शीर्ष नेतालाई सर्कुलरपछि गठबन्धनको निर्णायक बैठकः यस्तो छ अहिलेसम्म संघ र प्रदेशको सहमति – Janadesh Daily | ePaper

शीर्ष नेतालाई सर्कुलरपछि गठबन्धनको निर्णायक बैठकः यस्तो छ अहिलेसम्म संघ र प्रदेशको सहमति


जनादेश वाच।

सिट बाँडफाँटका लागि शीर्ष नेतासहित कार्यदलको बैठक आज बस्ने भएको छ । शीर्ष नेताहरूसहित कार्यदलको बैठक बस्न लागेको हो । बैठकले सिट बाँडफाँट टुंगो लगाउने कार्यदलले दाबी गरेको छ । यसअघि मंगलबार बालुवाटारमा बसेको कार्यदलको बैठकले प्रदेशसभामा सिट बाँडफाँटको मापदण्ड बनाएको थियो । बैठकले प्रदेशसभामा सिट बाँडफाँटका लागि दुईवटा मापदण्ड तय गरेको कार्यदलका सदस्य तथा जनता समाजवादी पार्टी (जसपा)का प्रवक्ता मनिस सुमनले जानकारी दिएका छन् । उनका अनुसार ०७४ सालमा जितेको क्षेत्रमा सोही दलले लिने र त्यतिबेलाको समानुपातिक सिटलाई आधार बनाउने सहमति भएको छ ।

शीर्षलाई सर्कुलर
गठबन्धनले प्रतिनिधि सभा र प्रदेश सभा सिट बाँडफाँटबारे अन्तिम निर्णय गर्न भन्दै आफ्ना प्रभावशाली नेतालाई कुनै कार्यक्रम नराख्न र बाहिर नजान निर्देशन दिएको छ। पाँचै दलका शीर्ष नेतासहित सिट बाँडफाँटबारे सहमति गराउन बनेको ११ सदस्यीय कार्यदलको बैठक आज (बुधबार) बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको हो। बैठकमा अनिवार्य उपस्थित हुन र अन्य कार्यक्रम नराख्न कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी, जनता समाजवादी पार्टी (जसपा)ले प्रभावशाली पदाधिकारी र नेतालाई आन्तरिक सकुर्लर गरेका छन्। पाँचै दलबाट कार्यदलमा ११ सदस्य छन्। यस्तै शीर्ष नेताहरुमा प्रत्येक दलबाट वरिष्ठ उपाध्यक्ष सहभागी गराइरहेका छन्। निर्णायक भनेर बुधबार तय गरिएको बैठकले प्रतिनिधि सभाको मिल्न बाँकी क्षेत्र र प्रदेश सभाको क्षेत्रबारे सहमति बनाई निर्णय गर्ने भनिएको छ।

गठबन्धनबीच संघीय संसद्अन्तर्गत धनकुटा, सल्यान, मोरङ ४ र ५, सुनसरी ४, काठमाडौं २, ३ र ७, सप्तरी १, बारा ३, महोत्तरी ३, धादिङ १ लगायतका क्षेत्रमा कुरा मिल्न बाँकी छ। अन्य क्षेत्रमा लगभग सहमति जुटेको कार्यदलका एक सदस्यले जानकारी दिए। कांग्रेसले ८५, माओवादी केन्द्रले ४७, एकीकृत समाजवादी १७, जसपा १४ र राष्ट्रिय जनमोर्चाले २ सिट पाउने निश्चित भइसकेको छ । जसपा र एकीकृत समाजवादीले सिट संख्यामा चित्त बुझाएका छैनन्। कांग्रेसभित्रको तीव्र विवादका कारण आफूले पाउने सिट संख्या बढ्नुपर्ने उसको अडान छ। गठबन्धनका नेताहरुले नमिलेको स्थानमा प्रदेशको बाँडफाँट गरेर सहमति गराउने प्रयास गरिरहेका छन्। त्यसबाहेक प्रदेश सभातर्फ पनि २ सय २० क्षेत्रमा सहमतिउन्मुख छ।

