रविन्द्र मिश्रको राजावादी यात्राः राप्रपाबाट काठमाडौं १ मा उठ्ने तयारी तर पहिलो गाँसमै ढुंगा – Janadesh Daily | ePaper

रविन्द्र मिश्रको राजावादी यात्राः राप्रपाबाट काठमाडौं १ मा उठ्ने तयारी तर पहिलो गाँसमै ढुंगा


जनादेश वाच।
आम निर्वाचन नजिकिँदै गर्दा नेताहरु राजनीतिक दल प्रवेश गर्नु नौलो विषय होइन। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले पनि बुधबार विवेकशील साझाका पूर्वअध्यक्ष रवीन्द्र मिश्रलाई पार्टीमा भित्र्याएको छ। स्थापनाकालदेखि नै टुटफुटबाट गुज्रिँदै आएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले स्थापनाको छोटो समयमै विलय भएको साझा पार्टीका संस्थापक नेता तथा विवेकशील साझाका पूर्व अध्यक्षलाई पार्टीमा भव्य कार्यक्रमको आयोजना गरी स्वागत गरेको छ। राष्ट्रिय सभागृहमा ‘राष्ट्रिय प्रजातन्त्र पार्टी तथा रवीन्द्र मिश्र नेतृत्वको बृहत्तर धुव्रीकरण पक्षधरबीचको एकता घोषणा’ सभामा राप्रपाले मिश्रलाई स्वागत गर्‍यो।

बुधबार दिउँसो एक बजेका लागि तय भएको कार्यक्रम एक घन्टा ढिला गरी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन र रवीन्द्र मिश्र कार्यक्रम हलमा प्रवेश गर्नेवित्तिकै सुरु भयो। लिङ्देन र मिश्रलाई हलभरीका नेता कार्यकर्ताले तालीको गडगडाहटले स्वागत गरे। साथमा राप्रपाका पूर्व अध्यक्ष पशुपति शमशेर राणा पनि थिए। राप्रपाका पदाधिकारी तथा मिश्रसँगै विवेकशील साझाबाट छुट्टिएर आएका केही कार्यकर्ता पनि लिङ्देन र मिश्रसँगै थिए। लिङ्देन र मिश्रले संयुक्त रुपमा आधुनिक नेपालका राष्ट्र निर्माता पृथ्वीनारायण शाहको तस्बिरमा माल्यार्पण गरे। त्यसपछि एकता घोषणापत्रमा हस्ताक्षर गरेर एकले अर्कोलाई फूलमाला लगाइदिए। कार्यकर्ताको ताली र हुटिङले रौनक बढेको थियो। मिश्र र लिङ्देनसँगै उपस्थित सबै नेता कार्यकर्ता उत्साहित थिए। लिङ्देन र मिश्रले एकअर्कालाई माला लगाएर सक्न नपाउँदै राप्रपा पूर्व अध्यक्ष राणाले मिश्रलाई खादा लगाइदिन खोजेका थिए, तर मिश्रले त्यो खादा मागेर राणालाई नै लगाएर सम्मान भाव व्यक्त गरे।

राप्रपा उपाध्यक्ष बुद्धिमान तामाङले स्वागत मन्तव्य गर्दा मन्तव्यको अधिकांश समय मिश्रलाई स्वागत गर्न र उनको तारिफ गर्नमै खर्चिए। पार्टी प्रवेश गराउने वार्ता टोलीका संयोजकसमेत रहेका तामाङले यो वार्तालाई निष्कर्षमा पुर्‍याउन कठिन भएको अवस्थामा अध्यक्ष लिङ्देनको भरपुर साथ रहेकाले एकता सम्भव भएको बताए। मिश्र पनि पार्टीमा समाहित भएपछि पार्टी धेरै अगाडि बढ्ने उनले विश्वास व्यक्त गरे। उनले मिश्रको प्रशंसा गर्दै भने, ‘म एजेड छु, उहाँ कपाल फुले पनि जवान हुनुहुन्छ। हाम्रो प्रत्यक्ष रुपमा धेरै पटक भेटघाट नभए पनि उहाँलाई म विचारको धनी व्यक्तिको रुपमा चिन्छु।’

