सामाजिक सञ्जालबाटै सन्दीपको सन्देशः विक्षिप्त बनेर आइसोलेसनमा छु, छिट्टै नेपाल आउने छु – Janadesh Daily | ePaper

सामाजिक सञ्जालबाटै सन्दीपको सन्देशः विक्षिप्त बनेर आइसोलेसनमा छु, छिट्टै नेपाल आउने छु


जनादेश सोसल मिडिया वाच।
नाबालिका बलात्कारको अभियोग लागेका राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेले आफूमाथि लागेको अभियोगको ‘प्रतिवाद गर्न नेपाल फर्किने तरखर’मा रहेको बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा आइतबार राति स्ट्याटस लेख्दै उनले मानसिक तनाव र स्वास्थ्य खराबीका कारण ‘आइसोलेसन’मा बसेको पनि उल्लेख गरेका छन् । र, चाँडै नेपाल फर्किने उल्लेख गरेका छन् ।

भदौ २१ गते प्रहरीमा दर्ता भएको उजुरीबारे आफूले भदौ २२ गते थाहा पाएको सन्दीपले उल्लेख गरेका छन्। उजुरीपछि केही विद्युतीय सञ्चारमाध्यम र सामाजिक सञ्जालमा एकलौटी तरिकाले, सत्य तथ्य नबुझी झुट्टा जाहेरी मात्रको आधारमा आफ्नो चरित्रमा गम्भीर आँच आउने गरी समाचारहरु आएको पनि सन्दीपले उल्लेख गरेका छन्।

‘मेरो नाउँमा वारेण्ट जारी भएको समाचार र म विरुद्ध परेको जाहेरी सार्वजनिक हुनुले मलाई मानसिक रुपमा विछिप्त बनायो। के गर्ने, के नगर्ने भन्ने सोच्न सक्ने अवस्था मेरो रहेन,’ सन्दीपले सामाजिक सञ्जालमा लेखेका छन्, ‘यी सब कुराले मलाई एकातिर मानसिक असर गर्‍यो भने अर्कोतिर म बिरामी अवस्थाबाट गुज्रिन पर्‍यो। मानसिक तनाव र स्वास्थ्य खराबीको कारणले मैले मलाई आईसोसेसनमा राखेर बसेको छु।’

‘झुट्टा जाहेरी’ कै भरमा अपराधीको चित्रणले मानसिक र शारीरिक रुपमा प्रभावित भइ आफू असन्तुलित अवस्थामा पुगेको पनि सन्दीपले उल्लेख गरेका छन्। ‘डाक्टरहरुको सरसल्लाहामा आफूलाई सामान्य अवस्थामा ल्याउँदै आएको छु र मेरो स्वास्थ्यमा क्रमिक सुधार आउँदै छ। जति सक्दो चाँडो नेपाल फर्किएर म विरुद्दको झुट्टा उजुरीको डटेर प्रतिवाद गर्न नेपाल फर्किने तरखरमा छु,’ सन्दीपले लेखेका छन्।

सन्दीपले अहिले आफू एउटा गम्भीर षड्यन्त्रको सिकार भएको दावी गरेका छन्। ‘राष्ट्रको लागि दिलोज्यानले खेलिरहेको म एउटा इमान्दार क्रिकेट खेलाडी आज एउटा गम्भीर षड्यन्त्रको सिकार भएको महसुस भएको छ,’ सन्दीपले सामाजिक सञ्जालमा लेखेका छन्, ‘मेरो अनुपस्थितिमा मलाई अपराधी सावित गराउने झुटा जाहेरी प्रपञ्चहरुको मैले कानुनी लडाइँ लड्ने छु।’

यस्तो छ सन्दीपले सामाजिक सञ्जालमा लेखेको सन्देश:

१६ वर्षको उमेरमा राष्ट्रिय क्रिकेट टिममा समावेश हुन पाउनु मेरो शैभाग्य हो। त्यो मेरो थोरै मेहनत, परिश्रमले आर्जन गर्न सकिने कुरा थिएन। सकारात्मक सोच, अथक मेहनत र आफूलाई सुधार्न गरिएको निरन्तर प्रयासका साथै मलाई साथ सहयोग गर्नुहुने मेरा परिवार, साथीभाइ र अग्रजहरु लगायत मेरो पुरै क्रिकेट टिमको साथ, सहयोग र आर्शीवादले म आजको अवस्थासम्म पुग्न सकेको हुँ। म सदैव विश्व क्रिकेट जगतमा नेपालको नाम उच्च राख्ने प्रोरणाले अघि बढेको छु। मैले आफ्नो मेहेनतले नेपालको नाम चिनाउन पाउँदा गौरवान्भित महसुस गर्दछु।

