विद्यालय छोडेर विद्यार्थीसहित खोला तरिहाल्नुपर्ने बाध्यता किन? – Janadesh Daily | ePaper

विद्यालय छोडेर विद्यार्थीसहित खोला तरिहाल्नुपर्ने बाध्यता किन?


blog

हेटौँडा । मकवानपुरको बकैया गाउँपालिका– १२ धेत्रे दमारमा रहेको कालभैरव प्राथमिक विद्यालयमा अध्ययन गर्न आउने विद्यार्थीलाई प्रत्येक बिहान ९ बजे खोला तार्नुपर्ने विद्यालयका प्रधानाध्यापक चेतबहादुर घलेको दैनिकी नै बनेको छ । विद्यालय जाने बाटोमा पर्ने सिमात खोलामा पुल नहुँदा विद्यार्थीलाई खोला तार्नुपर्ने उहाँको दैनिकी हो ।

विद्यार्थीलाई खोला तारेर विद्यालय पुगेर भिजेकै कपडामा अध्यापन गराउने गरेको प्रअ घलेले बताउनुभयो । विसं २०७० बाट शिक्षण पेसामा लाग्नुभएका ३९ वर्षीय घले करिब आठ महिना अगाडि घर नजिकै रहेको उक्त विद्यालयमा सरुवा भएर आउनुभएको हो ।

उहाँ भन्नुहुन्छ, “घर पाएका पारेर त आइयो तर विद्यार्थीको सुरक्षाका कारण भिजेकै कपडामा पढाउन बाध्य छु ।” खोला तारेर विद्यालय पुर्‍याइएका विद्यार्थी पढ्ने विद्यालय भवनको पनि एकपाखो पर्खाल भूकम्पले भत्काएर जोखिम भइसकेको उहाँ बताउनुहुन्छ ।

वर्षातकमा मौसम हेरेर कहिलेकाहीँ त बीचमा नै विद्यालय छोडेर विद्यार्थीसहित खोला तरिहाल्नुपर्ने बाध्यता रहेको प्रअ घलेले बताउनुभयो । कतिपय बालबालिका त खोलाको जोखिमकै कारण विद्यालय नआउने गरेको उहाँको भनाइ छ ।

उहाँले आफू कालभैरवमा आइसकेपछि वडा कार्यालय, गाउँपालिका र मन्त्रालयसम्म विद्यालय भवन र पुलको विषय लिएर पटकपटक अनुरोध गर्न पुगेको बताउनुहुन्छ । उक्त स्थानबाट नजिक रहेका अरू दुई वटा विद्यालय पनि छन् तर उक्त विद्यालयमा पुग्न पनि एकदेखि दुई घण्टा थप समय लाग्ने प्रअ घलेले जनाउनुभयो ।

कक्षा ३ सम्म अध्ययन हुने विद्यालय भवन निर्माणका लागि विभिन्न निकायमा पहल गर्दा ‘एस्थर बेञ्जामिन’ र ‘चाइल्ड रेस्क्यु’ नामक सामाजिक संस्थाले असार महिनामा दुई कोठे भवन बनाउने प्रतिबद्धता जनाएको तर सम्झौता भने हुन बाँकी रहेको प्रअ घलेले जानकारी दिनुभयो ।

सिमात खोला तर्न वर्षामा विद्यार्थीहरूले समस्या भोग्नुपरेको उहाँको भनाइ छ । तामाङ समुदायको बाहुल्यता रहेको विद्यालयमा हाल २७ जना विद्यार्थी अध्ययनरत रहेका छन् । जसमध्ये छात्रा १७ र छात्र १० जना रहेको विद्यालयले जनाएको छ ।

हाल यहाँ बालकक्षादेखि कक्षा ३ सम्मको अध्ययन हुने गरेको छ । बकैयाको धेत्रे, चुवार पाखा, गोदाम डाँडा, अंजिगरेलगायतका स्थानबाट विद्यार्थी करिब ४५ मिनेट पैदल हिँडेर विद्यालय पुग्ने गरेका छन् । भदौ ३१ गते ठूलो पानी परेका कारण विद्यार्थीले खोला तर्न नसक्दा परीक्षा नै स्थगित गर्नुपरेको प्रअ घलेले बताउनुभयो । विद्यालयले हाल लिइरहेको त्रैमासिक परीक्षामा सहभागी हुन विद्यार्थी आउन नसकेपछि परीक्षा स्थगित गर्नुपरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विजयसिंह घिसिङले बताउनुभयो । प्रअसँगै आफू पनि विद्यार्थीलाई खोला तार्न जाने गरेको उहाँले बताउनुभयो ।

धेत्रे र चुवार पाखाका बालबालिकालाई खोला बढेका बेला शिक्षक र स्थानीयले साना बालबालिकालाई खोला तारिदिने गरेको स्थानीय समाजसेवी रुपेन घलेले जानकारी दिनुभयो । स्थानीय, अभिभावक तथा विद्यालयका प्रअले झोलुङ्गे पुल नहुँदा विद्यार्थी विद्यालय आवतजावत गर्न समस्या परेको पालिका तथा वडालाई जानकारी गराए पनि झोलुङ्गे पुल निर्माण गर्न सरोकारवाला निकायले चासो नदेखाएको उनीहरूको गुनासो छ ।

विसं २०५३ मा स्थापना भएको यस विद्यालयमा राहत दरबन्दी एक जना प्रधानाध्यापक र एक जना कार्यालय सहयोगी मात्रै रहेका छन् । बालकक्षा शिक्षिका भने अभाव रहेको विद्यालयले जनाएको छ । रासस

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्