सय क्षेत्रमा एकल मात्र दाबी भएकोले ती क्षेत्रमा विवाद नभएको ती नेताले बताए। मंगलबार बसेको कार्यदलको बैठक प्रदेश सभाका ३३० मध्ये २२० क्षेत्रमा सहमति नजिक पुगेको हो।

प्रदेश सभातर्फ सहमति
यसैबीच, प्रदेशसभातर्फका सिट बाँडफाँटमा पनि मोटामोटी सहमति भएको स्रोतले जनाएको छ। ‘आजको बैठकमा प्रदेशसभाको सिट संख्याबारे छलफल भयो’, ती सदस्यले भने, ‘मोटामोटी प्रस्ताव र दाबी प्रस्तुत भएका छन्, सय सिटमा एकल दाबी भएकोले मिलिसक्यो, अन्यमा भोलि ८ बजे शीर्ष नेतासहितको बैठकले टुंगो लगाउने भनेका छौँ।’ स्रोतका अनुसार कांग्रेसले प्रदेशमा आधा बढी सिट दाबी गरेको छ। उसले कम्तीमा १६५ सिट प्रदेश सभाको दाबी गरेको छ। यस्तै माओवादी केन्द्रले ७० सिट पाउने लगभग निश्चित छ। ‘भोलि एउटा सहमति गर्ने भनेर नेताहरुले भन्नुभएको छ’, कार्यदलका अर्का एक सदस्यले भने, ‘कुन दलले कहाँ कति लिने निष्कर्ष निस्कन सक्छ।’ कार्यदलका अर्का सदस्यले भने संघकै सिट मिल्न बाँकी रहेकोले २२ गतेअघिसम्म मिलिहाल्ने सम्भावना नरहेको बताए।

‘चमत्कार केही भए यताउता होला नत्र तत्काल सहमति जुटिहाल्ने सम्भावना देखिँदैन, एक्लै गए जितिँदैन भन्ने सबैले महसुस गर्नुभएको छ’, ती नेताले भने, ‘गठबन्धन जोगाउन प्रयासरत हुनुहुन्छ।’

निर्वाचन क्षेत्र हेरफेर
स्रोतका अनुसार गठबन्धनका शीर्ष नेता र कार्यदलले प्रतिनिधि सभा र प्रदेश सभाका सिट हेरफेर/साटफेर गरेर पनि सहमति जुटाएका छन्। तर, कहाँ–कहाँ साटफेर भयो भन्ने खुलेको छैन। काठमाडौं २, ३ र ७, सोलुखुम्बु, तनहुँ २, बारा ४ लगायतका क्षेत्र फेरबदल भएका छन्। अन्य क्षेत्रहरुमा पनि साटफेर गरेर बाँडफाँट गरिएको स्रोतको दाबी छ। सञ्चारमाध्यममा गठबन्धनबीच सहमति भएका निर्वाचन क्षेत्रका विषयमा समाचार सार्वजनिक भएका थिए। ‘प्रतिनिधि सभाको सिट बाँडफाँट गर्दा यसअघि भएका छलफलभन्दा अहिले धेरैमा फेरबदल गरिएको छ, पहिला भएका साटफेर पनि भएका छन्’, स्रोतले भन्यो, ‘पूरै सहमति भएर निर्णय बाहिर आउँदा मात्र थाहा हुनेछ।’ सिट बाँडफाँटका लागि २२ साउनमा पहिलोपटक कार्यदलको बैठक बसेको थियो। कार्यदलले धेरै समय लगाएर छलफल गर्दा पनि सहमतिको खाका प्रस्तुत नगरेपछि शीर्ष नेतृत्वबीच छलफल भएको हो।

 

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्