विश्वकप फुटबलको प्रतीक्षाः यी हुन् विश्वकप आयोजना हुने ८ भब्य रङ्गशाला (फोटो फिचर) – Janadesh Daily | ePaper

विश्वकप फुटबलको प्रतीक्षाः यी हुन् विश्वकप आयोजना हुने ८ भब्य रङ्गशाला (फोटो फिचर)


जनादेश अन्तर्राष्ट्रिय वाच।

तीन सातापछि कतारमा सुरु हुने २२ औँ विश्वकप फुटबलका खेलहरू विभिन्न ५ सहरका ८ वटा रङ्गशालामा आयोजना हुँदै छ। यीमध्ये ७ वटा रङ्गशाला विश्वकपकै लागि तयार गरिएका हुन्।

दोहास्थित खालिफा इन्टरनेशनल स्टेडियम रङ्गशाला भने सन् १९७६ मा निर्माण भएको हो। ४० हजार दर्शक क्षमताको खालिफासहित एजुकेसन सिटी स्टेडियम ९७४ र अल थुमामा स्टेडियम सबै दोहामा अवस्थित छन्।

यी सबैको दर्शक क्षमता पनि ४० हजार रहेको छ। लुसाइलस्थित लुसाइल स्टेडियम कतार विश्वकप आयोजना हुने सबैभन्दा ठुलो रङ्गशाला हो। यो रङ्गशालाको दर्शक क्षमता ८० हजार रहेको छ। यही रङ्गशालामा प्रतियोगिताको फाइनल हुने छ।

समूह चरणका ५ खेल, एउटा प्रिक्वाटरफाइनल, एउटा क्वाटर फाइनल र एउटा सेमिफाइनल पनि लुसाइलमा हुने छ। गत सेप्टेम्बरमा मात्र यो रङ्गशालाको उद्घाटन भएको थियो।

अल खोरस्थित गत वर्ष उद्घाटन भएको बेत स्टेडियम ६० हजार दर्शक क्षमताको छ जहाँ समूह चरणका ५ तथा प्रिक्वाटरफाइनल, क्वाटर फाइनल र सेमिफाइनलका एक एक खेल हुनेछन्।

अल वाक्रास्थित तीन वर्षअघि उद्घाटन भएको अल जानोब स्टेडियम ४० हजार दर्शक क्षमताको छ जहाँ समूहगत चरणका ५ र एउटा प्रिक्वाटरफाइनल खेल हुने छ।

अल रेयानस्थित अहमद बिन अली स्टेडियम ४० हजार दर्शक क्षमताको छ। सन् २०१९ मा उद्घाटन भएको यो रङ्गशालामा पनि समूहका ५ र एउटा प्रिक्वाटरफाइनल खेल हुने छ।

खालिफा रङ्गशालामा समूहका ५, एउटा प्रिक्वाटरफाइनल र तेस्रो स्थानका हुने खेल हुने छ। दुई वर्षअघि उद्घाटन भएको एजुकेसन सिटी स्टेडियममा समूहका ५ तथा प्रिक्वाटरफाइनल र क्वाटरफाइनलका एक एक वटा खेल हुनेछन्।

एक वर्षअघि उद्घाटन भएको स्टेडियम ९७४ मा समूहका ५ र एउटा प्रिक्वाटरफाइनल हुने छ। गत वर्ष नै उद्घाटन भएको अल थुमामामा समूहका ५ तथा प्रिक्वाटरफाइनल र क्वाटरफाइनलका एक एक खेल हुनेछन्।

समूह ए, बी, इ र एफका खेलहरू अल बेत, खालिफा, अल थुमामा र अहमद बिन अलि स्टेडियममा हुनेछन् भने समूह सी, डी, जी र एचका खेलहरू लुसाइल, स्टेडियम ९७४, एजुकेसन सिटी र अल जानोबमा हुनेछन्।

सबैभन्दा ठुलो रङ्गशाला लुसाइलमा पहिलो खेल अर्जेन्टिना र साउदी अरबबीच हुने छ। यो मैदानमा अर्जेन्टिनाले समूहको अर्को मेक्सिकोसँग खेल्ने छ।

साउदी अरब र मेक्सिको, ब्राजिल र सर्बिया तथा ब्राजिल र क्यामरुनबीचको खेल पनि यही रङ्गशालामा हुने छ।

 

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्