अष्ट्रेलियाबाट नेपाललाई हिमानीको दशैं सन्देशः हामीले नगरे कसले गर्ने, अहिले नगरे कहिले गर्ने ? – Janadesh Daily | ePaper

अष्ट्रेलियाबाट नेपाललाई हिमानीको दशैं सन्देशः हामीले नगरे कसले गर्ने, अहिले नगरे कहिले गर्ने ?


जनादेश सोसल मिडिया वाच।

पूर्वयुवराज्ञी हिमानीले साहले देश निर्माणमा सबै एकजुट भएर लाग्न ढिला त भइसकेको छैन भनेर प्रश्न गरेकी छन् । हाल हिमानी ट्रस्टको कार्यक्रमका लागि अष्ट्रेलियामा रहेकी साहले सामाजिक सञ्जाल फेसबुकमा भिडियो पोस्ट गर्दै यस्तो चिन्ता व्यक्त गरेकी हुन् । सामान्यतया राजनीतिक अभिव्यक्ति नदिएकी उनले आज भने भिडियोमा देशले राजनीतिक अस्थिरताले जटिल परिस्थिति भोगिरहेको उल्लेख गरिन् ।

अष्ट्रेलिया र अमेरिकामा रहेका नेपालीलाई वडादसैंको अवसरमा शुभकामना दिँदै हिमानीले आज देशलाई पौरखी हात र साथको आवश्यकता रहेको बताइन् । उनले विदेशमा रहेका नेपालीहरुलाई त्यहाँ सिकेका सीप र ज्ञानलाई नेपालमै खर्च गर्ने बेला आएकोसमेत औंल्याएकी छन् । देशलाई कर्मठ जनशक्तिको आवश्यकता रहेको बताउँदै उनले हामीले नगरे कसले गर्ने ? र अहिले नगरे कहिले गर्ने ? भन्दै प्रश्न गरेकी छन् ।

यस्तो छ हिमानीको भिडियो सन्देशः
मुटुभरी देशको माया हुँदाहुँदै पनि छातीमा देशको माया सजिए तापनि विदेशी कर्मभूमिमा बसेर पसिना भोग्नुपर्ने तपाईं हाम्रो बाध्यता हो । जन्मभूमिलाई कर्मभूमि बनाउन नसक्नु धेरै कारण हुन सक्दछ । अनि थोरैका रहर र धेरैको बाध्यता हुन सक्दछ । जन्मभूमि नेपाल, यहाँको माटोमा मिठो सुगन्ध छ । सौन्दर्य छ, मौलिक संस्कृति छ, अनि आफ्नै अस्तित्व र प्रतिष्ठा छ । आफ्नै भाषा, धर्म, संस्कृति, प्राकृतिक सभ्यता, शिष्टता र पहिचान छ । विविधतामा एकता भएको हाम्रो देश नेपालले अहिले अस्थिर राजनीतिक परिस्थितिको सामना गरिरहेको छ । गौरवशाली वीरहरुको, सगरमाथाको अनि गौतम बुद्धको देश नेपाल आज अनेकौं विषम र जटिल परिस्थितिमा फँसेको हामीमाझ स्पष्ट छ । हामीले नगरे कसले गर्ने ? र अहिले नगरे कहिले गर्ने ?

तसर्थ आज देशलाई कर्मठ जनशक्तिको आवश्यकता छ । विकसित राष्ट्रियहरुको रुपमा उभिएको नेपाललाई आज पौरखी हात र साथको आवश्यकता छ । अब विदेशमा पढेको ज्ञान र सिकेको सीप आफ्नै देशमा खर्चने बेला आएको छ । आज सबै एकजुट भएर हातेमालो गर्दै देश निर्माणमा लाग्न ढिला त भइसकेको छैन ? भन्ने आह्वानका साथ सबैलाई सोच्ने आग्रह गर्दछु । हाम्रो चाडबाडले सजिएको सुन्दर देशको एक ठूलो पर्व वडादसैंको अवसरमा अस्ट्रेलिया र अमेरिकालाई कर्मभूमि बनाएर रहनुभएका समस्त नेपाली आमाबुबा, दाजुभाई, दिदीबहिनी एवम् यस हिमानी कोष अस्ट्रेलिया र अमेरिकाका च्याप्टरका सम्पूर्ण सदस्यहरुलाई माता भवनी सधैं आशीर्वाद दिउन् भन्ने शुभेच्छाका साथ समृद्धि, आयु र आरोग्यको लागि हार्दिक मंगलमय शुभकामना दिन चाहन्छु धन्यवाद ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्