद्वारा शुक्रवार यहाँ आयोजित ‘जनताको साथमा कांग्रेस अभियान’को समापन एवम् विशेष सम्मान कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री देउवाले गठबन्धनको विरोधमा नबोल्न कांग्रेसका नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभयो ।

गठबन्धन तोड्नु भनेको कांग्रेस पार्टीलाई सिद्ध्याउने षड्यन्त्र भएको जनाउँदै प्रधानमन्त्री देउवाले भन्नुभयो, “बल्ल–बल्ल पार्टी बलियो हुँदै छ, यसलाई सिद्ध्याएर के हुन्छ । यसैले गठबन्धनको विरुद्धमा बोल्ने कुरा छैन ।”

उहाँले गठबन्धन गर्दा पार्टीलाई बढीभन्दा बढी फाइदा हुने गरी लाग्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “गठबन्धनमा बढीभन्दा बढी फाइदा लिन हामी प्रयास गर्छौँ, तर गठबन्धन कुनै हालतमा टुट्दैन, तोड्नुहुँदैन । यसमा ठूलो सहयोग भएको छ । गठबन्धन तोड्ने कुरा गर्नुहुँदैन ।”

गठबन्धनका कारण कांग्रेसले प्रधानमन्त्री, मुख्यमन्त्री र मन्त्री प्राप्त गर्ने अवसर प्राप्त गरेको जनाउँदै प्रधानमन्त्री देउवाले गठबन्धन भएर धेरै निर्वाचित हुँदै गर्दा त्यो अवसर फेरि पनि प्राप्त हुने बताउनुभयो । उहाँले  पार्टीका नेता तथा कार्यकर्तालाई एक ढिक्का भएर निर्वाचनमा होमिन आग्रह गर्नुभयो ।

गठबन्धन भएर सरकार बनेकै कारण नेकपा (एमाले) को एकलौटी अन्त्य भएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “उनीहरूको एकलौटी चलेको छैन, मनोमानी चलेको छैन ।” हिजो बाहिर हुँदा तत्कालीन एमालेको सरकारले गरेको क्रियाकलापको स्मरण गर्न नेता तथा कार्यकर्तालाई आग्रह गर्दै उहाँले गठबन्धन अघि बढ्दै गर्दा सबै ठाउँमा कांग्रेसको सरकार बन्ने सम्भावना रहेको बताउनुभयो । प्रम देउवाले भन्नुभयो, “हिजोको अवस्था कस्तो थियो । ओली सरकारलाई हटाउनुपर्‍यो, हटाउनुपर्‍यो भनेको होइन सबैले ।”

प्रधानमन्त्री देउवाले भन्नुभयो, “अहिले यो हुँदैन, त्यो हुँदैन भन्नु हुँदैन । कांग्रेसलाई बलियो र ठूलो पार्टी बनाउन गठबन्धन आवश्यक छ, भ्रमको पछाडि नलाग्न पनि आग्रह गर्दछु ।”

कतिपयले एमसिसीसँगै अमेरिकी सेना बस्छ भनेर भ्रम फैलाएकामा आपत्ति जनाउँदै उहाँले भन्नुभयो, “खै विदेशी सेना आयो त ? अहिले विदेशी सेना आएको छ त ? यस्तो पनि कुरा पत्याएर हिँड्ने हो ? झुटा आक्षेप लगाउने र प्रचार गरेर पार्टीलाई सिद्ध्याउन खोजेका हुन् । झुटा प्रचार गरेर हाम्रो पार्टीलाई कमजोर बनाउने काम भइरहेको छ, षड्यन्त्र भइरहेको छ ।”

उहाँले वर्तमान सरकारले स्थानीय तहको निर्वाचन निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गरेको र  अगामी मङ्सिरमा हुने प्रदेश र सङ्घको चुनाव पनि शान्तिपूर्ण, स्वतन्त्र र निष्पक्षरुपमा  सम्पन्न हुने बताउनुभयो । उहाँले सरकारले नेपालको संविधान कार्यान्वयनलाई उच्च प्राथमिकता दिएको जानकारी दिनुभयो ।

लोकतन्त्रको हितका लागि गठबन्धन: गृहमन्त्री खाण

कार्यक्रममा गृहमन्त्री बालकृष्ण खाणले पार्टी र लोकतन्त्रको हितका लागि गठबन्धन आवश्यक रहेकाेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “कतिपयलाई रुचिकर नहुन सक्छ । पार्टी र लोकतन्त्रको हितका लागि गठबन्धन जरुरी छ ।” उहाँले विधिको शासन र संविधानको रक्षाका लागि गठबन्धन अघि बढेको छ भन्नुभयो । बीपीको प्रजातान्त्रिक समाजवादको सान्दर्भिकता अझै बढेर गएको उहाँको भनाइ थियो । विश्वमा नेपाललाई चिन्दै गर्दा सगरमाथाको देश, गौतमबुद्ध जन्मिएको देश र बीपीको जन्मभूमि भनेर चिन्ने गरेको उहाँको भनाइ छ ।

कांग्रेसका केन्द्रीय सदस्य श्यामकुमार घिमिरेले निर्वाचनमा  गठबन्धनको उम्मेदवारले हार्नुपर्दा गठबन्धनले हार्ने भएकाले सोहीअनुरूप परिचालन हुन अनुरोध गर्नुभयो । कार्यक्रममा अर्का कांग्रेस केन्द्रीय सदस्य अञ्जनी श्रेष्ठ, बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँ, पूर्वजिल्ला सभापति रामकृष्ण घिमिरे र क्षेत्रीय सभापति राजु सिलवालले आउँदो निर्वाचनमा कांग्रेसलाई पहिलो पार्टी हुने गरी एकजुट बनाएर अघि बढाउनुपर्नेमा जोड दिनुभयो । सो अवसरमा जिल्लाका विभिन्न तह र तप्कामा रहेर पार्टीलाई योगदान पुर्‍याउने जीवित र मरणोपरान्त गरी एक सय ५० लाई सम्मान गरिएको थियो ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्