नेपालको निर्यात सम्भावना वार्षिक १० खर्ब : विश्व बैंक – Janadesh Daily | ePaper

नेपालको निर्यात सम्भावना वार्षिक १० खर्ब : विश्व बैंक


नेपालले हालको भन्दा आठ गुणा बढि निर्यात गर्न सक्ने सम्भावनालाई गुमाइरहेको एक अध्ययनले देखाएको छ । विश्व बैंकले गतवर्ष सार्वजनिक गरेको उक्त प्रतिवेदनले अध्ययनमा समावेश भएका करिब ५० मुलुकमध्ये सबैभन्दा सम्भावना खेर फालिरहेको देश नेपाल रहेको देखाएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको कार्यक्रममा विश्व बैंकका वरिष्ठ अर्थशास्त्री गोन्जालो भरेलाले नेपालसंग ९.२ अर्ब डलर निर्यात गर्न सक्ने क्षमता भएको बताए ।

यसलाई गत आर्थिक बर्षको निर्यातसंग तुलना गर्ने हो भने आठ गुणा बढि सम्भावना देखिएको छ । व्यापार घाटा निरन्तर बढिरहेका बेला यो अध्ययनले सम्भावना देखाएको छ ।

नेपालको निर्यात सम्भाव्यता विषयक कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै अर्थशास्त्री भरेलाले नेपालसंग एकै दिन विश्व व्यापार संगठनको सदस्य भएको अतिकम बिकसित मुलुक क्याम्बोडिया, लाओस जस्ता देशले निर्यात बढाउन सकेको हुदा नेपालको सम्भावना रहेको बताए ।

एउटै खालकोे भौगोलिक अवस्था भएको लाओसको सन् १९९९ अगाडिसम्म निर्यातमा, लगभग आधा कृषि उत्पादनहरू, आधा कपडा र बांकी थोरै अंश, केही खनिज र अन्य उत्पादनहरू थिए तर सन् २०१९ कोभिड पूर्व ठूलो परिवर्तनका साथ निर्यातमा कृषि र कपडालाई जारी राख्दै इलेक्ट्रोनिक्स, रबर र रसायनमा आधारित वस्तुुहरू, विद्युतीय ऊर्जा थप्न सफल भयो । जसले लाओको अर्थतन्त्रलाई निकै माथि लान सफलता मिल्यो ।

‘सोही समयमा नेपाललाई हेर्दा कपडा निर्यात पहिलो नम्वरमा थियो, तत्पश्चात कृषि, र अन्य रसायनमा आधारित वस्तुुहरु थिए । त्यसको २० वर्ष पछिसम्म पनि नेपालको निर्यातयोग्य वस्तुुहरु विविधिकरण हुन सकेनन । धेरै कृषि, थोरै कपडा, तर ती दुई समूहले नै निर्यातमा वर्चस्व राखेको पाइयो’,अर्थशास्त्री गोन्जालोले भने ।

नेपालको वृद्धि उत्पादकत्वको आधारमा देखिदैन । नेपाली उद्योग व्यवसायले तीव्र निर्यात मार्फत लाभ लिन सकेको पाईदैन । न्यून परिणामको निर्यात, सिमित देशहरुमा मात्र केन्द्रीत र छोटो समयको निर्यात र न्यून वाह्य लगानी नै नेपालको मुख्य चुनौतीको रुपमा देखिएको कुरा उनले आफ्नो प्रस्तुतीमा बताए ।

न्यून वाह्य लगानी प्रवाहले वृद्धिका अवसरहरू र उत्पादकत्व फैलाउने सम्भावनाहरूलाई समेत थप सीमित बनाई दिएको उनले बताए । ‘किनभने लाओस क्याम्बोडिया जस्ता मुलुकहरुले धेरै विदेशी लगानी आकर्षित गर्न सके, जसले देशको उत्पादन र उत्पदकत्व दुवै बढ्यो । नेपालले भने लगानी र निर्यात दुवै बढाउन सकेन’, गोन्जालोले भने ।

नेपालका सम्भावनालाई यथार्थतामा रुपान्तरण गर्न उद्योग व्यवसायलाई उनीहरुको उत्पादन तथा सेवा अधिक राम्रो बनाउन, उत्पादित वस्तुुहरूलाई सफलतापूर्वक अन्तराष्ट्रिय बजारमा ल्याउन र त्यसलाई प्रोत्साहन गर्न सरकारले निजी क्षेत्रसंग प्रभावकारी रूपमा सहकार्य गर्नुपर्ने उनको सुुझाव थियो ।

महासंघका अध्यक्ष शेखर गोल्छाले अर्थतन्त्र विप्रेषणरुपी एउटामात्र इन्जिनबाट चलेकाले सावधानीपूर्वक समग्र निर्यात प्रवद्र्धनमा काम गर्नुपर्नेमा जोड दिए । हामीले हाम्रो अर्थतन्त्रको आधार मजवुत बनाउन सकेनौं भने जतिवेला पनि इन्जिन फेल हुन सक्ने खतरा रहेको उनले बताए ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्