शैक्षिक क्यालेन्डर अनिवार्य लागू गरौं, शिक्षण संस्थामा तालाबन्दी गर्न बन्द गरौं : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री पौडेल – Janadesh Daily | ePaper

शैक्षिक क्यालेन्डर अनिवार्य लागू गरौं, शिक्षण संस्थामा तालाबन्दी गर्न बन्द गरौं : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री पौडेल


जनादेश, काठमाण्डौं ।  शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शैक्षिक क्यालेन्डर आगामी शैक्षिक सत्रदेखि लागू हुने गरी आवश्यक तयारी गर्न राष्ट्रिय परीक्षा बोर्ड र विश्वविद्यालयहरुलाई निर्देशन दिएकाछन् । साथै मन्त्री पौडेलले शैक्षिक संस्थाजस्तो पवित्र स्थलमा तालाबन्दी गर्न नमिल्ने बताए।

राष्ट्रिय परीक्षा बोर्डले सोमबार काठमाडौंमा आयोजना गरेको एक अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री पौडेलले परीक्षा दिएकाहरुले समयमै रिजल्टसमेत प्राप्त गर्न नसकेको विद्यमान अवस्थाबारे चित्रण गर्दै शिक्षामन्त्री पौडेलले अब शैक्षिक क्यालेन्डर अनिवार्य लागू गरी ती समस्या समाधान गर्नुपर्ने स्पष्ट पारे ।

‘अब यो क्यालेन्डर प्रणाली लागू गरौं । आजै कति सक्नु हुन्छ । परीक्षा बोर्डले जनशक्ति पुगेन भने छलफल चलाऔं । विद्यार्थीहरुलाई के जानकारी होस भने मैले यो समय पढेर यो समय रिजल्ट आउँछ । र, म त्यसपछिको यो विषय यहाँ पढ्छु भन्ने कुराको जानकारी भएन भने जाँच दिएको विद्यार्थीले एक वर्षसम्म रिजल्ट नपाएपछि विद्यार्थीहरुले नेपालको शिक्षा खोज्दैनन नि । त्यसकारणले विद्यालय शिक्षामा अब आउने सालदेखि सकेसम्म बैशाख देखि नै क्यालेन्डर प्रणाली लागू हुने गरी अगाडि बढाउने कुरा गरौं । त्यसका लागि के–के अभाव छन्, सहयोग गरौँला । कानुन, नियममा के परिवर्तन गर्नुपर्ने हो ? त्यो गरौंला । त्यसका लागि भन्नुहोला । परीक्षा बोर्डले यो प्रक्रिया सुरु गरोस् । र, विद्यालयबाट कक्षा १२ पास भएर आएका विद्यार्थीहरुलाई उसले चाहेको विषय पढन पाउने कुरालाई विश्वविद्यालयले पनि ग्यारेन्टी हुने गरी आवश्यक सुधार गर्नु पर्‍यो । विश्वविद्यालयमा भएका कमीकमजोरी, त्रुटिहरु सुधार्ने माध्याम भनेको छलफल, बहस हो । तालाबन्दी होइन,’ उनले भने ।

मन्त्री पौडेलले त्यसका लागि आवश्यक कानुनी व्यवस्था गर्नुपर्ने भए आफूले त्यसका लागि तत्काल पहल गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्