फुटबलको महाकुम्भः पाँचपटक विश्वकप जितेको ब्राजिलको यस्तो छ इतिहास – Janadesh Daily | ePaper

फुटबलको महाकुम्भः पाँचपटक विश्वकप जितेको ब्राजिलको यस्तो छ इतिहास


जनादेश स्पोर्ट्स वाच।

ब्राजिल आफैँ फुटबलको बादशाहको रूपमा परिचित छ । अहिलेसम्म ब्राजिलले पाँचपटक विश्वकपको उपाधि जितेको छ । ब्राजिलले सन् १९५८, १९६२, १९७०, १९९४ र २००२ गरी पाँचपटक विश्वकपको उपाधि उचालेको हो । सन् १९५० मा ब्राजिलले विश्वकप आयोजना गर्ने अवसर पाएको थियो, जुन विश्वकपमा उरुग्वेसँग २–१ ले पराजित हुँदै उपाधिरक्षा गर्ने अवसर गुमाएको थियो । विभिन्न समयमा ब्राजिललाई विश्वकपको उपाधि दिलाउन स्टार खेलाडीहरूले उत्कृष्ट योगदान दिएका थिए ।

ब्राजिलले अहिलेसम्म सबै विश्वकप खेलेको छ, जसमा अहिलेसम्म ब्राजिल ११ पटक सेमिफाइनल पुगेको छ । पाँचपटक विश्वकप जित्दा दुईपटक उपविजेता, दुईपटक तेस्रो र दुईपटक नै चौथो भएको छ । एक पटक क्वार्टरफाइनलबाट बाहिरिँदा नौपटक भने विश्वकपको समूह चरणबाटै बाहिरिएको छ ।

सन् १९५८
ब्राजिलले पहिलोपटक विश्वकप फुटबलको उपाधि सन् १९५८ मा जितेको थियो । यो विश्वकपमा उपाधि ब्राजिललाई दिलाउन महत्त्वपूर्ण भूमिका पेलेले खेलेका थिए । उनले ६ गोल गरेका थिए । त्यस्तै, अर्का फरवार्ड भाभाले पाँच गोल गरेका थिए । पहिलोपटक विश्वकपको उपाधि उचाल्दा आयोजक स्वीडेनलाई ब्राजिलले ५–२ गोलअन्तरले पराजित गरेको थियो ।

सन् १९६२
ब्राजिलले दोस्रोपटक विश्वकपको उपाधि सन् १९६२ मा जितेको थियो । फाइनलमा ब्राजिलले चेकोस्लोभाकियालाई ३–१ गोलअन्तरले पराजित गरेको थियो । चिलीमा भएको यो विश्वकप ब्राजिलले जित्दा पेले पनि टिममा थिए । तर, उनले एक गोल मात्रै गर्न सके । क्वार्टरफाइनलमा इंग्ल्यान्डलाई पराजित गरेको ब्राजिलले सेमिफाइनलमा चिली र फाइनलमा चेकोस्लोभाकियालाई हराएको थियो ।

सन् १९७०
सन् १९७० मा भएको विश्वकप ब्राजिलले जित्दै इतिहास बनाएको थियो । तेस्रोपटक विश्वकप जित्ने क्रममा फाइनलमा इटालीलाई ४–१ गोलले हराएको थियो । क्वार्टरफाइनलमा पेरुलाई ४–२ गोलले हराएको ब्राजिलले सेमिफाइनलमा उरुग्वेलाई ३–१ गोलले हराएको थियो । यो विश्वकपमा पेलेले चार गोल गरे । विश्वकप इतिहासमा पेले यस्ता खेलाडी हुन्, जसले ब्राजिललाई तीनपटक विश्वकप जिताएका छन् ।

सन् १९९४
सन् १९९४ मा ब्राजिलले इटालीलाई पेनाल्टीमा ३–२ गोलअन्तरले पराजित गर्दै चौथोपटक विश्वकपको उपाधि जितेको थियो । अमेरिकामा भएको विश्वकप फुटबलको प्रि–क्वार्टरफाइनलमा ब्राजिलले अमेरिकालाई १–० ले हराएको थियो । क्वार्टरफाइनलमा नेदरल्यान्ड्सलाई ३–२ गोलले पराजित गरेको ब्राजिलले सेमिफाइनलमा स्वीडेनलाई १–० ले हराएको थियो ।

सन् २००२
सन् २००२ भएको विश्वकपमा भने ब्राजिलले जर्मनीलाई २–० गोलले पराजित गर्दै पाँचौँपटक विश्वकपको उपाधि जितेको थियो । दक्षिण कोरिया र जापानमा भएको विश्वकपमा ब्राजिलले प्रि–क्वार्टरफाइनलमा बेल्जियमलाई २–० गोलले हराएको थियो । क्वार्टरफाइनलमा इंग्ल्यान्डलाई २–१ गोलले हराएको ब्राजिलले सेमिफाइनलमा टर्कीलाई १–० ले हराएको थियो ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्