फेसबुक अपील गरेका सन्दीप लामिछाने कहाँ छन्, इन्टरपोलको डिफ्युजन नोटिसपछि के हुनसक्छ – Janadesh Daily | ePaper

फेसबुक अपील गरेका सन्दीप लामिछाने कहाँ छन्, इन्टरपोलको डिफ्युजन नोटिसपछि के हुनसक्छ


जनादेश वाच।
नाबालिग किशोरी बलात्कारको आरोपमा सम्पर्कविहीन रहेका राष्ट्रिय क्रिकेट टिमका निलम्बित कप्तान सन्दीप लामिछानेविरुद्ध इन्टरपोलले ‘डिफ्युजन नोटिस’ जारी गरेको छ । नेपाल प्रहरीको अनुरोधमा इन्टरपोलले लामिछानेविरुद्ध फरारसूचीमा राख्दै डिफ्युजन नोटिस जारी गरेको हो । उनीविरुद्ध तीन दिनअघि (शुक्रबार) नोटिस जारी भएको प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाले जनाएको छ । उक्त नोटिस जारी भएसँगै लामिछाने इन्टरपोलका सदस्य राष्ट्रका प्रहरीको फरारसूचीमा परेका छन् । यी देशमा लामिछाने भेटिए सम्बन्धित देशका प्रहरीले उनलाई पक्राउ गरी नेपाल प्रहरीलाई बुझाउन सक्छन् ।

गत भदौ ५ गते काठमाडौंको एक होटलमा लगेर नाबालिग किशोरीलाई बलात्कार गरेको आरोपमा लामिछानेविरुद्ध भदौ २२ गते गौशाला प्रहरीमा जाहेरी परेको थियो । घटनाको भोलिपल्टै लामिछाने केन्यविरुद्ध ट्वन्टी-२० श्रृंखला खेल्न नैरोबी प्रस्थान गरेका थिए । उक्त श्रृंखलापछि उनी क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्नका लागि वेस्टइन्डिज पुगेका थिए । जाहेरी दर्ता हुँदा लामिछाने वेस्टइन्डिजमै थिए । त्यहाँ रहँदा नेपाल क्रिकेट संघ (क्यान)को सम्पर्कमा रहेका उनको त्यसपछि भने अत्तोपत्तो छैन । जाहेरी परेको भोलिपल्ट भदौ २३ मा काठमाडौं जिल्ला अदालतले लामिछानेलाई पक्राउ गरी अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको थियो । अदालतको आदेशलगत्तै उनी फरारसूचीमा समेटिएका थिए । त्यसको भोलिपल्ट २४ गते फेसबुक र ट्विटरमार्फत आफू निर्दोष रहेको दाबी गर्दै छिट्टै नेपाल फर्किएर कानुनी लडाइँ लड्ने बताएका उनी अहिलेसम्म नेपाल फर्किएका छैनन् । फेसबुकमा उनले आफू कुन देशमा रहेको भन्नेबारे पनि केही खुलाएका छैनन् । आइतबार पनि उनले पुनः फेसबुकमार्फत आफूमाथि लागेको आरोप निराधार रहेको भन्दै कानुनी उपचार खोज्ने बताएका थिए । त्यसको भोलिपल्टै प्रहरीको अनुरोधमा उनलाई इन्टरपोलले डिफ्युजन नोटिसमा समेटेको हो ।

कहाँ छन् सन्दीप
सन्दीप लामिछाने कहाँ छन् भन्ने खुलेको छैन् । तर, उनी दुबई वा सिंगापुरमा रहेको अनुमान गरिँदै आएको छ । सरकारी स्रोतका अनुसार लामिछानेसँग अमेरिका, क्यानडा, बेलायत, अष्ट्रेलियालगायत आधा दर्जन बढी मुलुकको भिसा छ । सन्दीपले आफूविरुद्ध झुटा गतिविधि भइरहेको दाबी गर्दै नेपाल आएर कानुनी लडाइँ लड्ने उक्त पोस्टमार्फत जनाएका छन् । तर, उनी नेपाल कहिले आउँछन् खुलाएका छैनन् । बरु बिरामी भएको र आफू ‘आइसोलेसन’मा रहेको उनले दाबी गरेका छन् ।

