ज्ञानेन्द्र शाहको दशैं सन्देशः नेपाल विदेशीको क्रिडास्थल बन्यो, देश बचाउने मियो चाहियो – Janadesh Daily | ePaper

ज्ञानेन्द्र शाहको दशैं सन्देशः नेपाल विदेशीको क्रिडास्थल बन्यो, देश बचाउने मियो चाहियो


जनादेश वाच।
पूर्व राजा ज्ञानेन्द्र शाहले बडादशैँको शुभकामना दिएका छन् । एक भिडियो सन्देशमार्फत राजा ज्ञानेन्द्रले शान्ती होस्, सदाचार रहोस र आपसी सद्भाव बढोस् भन्ने नै दशैँ पर्वको आशय रहेको भन्दै शुभकामना दिएका हुन् ।

शुभकामनाको साथमा शाहले वर्तमान राजनीतिक अवस्थाबारे पनि बोलेका छन् । शाहले बहुदल र प्रजातन्त्रका नाममा देशमा वेथिति बढेको, नागरिकको जीवनस्तरमा सुधार नभएको, विदेशी हस्तक्षेप बढेको लगायतका दाबी गरेका छन् ।

उनले भनेका छन्, “कुनै पनि देशभक्त नेपालीको दैनिकी वर्तमान समय सजिलोसँग वितिरहेको छ जस्तो लाग्दैन। बहुदलीय संसदीय प्रणालीमा जनताको आसा र अपेक्षा अनुसार राजनितिक दलहरु हुन्छन् । विभिन्न् तहका प्रतिनिधिमा स्वस्थ प्रतिस्प्रधाबाट प्रतिनिधित्व हुन्छ । आस्था, सिद्धान्त र जनविश्वासका दृष्टिले ति कति निष्ठावान र जनउत्तरदायी रहे भन्ने आजकाल जल्दोबल्दो प्रश्न बनेको छ । पदलोभ, सत्ता स्वार्थ र भागबण्डा गरेर आफ्नै सुविधा भोग्नका लागि राजनीति केन्द्रित हुँदै गएपछि देशको अवस्था र जनताको हालत के हुन्छ ?”

पूर्व राजा शाहले कार्यपालिका र न्यापालिकाबीचको विवाद र मिलेमतोबारे पनि प्रश्न उठाएका छन् । उनले विवादको समाधान गर्ने उपयुक्त पात्र नभएको पनि बताएका छन् ।

भिडियो सन्देशमा शाहले भनेका छन्, “कार्यपालिका व्यवस्थापिका र न्यायपालिकाका सबै संगभित्र उत्पन्न विवाद, विग्रह र विकृतिले आज सर्वत्र प्रश्न उठेको छ । यो अवस्थाले जनतामा उत्साह छैन । देशमा भविष्यप्रति र भविष्य निर्माणको कुनै भरोसा छैन । के गर्न हुने, के गर्न नहुने । न्यायीक मूल्य के हो, के होइन । सबै कुराको निराकरण कस्ले गर्ने ? देश र जनतासामु खट्किएको ज्वलन्त प्रश्न यहि हो।”

देशप्रति बफादार र जनताप्रति उत्तरदायी भएर काम गर्ने विधि व्यवस्था र संगठनको प्रतिनिधित्वको सहि पात्र देशले खोजिरहेको शाहको भनाई छ । प्रयोग र अभ्यासबाटै देशलाई बचाउने र बनाउँदै जाने उल्लेख गर्दै उनले पुर्खाले आर्जेको स्वाधिन राष्ट्रलाई असफलतातिर धकेल्न हुन्न भन्ने आम भावना रहेको बताएका छन् ।

उनले देशका समस्या समाधानको लागि एउटा दरियो मियो आवश्यक रहेको पनि बताएका छन् । “आफ्ना सनातनी मुलभुत महिमालाई विथोलेर र केहि संरचना बदलेर सुन्दर र नौलो नेपाल भइहाल्दो रहेनछ । त्यसैले बलियो मियोमा आवद्ध भएर राम्रो र दरिलो नेपाल बनाउन हामीमा चेतना आउन आवश्यक छ ।” शाहले भनेका छन् ।

नेपाल निरन्तर देशी विदेशीको क्रिडास्थल पनि भयो भन्ने जनगुनासो आएकोले स्वतन्त्र र सार्वभौम नेपाललाई आफ्नै अस्तित्वमा चलाएर समृद्धितर्फ लैजानुपर्ने शाहको भनाई छ । पूर्व राजा ज्ञानेन्द्रले नागरिकता विधेयकको पनि घुमाउरो पाराले चर्को विरोध गरेका छन् ।

“आफ्नै देशमा मौका नभएर हो कि नखोजेर हो, रोजगार र कमाउन भनेर दिनँहु हजारौँ नेपाली विदेश गइरहेका छन् । एकातिर नेपाल उजाड बनाएर कमाउन बाहिर जाने र अर्कातिर बाहिरियाहरुलाई भित्राउने र वास्तविक नेपालीलाई धरापमा पार्दै जाने प्रपञ्चप्रति चासो र चिन्ता बढेको छ ।” शाहले सन्देशमा भनेका छन् ।

विश्वका दुई ठूला मुलुकका बीचमा अवस्थित हाम्रो देशको धर्म र संस्कृतिमाथि घातक प्रहार हुँदै आएको शाहको दाबी छ । डेढ दशकको राजनीतिक अभ्यासले कोर्ष करेक्सनको अपरीहार्यता सिद्ध गरेको शाहले जिकिर गरेका छन् ।

अन्त्यमा शाहले भनेका छन्, ” पहिले पनि भनेका छौँ, हाम्रो कुनै कार्यले देश कहिलेपनि हार्न हुँदैन । राष्ट्र, प्रजातन्त्र. मैलिक मान्यता र नेपाली एकता रक्षाका लागि एकजुट हुँदै अभिभावकीय राज्य व्यवस्थाको पक्षमा समर्पित रहने देशभक्त नेपालीको चोखो चाहना पुरा गर्न नवदूर्गा भवानीले प्रेरणा प्रदान गरुन, जय नेपाल ।”

 

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्