भारतीय कांग्रेसको नेतृत्व गान्धी परिवारबाट बाहिरः चुनावमा शशि थरूर र दिग्विजय सिंहको भिडन्त – Janadesh Daily | ePaper

भारतीय कांग्रेसको नेतृत्व गान्धी परिवारबाट बाहिरः चुनावमा शशि थरूर र दिग्विजय सिंहको भिडन्त


जनादेश अन्तर्राष्ट्रिय वाच।

भारतीय कंग्रेसले २२ वर्षपछि चुनावबाट पार्टी अध्यक्ष छान्ने भएको छ। द हिन्दुका अनुसार सन् २००० मा सोनिया गान्धीले जितेन्द्र प्रसादलाई हराएर कंग्रेसको नेतृत्व सम्हालेकी थिइन्। गान्धी परिवारको विशेष पकड रहेको कंग्रेसमा उनी लगातार २०१७ सम्म अध्यक्ष भइन्। त्यसपछि उनका छोरा राहुल गान्धी बिना चुनाव अध्यक्ष चुनिए। सन् २०१४ को आम चुनावमा पराजय व्यहोरेको कंग्रेसले सन् २०१९ को आम चुनाव पनि हारेपछि राहुलले राजीनामा दिएका थिए। राहुलले राजीनामा दिएपछि सोनिया फेरि कंग्रेसकी अध्यक्ष बनेकी थिइन्।

नयाँ अध्यक्ष चुन्न शुक्रबार मनोनयन दर्ताको कार्यक्रम राखिएको छ। अहिलेसम्म केरलाको तिरूवनन्तपुरमबाट लोकसभा सदस्य रहेका शशि थरूर र मध्य प्रदेशका पूर्वमुख्यमन्त्री एवं राज्यसभा सदस्य दिग्विजय सिंह भिड्ने भएका छन्। यसअघि राजस्थानका मुख्यमन्त्री अशोक गेहलोत पनि कंग्रेस अध्यक्षको दौडमा रहेको चर्चा व्यापक थियो। सोही चर्चाका कारण राजस्थानको कंग्रेस राजनीति निकै दिन तरंगित भयो।

बिहीबार अध्यक्ष सोनिया गान्धीलाई भेटेपछि गेहलोतले आफू अध्यक्षको चुनाव नलड्ने घोषणा गरेको टाइम्स अफ इन्डियाले जनाएको छ। आज उम्मेदवारी दर्तापछि केही दिन उम्मेदवारी अध्ययन, छानबिन र फिर्ताको समय दिइएको छ। एक जनाभन्दा बढी उम्मेदवार भएमा अक्टोबर १७ मा चुनाव हुनेछ। प्रदेश कंग्रेस कमिटीका ९ हजार बढी प्रतिनिधिले अध्यक्ष छान्न मतदान गर्नेछन्।

गान्धी विरासतको विदाइ
भारतीय कांग्रेसको इतिहासमा सन् १९४८ यता पार्टीको नेतृत्व सबभन्दा बढी समय गान्धी परिवारले गरेको छ । गान्धी परिवारबाट कांग्रेसको नेतृत्व जवाहरलाल नेहरूले सन् १९५१ देखि १९५४ सम्म गरे । त्यसपछि सन् १९५९ मा इन्दिरा गान्धी करिब एक वर्ष पार्टीको अध्यक्ष बनिन् । त्यसपछि सन् १९७८ मा पुनः अध्यक्षमा दोहोरिएकी इन्दिराले सन् १९८३ सम्म पाँच वर्ष कांग्रेसको नेतृत्व सम्हालिन् ।

इन्दिरापछि राजीव गान्धी १९८५ देखि १९९१ सम्म कांग्रेसको अध्यक्ष बने । त्यसपछि १९९६ मा सीताराम केसरीले पार्टी अध्यक्ष जितेका थिए । तर १९९८ मा सोनियाले उनलाई हटाएर आफू अध्यक्ष बनेपछि लामो समय पार्टीको नेतृत्वमा बस्ने अवसर प्राप्त गरिन् । यसरी भारत स्वतन्त्र भएयता भारतीय कांग्रेसको अध्यक्ष बनेका १६ जनामध्ये ५ जना गान्धी परिवारका व्यक्ति छन् भने ७४ वर्षको दौरानमा करिब ४० वर्ष गान्धी परिवारले कांग्रेसको नेतृत्व गरेको छ ।

सन् २०१९ को आम निर्वाचनमा पार्टी पराजय भएपछि राहुल गान्धीले अध्यक्ष पदबाट राजीनामा दिने क्रममा नै अबदेखि गान्धी परिवारबाट कोही पनि अध्यक्ष नहुने बताएका थिए । राहुलले २०१७ मा अध्यक्षको जिम्मेवारी सम्हालेपछि सम्पन्न निर्वाचनमा पार्टीले लगातार दोस्रोपटक हार व्यहोरेपछि सन् २०१९ मा नैतिक जिम्मेवारी लिँदै राजीनामा गरेका थिए । त्यसयता सोनिया गान्धी नै अन्तरिम अध्यक्षका रूपमा दोहोरिएकी थिइन् । सोनिया सन् १९९८ यता करिब २२ वर्ष पार्टीको नेतृत्वमा बसिरहेकी छन् । उनी कांग्रेसको नेतृत्व सबभन्दा लामो समय निरन्तर गर्ने एक मात्रै अध्यक्ष हुन् । बीचमा छोरा राहुललाई उत्तराधिकारीका रूपमा अध्यक्षको जिम्मेवारी सुम्पिए पनि सम्हाल्न नसकेपछि उनी आफैं अन्तरिम अध्यक्ष बनेकी थिइन् । उनको नेतृत्वमा पार्टीले सन् २००४ र २००९ को आम निर्वाचन जितेको थियो । अहिले भने कांग्रेसभित्र र बाहिर गान्धी परिवारको क्रेज घट्दो छ । सोनिया लामो समय नेतृत्वमा हुँदा पनि पार्टी अध्यक्षका लागि कसैले दाबी गरेको थिएन । पछिल्लो समय पारिवारिक विरासत धान्ने आशा गरिएका राहुल आफैं राजनीतिक रूपमा त्यति सशक्त भएर उपस्थित हुन सकेका छैनन् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्