त्यसपछि कार्यक्रममा सम्बोधन गरेकी मिश्रसँगै विवेकशील साझा पार्टीबाट राप्रपामा प्रवेश गरेकी नेतृ शोभा शाक्यले विवेकशील र राप्रपाको धेरै मुद्दाहरु मिल्दाजुल्दा रहेका दाबी गरिन्। लिङ्देन र मिश्र दुबैले भ्रष्टाचार गर्नु भनेको आमाको रगत खाएजस्तै हो भनेका कारण आगामी दिनमा मुलुक र पार्टीमा भ्रष्टाचार नहुने विश्वास पनि व्यक्त गरिन्। राप्रपाका पूर्व अध्यक्ष पशुपति शमशेर राणाले मिश्रलाई न्यानो अंकमाल भन्दै पार्टीमा स्वागत गर्न पाउँदा खुसी व्यक्त गरे। उनले दुई युवासँगै मिलेर आफू ८१ वर्षको बुढोले पनि देशमा भइरहेको ब्रम्हलुट अन्त्य गर्ने इच्छा अब पूरा हुने व्यंग्यात्मक शैलीमा प्रस्तुत गरे।

त्यसपछि कार्यक्रममा मिश्रले आधा घन्टा जति सम्बोधन गरे। सम्बोधनको धेरै समय मुलुकका प्रमुख राजनीतिक दलहरुलाई गाली गर्नमा खर्चिए। छोडेर आएको पार्टी विवेकशील साझाकी अध्यक्ष समीक्षा बास्कोटा क्षमतावान् भए पनि पार्टीभित्र जटिल अवस्था भएको उजागर गरे। ‘राप्रपालाई देशको पहिलो नम्बरको पार्टी बनाएर पूर्व अध्यक्ष राणाजसरी ८१ वर्षको उमेरसम्म बाँचेर मुस्कुराउँदै मर्ने मन छ,’ मिश्रले भने। कार्यकर्ताले मिश्रको सम्बोधनमा ताली र सिटी बजाएर उर्जा थपिदिएका थिए। कार्यक्रमको अन्त्यमा सम्बोधन गरेका पार्टी अध्यक्ष लिङ्देनले सम्बोधनको सुरुमै रवीन्द्र मिश्रलाई नायकको संज्ञा दिए। रवीन्द्र मिश्रलाई पार्टीमा भित्र्यायाउँदै पदको लागि कहिल्यै झगडा नगर्ने प्रतिवद्धता जनाए। मिश्र राप्रपामा प्रवेश गर्दा आफूलाई मात्रै नभइ राजतन्त्रको आवश्यकता ठान्ने र संघीयताको खारेजी चाहनेको लागि पनि खुसीको दिन भएको उनले तर्क गरे। करिब ४५ मिनेट सम्बोधन गरेका उनले ठूला राजनीतिक दलको कार्यशैलीलाई गाली गर्दै राप्रपा पहिलो पार्टी हुने दाबी गरे। मिश्रको राजनीतिमा व्यवस्था हैन, अवस्था बदल्नुपर्छ भन्ने सिद्धान्तलाई सहमति जनाउँदै अब राप्रपा नरोकिने गरी अघि बढेको बताए। पार्टीमा सहज महशुस गरेर आशंकाको नजरले हेरेकालाई असत्य साबित गरिदिन लिङ्देनले मिश्रलाई आग्रह गरे। समानुपातिक सांसद्को बन्द सूची तयार पार्दा गुटबन्दी र साइनोको आधारमा नबनाइएको भन्दै कार्यकर्तालाई असन्तुष्टि पोख्न जरुरी नरहेको भन्दै कार्यक्रम टुंग्याए। मिश्र राप्रपा प्रवेश गरेपछि केही प्रश्नहरु उब्जिएका छन्। गत स्थानीय तहको निर्वाचनमा विवेकशील साझाले निराशाजनक नतिजा ल्याएपछि पार्टी अध्यक्षबाट राजिनामा दिएका मिश्र राप्रपामा कति समय टिक्लान्? छोटो समयमै अस्थिर नेताको छवि बनाएका उनी राप्रपामा जाँदा राप्रपा र उनको व्यक्तिगत राजनीतिक भविष्यमा के फाइदा होला?