मविरुद्द भदौ २१ गते परेको जाहेरी मैले भदौ २२ गते थाहा पाएँ। मविरुद्द परेको झुट्टा जाहेरीको विषयमा विद्युतीय सञ्चारमाध्यम र समाजिक सञ्जालमा एकलौटी तरिकाले, सत्य तथ्य नबुझी झुट्टा जाहेरी मात्रको आधारमा मेरो चरित्रमा गम्भीर आँच आउने गरी समाचारहरु आए। मेरो नाउँमा वारेण्ट जारी भएको समाचार र मविरुद्द परेको जाहेरी सार्वजनिक हुनुले मलाई मानसिक रुपमा विछिप्त बनायो, के गर्ने के नगर्ने भन्ने सोच्न सक्ने अवस्था मेरो रहेन।

यी सब कुराले मलाई एकातिर मानसिक असर गर्‍यो भने अर्कोतिर म बिरामी अवस्थाबाट गुज्रिन पर्‍यो र मानसिक तनाव र स्वास्थ्य खराबीको कारणले मैले मलाई आइसोलेसनमा राखेर बसेको छु। झुट्टा जाहेरीकै भरमा अपराधीको चित्रणले मलाई मानसिक र शारीरिक रुपमा प्रभावित भइ असन्तुलित अवस्थामा पुगि डाक्टरहरुको सरसल्लाहामा आफूलाई सामान्य अवस्थामा ल्याउँदै आएको छु र मेरो स्वास्थ्यमा क्रमिक सुधार आउँदै छ र जति सक्दो चाँडो नेपाल फर्किएर म विरुद्दको झुट्टा उजुरीको डटेर प्रतिवाद गर्न नेपाल फर्किने तरखरमा छु।

क्रिकेटप्रति सानैदेखि जुनुन भएको म एउटा सामान्य परिवारको मानिस हुँ। मेरोलागि जीवनमा क्रिकेट र मेरो देश मात्रै प्राथमिकतामा रहे। मलाई लाग्छ नेपाली क्रिकेटलाई अन्तर्राष्ट्रिय रुपमा चिनाउन मेरो पनि भूमिका रहेको छ चाहे त्यो खेलाडीको रुपमा होस् वा चाहे कप्तानको रुपमा। राष्ट्रको लागि दिलोज्यानले खेलिरहेको म एउटा इमान्दार क्रिकेट खेलाडी आज एउटा गम्भीर षडयन्त्रको सिकार भएको महशुस भएको छ।

मेरो अनुपस्थितिमा मलाई अपराधी सावित गराउने झुट्टा झुट्टा जाहेरी प्रपञ्चहरुको मैले कानुनी लडाइँ लड्ने छु। मैले बुझेसम्म नेपालको संविधानले कसुर प्रमाणित नभएसम्म कसुरदार नमानिने व्यवस्था गरेको छ साथै संविधानले सम्मानपूर्वक बाँच्न पाउने, यातना विरुद्धको हक, गोपनीयताको हक, स्वास्थ्य सम्बन्धीको हक र मेरो कानुन व्यवसायीसँग कानुनी परामर्श गर्न पाउने हक समेत रहेको बुझेको छु।

म र नेपाली क्रिकेटप्रति सद्भाव राख्ने आदरणीय बुवा आमा, दाजु भाइ, मित्रहरु र क्रिकेटप्रेमीहरु, मेरा समर्थकहरुप्रति आभार व्यक्त गर्दछु र म वा मविरुद्द अफवाह फैलाउने समाचारहरु सम्प्रेषण नगरी दिनहुन सम्पूर्णमा विनम्र अनुरोध गर्दछु। सन्दीप विरुद्ध आफूलाई होटलमा लगेर जबरजस्ती करणी गरेको आरोप लगाउँदै एक किशोरीले गत भदौ २१ गते (मंगलबार) प्रहरी वृत्त गौशालामा उजुरी दिएकी थिइन्। उजुरीमाथि प्रारम्भिक अनुसन्धानका क्रममा सन्दीप र उजुरीकर्ता किशोरी एउटा होटलमा गएको र दोस्रो दिन मात्रै बाहिरिएको सीसीटीभी फुटेज भेटिएको प्रहरीले जनाएको छ। पीडित युवतीको उजुरी र प्रारम्भिक अनुसन्धानका क्रममा प्राप्त प्रमाणका आधारमा प्रहरीले सन्दीपलाई पक्राउ गर्न अदालतको अनुमति लिएको थियो। काठमाडौं जिल्ला अदालतले सन्दीपविरुद्ध पक्राउ पूर्जी जारी गरेको थियो। प्रहरीमा उजुरी परेका बेला सन्दीप क्यारेबियन क्रिकेट लिग खेल्न वेस्ट इन्डिज थिए। उजुरी परेको ३ दिनपछि सामाजिक सञ्जालमार्फत् उनले आफू नेपाल फर्किन लागेको बताएका थिए।

 

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्