बाबुरामको जवाफ- च्याखे थाप्यो भन्नेहरूलाई मेरो टिप्पणी छैन – Janadesh Daily | ePaper

बाबुरामको जवाफ- च्याखे थाप्यो भन्नेहरूलाई मेरो टिप्पणी छैन


जनादेश, काठमाण्डौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले च्याखे थाप्नका लागि आफूले चुनाव नलड्ने घोषणा नगरेको प्रष्ट पारेका छन् । अघिल्लो प्रतिनिधिसभामा गोरखा–२ बाट निर्वाचित पूर्वप्रधानमन्त्री भट्टराईले हिजो ४ मंसिरको चुनाव नलड्ने घोषणा गरेका थिए ।

बाबुरामको यो घोषणा सत्ता गठबन्धनमा कुनै पदका लागि बार्गेनिङ स्वरुप भएको टिप्पणी भइरहेको छ । कतिपयले त छोरी मानुषीका लागि ठाउँ खाली गर्न बाबुरामले आफू उम्मेदवार नबन्ने घोषणा गरेको पनि बताएका छन् । तर भट्टराईले भने आफूले संसदीय निर्वाचनमा उम्मेदवार नहुन गरेको निर्णय कुनै पदलाई बार्गेनिङ गर्नका लागि नभएको स्पष्ट पारेका छन् । आफूले कुनै च्याखे नथापेको उनको भनाइ छ ।

‘छिटो भन्दा छिटो कसरी यो देशलाई मध्यमस्तरसम्म पुर्‍याउने त भन्ने मेरो परिकल्पना हो । त्यसो भएको हुनाले म सक्रिय ढंगले लाग्छु । कुनै पदलाई बार्गेनिङ गर्नको लागि यो च्याखे थापेको भन्ने कसैले बुझ्छ भने अत्यन्त पिछडिएको चेतना हो । त्यसबारे मेरो भन्नु केही पनि छैन’, बाबुरामले भने ।

बाबुरामले आफूले छोरी मानुषीका लागि ठाउँ खाली गर्न याे निर्णय नगरेको पनि स्पष्ट पारे । छोरी काठमाडौंबाट निर्वाचनमा उठ्ने उनले बताए । छोरी आफैँ स्थापित रहेको भन्दै आफ्नो नामबाट छोरीलाई चिनाउनु जरुरी नभएको उनकाे भनाइ छ ।

उनले भने, ‘नयाँ त भनिराखेको छ मान्छेले विचारसहितको नयाँ पुस्ता आइराखेको छैन । त्यसैले विचारसहितको नयाँ पुस्ता आओस् भन्ने त मेरो चाहना छ । त्यो भनेको मेरो छोरी भन्ने मात्रै अर्थ लाग्दैन । हाम्री छोरी पनि जतिबेला उनी सचेत भइन् आफ्नै स्वेच्छाले आन्दोलनमा उनी लागिन् । उनी ३७ वर्ष भइन् । करिब २२ वर्ष त उनको आफ्नै राजनीतिक जीवन भइसकेको छ । र उनी आफैँ स्थापित छन् । हाम्रो छोरीको रूपमा उनलाई चिनाउनु पनि जरुरी छैन । त्यसकारण त्यसमा सत्य छैन । दोस्रो मेरो निर्वाचन क्षेत्र गोरखा, हिसिलाजी त काठमाडौंको हो । वास्तवमा छोरी त हिसिलाजीको छोरी बढी हो काठमाडौंको हिसाबले भन्दा । त्यसैले उनी काठमाडौंमा लडिराखेकी छन् भने मैले उनको निम्ति छोड्नुपर्ने त्यहाँ कुनै पनि कारण छैन । यसमा सत्यता छैन ।’

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्