अध्यक्ष लिङ्देनपछिको वरियतामा रहने गरी प्रवेश गरेका मिश्रलाई राप्रपामा टिक्न कति सहज होला त्यो पनि अर्को महत्वपूर्ण पाटो हो। मिश्र प्रवेश गर्ने तयारी गर्दैगर्दा पार्टीमा चरम असन्तुष्टि बढेको छ। पार्टी परित्याग गरेर नयाँ पार्टी खोलेका राप्रपाका पूर्व अध्यक्ष कमल थापा निकट रहेका तर लिङ्देनकै राप्रपामा बसेका नेताहरु मिश्रलाई पार्टीमा प्रवेश गराएको लिङ्देनको निर्णयमा खुसी छैनन्। पार्टीको नेतृत्व गर्न पुगेका मिश्रलाई पार्टीभित्र पत्याउने वातावरण बनेन भने मिश्रलाई राजनीतिमा फेरि अर्को चुनौति थपिने छ। राप्रपाका वरिष्ठ नेता डा. प्रकाशचन्द्र लोहनीलाई एकता एकता घोषणासभा नदेखेपछि राप्रपाका नेता–कार्यकर्तामा उनी किन उपस्थित भएनन् भन्ने प्रश्न उठाएका थिए।

रविन्द्र मिश्रको समूहसँग एकता प्रक्रियाका लागि लोहनी सकारात्मक नै थिए। बुद्धिमान तामाङलगायत केही नेताहरु वरीयताका विषयमा असन्तुष्ट भए पनि लोहनी मिश्रलाई भित्र्याउने विषयमा सकारात्मक थिए। घोषणासभामा अनुपस्थितका बारेमा लोहनीले यो कुनै ठूलो विषय नभएको भन्दै थप प्रतिक्रिया दिन मानेनन्। उनले घोषणासभामा जानु भएनछ नि भन्ने प्रश्नको जवाफमा भने, ‘कुन ठूलो कुरा हो र?’ तर राप्रपाका सहायक प्रवक्ता मोहन श्रेष्ठले पूर्वनिर्धारित कार्यक्रम भएका कारण घोषणासभामा अनुपस्थित भएको बताए। लोहनीको अनुपस्थितिले रविन्द्रलाई राप्रपा यात्रामा पहिलो गाँसमै ढुंगो लगाइदिएको छ।

काठमाडौं एकको रहर
रवीन्द्र मिश्रले काठमाडौंको क्षेत्र नंबर १ बाट उम्मेवारी दिने तयारी गरेका छन् । शुक्रबार दिउँसो उनले काठमाडौंको निर्वाचन क्षेत्र नंबर १ बाट उम्मेदवारी दिने घोषणा गर्ने जनाएका छन् । बानेश्वरस्थित थापागाउको एक ब्याङ्कक्विट मार्फत मिश्रले चुनाव लडने क्षेत्रको घोषणा गर्न लागेका हुन् । ०७४ को संघिय निर्वाचनमा मिश्रले काठमाडौंको क्षेत्र नंबर १ बाट नै उम्मेदवारी दिएका थिए । उनले ०७४ मा सम्पन्न निर्वाचनमा विवेकशिल साझा पार्टीबाट उम्मेदवारी दिएका थिए ।

 

 

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्