लामिछानेले पोष्ट गरेको भावनात्मक पोस्टले प्रहरी अनुसन्धानलाई कुनै प्रभाव नपार्ने प्रहरी अधिकारीहरु बताउँछन् । काठमाडौं प्रहरी परिसर प्रमुख एसएसपी भरत बोहराले सन्दीपको खोजी कार्य जारी रहेको बताए । सन्दीपविरुद्ध गत भदौ २१ गते प्रहरी वृत्त गौशालामा नाबालिगमाथि जबरजस्ती करणीको कसुरमा किटानी जाहेरी दर्ता भएको थियो । नाबालिगका आफन्तले दर्ता गराएको जाहेरीमा भदौ ५ गते राति सन्दीपले दुईपटक बलात्कार गरेको उल्लेख छ । साँझ नगरकोट घुमाउन लगेर मध्यराति काठमाडौंस्थित ‘होटल काठमाडौं इन’मा लगेर बलात्कार गरेको उजुरीमा उल्लेख छ । उक्त घटना भएको भनिएको भोलिपल्ट ६ भदौमा लामिछाने ट्वान्टी–२० सिरिज खेल्न केन्या प्रस्थान गरेका थिए । उक्त सिरिज नेपालले जितेको थियो । सोही सिरिजपछि लामिछाने क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्न जमैका प्रस्थान गरेका थिए । जमैकामै रहेका बेला सन्दीपविरुद्ध बलात्कारको उजुरी परेपछि उनी त्यहाँबाट निस्किएका थिए । तर, उनी अझै नेपाल आइपुगेका छैनन् । हालसम्म उनी सम्पर्कविहीन छन् । प्रहरी अधिकारीहरुका अनुसार सन्दीपका परिवारका सदस्यले समेत प्रहरीमा सम्पर्क गरेका छैनन् । सन्दीप दुबई वा सिंगापुरमा रहेको र त्यहाँ नेपालबाट केही कानुन व्यवसायी पुगेको हुनसक्ने प्रहरी अधिकारीहरुको अनुमान छ । नेपाल पुग्नेबित्तिकै पक्राउ पर्ने भएकाले उनले विदेशबाटै आफ्नो सबै कानुनी व्यवस्थापन गरेर आउने तयारीमा लागेको प्रहरीको बुझाइ छ । सन्दीपले आफूलाई कानुनी सहयोग गर्न नेपाल क्रिकेट संघ (क्यान)का अधिकारीहरुलाई समेत आग्रह गरेका थिए ।

नेपाल आएर कानुनीरुपमा अगाडि बढ्ने बताइरहे पनि सम्पर्कविहीन भएपछि प्रहरीले अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल)सँग समन्वय गरेर नेपाल ल्याउने प्रक्रिया अघि बढाउने तयारी थालेको छ । त्यसका लागि आवश्यक कागजी प्रक्रिया अगाडि बढाइएको प्रहरीका एक उच्च अधिकारीले बताए । सन्दीप पक्राउ नपरेसम्म अहिले नै कानुनी प्रक्रिया अगाडि बढाउन केही जटिलताहरु रहेका ती अधिकारीले बताए । सन्दीपलाई पक्राउ गर्न जिल्ला अदालत, काठमाडौंले २३ भदौमा अनुमति दिइसकेको छ । काठमाडौं प्रहरी परिसरले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, सबै नाका र जिल्ला प्रहरी कार्यालयहरुलाई यसबारे पत्राचारसमेत गरिसकेको छ ।

यसअघि पनि छिट्टै नेपाल फर्किने बताएर सम्पर्कविहीन भएका लामिछानेविरुद्ध डिफ्युजन नोटिस जारी भएको हो। यससँगै अब लामिछानेलाई पक्राउ गर्न इन्टरपोलमा आवद्ध देशका प्रहरीले पनि सहयोग गर्नेछन्।

 

 

 

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्